coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाममा चार सय बढीको जमानत जफत

इलाम-  असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ८ स्थानीय तहमा ४ सय ५२ उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। जमानत जफत हुनेमा नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यका उम्मेदवार छन्। 

                कुल सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि सदरमुकाम रहेको इलाम नगरपालिकाकामा जम्मा ९५ जनाको जमानत गुमेको छ। धरौटी गुमाउनेमा मेयरका ५ र उपमेयरका ४ जना छन्। इनपाको मेयरमा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका छविलाल आचार्य र उपप्रमुखमा उम्मेदवारी दिएकी प्रेमकुमारी गुरुङको समेत जमानत जफत भएको छ। मेयरमा आचार्यले ४ प्रतिशत मत मात्रै ल्याएका छन्। नगरको कुल सदर २१ हजार ६ सय ९३ मतमध्ये आचार्यले ९ सय ६३ मत मात्र ल्याएको कार्यालयले जनाएको छ । मेयरकै प्रत्यासी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी निर्मला चेम्जोङले ११२, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोषकुमार तामाङले ११० र स्वतन्त्रका प्रदीप तामाङले ३३ मत ल्याए।     

                उपमेयरकी उम्मेदवार गुरुङले पनि त्यही संख्याको कुल सदरमतमा ५ प्रतिशत वा १ हजार ४८ मत मात्र ल्याएकी छिन् । उपमेयरमै राप्रपाकी मायादेवी भण्डारीको १४६ र मञ्चका टंकबहादुर नोगुको ९५ मत आएको छ । इलाम नगरपालिकाका १२ वटा वडामध्ये  वडाध्यक्षमा २३ र वडा सदस्यहरूमा ६३ जनाको जमानत गुमेको छ ।

                सूर्योदय नगरपालिकाकामा पनि ९५ जनाले नै धरौटी गुमाएका छन् । नगरको मेयर र उपमेयरमा ४–४ जनाको धरौटी जफत भएको छ । यहाँ माओवादीका राजेन राई, राप्रपाका भोजराज लामिछाने, संघीय समाजवादी फोरमका लीलाबहादुर सुनुवार र स्वतन्त्र उम्मेदवार राजन चाम्लिङले मेयर पदमा नपामा खसेको मतमध्ये १० प्रतिशत ल्याउन सकेनन् । उपमेयरमा पनि स्वतन्त्रकी रेनुका योल्मो, माओवादीकी टीका राई, फोरमकी ख्यामकुमारी राई र राप्रपाकी भक्तकुमारी गदालको जमानत जफत भएको छ। सूर्योदय नपाका २८ जनाले वडाध्यक्ष र ५८ वडा सदस्यले जमानत गुमाएका छन्।

                माई नगरपालिकाकमा ६८ जनाले धरौटी गुमाए । २ जनाको मेयर र १ जनाको उपमेयर पदकै धरौटी गुमेको छ । मेयरमा फोरमका टुपेन्द्र एक्तेन, राप्रपाका टीकाराम कार्की र स्वतन्त्र उम्मेदवार चन्द्रकुमार सुब्बा, उपमेयरमा फोरमकै अम्बिका चौहानले धरौटी गुमाएका छन् । यहाँ १७ जनाले वडाध्यक्ष र ४८ जनाले सदस्यमा १० प्रतिशत मत ल्याउन नसकेर धरौटी गुमाए । चुलाचुली गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका ९ मध्ये ७ जनाको धरौटी जफत भएको छ।

                अध्यक्षमा माओवादीका शुकबहादुर लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका साजन जबेगू, फोरमका भूपेन्द्र योङ्या र स्वतन्त्र उम्मेदवारहरू अनुप अधिकारी, कुमार बिक, टंकमणि राई र सन्तकुमार राईले जमानत गुमाए । उपाध्यक्षमा खम्बुवान राष्ट्रिय मोर्चाका सन्देश राई, मञ्चकी संगीता लिम्बू र फोरमकी कला पिठाकोटे मगरसहित वडाध्यक्षमा १० र वडा सदस्यहरूमा ४२ जनाको जमानत जफत भएको छ ।

                फाकफोकथुम गाउँपालिकामा ५ अध्यक्ष र ४ उपाध्यक्षसहित ४५ जनाको जमानत जफत भयो। अध्यक्षमा जमानत गुमाउनेमा माओवादीका राजकुमार थापा, फोरमका सुरेन्द्रबहादुर सुब्बा, राप्रपाका डम्बरबहादुर राई, मञ्चका गोविन्दसिंह लिम्बू र स्वतन्त्र उम्मेदवार भुवनसिंह लिम्बू छन् । उपाध्यक्षमा माओवादीकी लक्ष्मी लावती, फोरमकी मैया चौहान, राप्रपाकी टंकमाया चौहान र स्वतन्त्र उम्मेदवार मनु लिम्बूसहित ११ वडाध्यक्ष र २५ वडा सदस्यले पनि धरौटी बचाउन सकेनन् ।

                माइजोगमाई गाउँपालिकामा २ अध्यक्ष र २ उपाध्यक्षले धरौटी गुमाए । अध्यक्षमा माओवालीका देवीभक्त शिवाकोटी, फोरमका धनसिंह लिम्बू तथा उपाध्यक्षमा माओवादीकी संगीता थामी र फोरमकी पासाङदिकी शेर्पासहित ५ जनाले वडाध्यक्ष र १८ जनाले वडा सदस्यमा जमानत गुमाए ।

                रोङ गाउँपालिकामा जम्मा ३७ जनाको जमानत जफत भएको छ । गाउँपालिका अध्यक्षका प्रत्यासी ६, उपाध्यक्षका २, वडाध्यक्षका ९ जनाले धरौती फिर्ता नपाउने भएका छन् । गाउँपालिका अध्यक्षमा माओवादीका नवराज कट्टेल, फोरमका तेजबहादुर राई, मञ्चका पदमबहादुर तामाङ तथा स्वतन्त्र उम्मेदवारहरू मेनुका राई र वीरबहादुर राईले जमानत गुमाएका छन् । उपाध्यक्षमा माओवादीकै अञ्जना लाप्चा र फोरमकी संगीता सुनुवारले पनि धरौटी फिर्ता नपाउने भएका छन् ।

                सन्दकपुर गाउँपालिकाका २३ जनाले धरौटी रकम गुमाए । गुमाउनेमा अध्यक्षका ४ र उपाध्यक्षका २ प्रत्यासी छन् । अध्यक्षमा माओवादीका प्रेमकुमार राई, मञ्चका ठोम गुरुङ, राप्रपाका होमबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार बासुमाया गुरुङ, उपाध्यक्षमा राप्रपाकी पुण्यप्रभा भट्टराई र फोरमका धनप्रकाश लिम्बूले धरौटी गुमाएका छन् । वडाध्यक्षका ५ र वडा सदस्यका १२ जनाले पनि धरौटी गुमाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

                उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा मेयर–उपमेयर र अध्यक्ष उपाध्यक्षका लागि १५ सय, वडाध्यक्षका लागि १ हजार र वडा सदस्यका लागि ५ सय रुपैयाँ धरौटी निर्वाचन कार्यायलयमा बुझाएका थिए । तर, दलित र महिला उम्मेदवारलाई भने धरौटी रकममा ५० प्रतिशत छुट थियो । जिल्लाका १० स्थानीय तहमध्ये देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको मतविवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका नायव सुब्बा खेम राईले जानकारी दिए । स्थानीय तह निर्वाचनबाट जिल्लाका सबै स्थानीय तहमा गरी ४ सय २५ जनप्रतिनिधि निर्वाचित भएका छन् । 

 

प्रकाशित: २५ असार २०७४ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App