–सृजना खड्का
काठमाडौँ हात्तीगौडाका साहिलराज वन्त विज्ञान विषयका विद्यार्थी हुन् । हाल उनी कक्षा १२ को जाँच दिएर बसेका छन् । यसका साथै उनी काठमाडौँ सुन्धारा स्थित हिमालय बिन्जमा कफी मेकिङ टेनिङ पनि लिइरहेका छन् । केही समयपछि उनी अष्टेलिया उड्दै छन् । ‘कफी बनाउने मान्छे (बरिस्टा)लाई त्यहाँ निकै सम्मान दिन्छन् भन्ने सुनेको छु । त्यसैले सिक्न आएको हुँ’, उनले भने ।
कफीको क्षेत्रमा काम गर्दै जादाँ रमाइलो हुने उनी बताउँछन् । काम सिक्दाको अनुभव साट्दै उनले भने, ‘यो बिलकुलै नयाँ खालको काम हो, धेरै कुरा सिक्न पनि पाइन्छ । आर्ट पनि गर्न पाइन्छ ।’ रमाउँदै काम गर्यो भने धेरै कुरा सिक्न सिकिनेमा उनी विश्वस्त छन् । आधारभूत तहको तालिम गर्न सामान्यतया एक महिना लाग्ने उनले बताए ।
आफैँले कफीको व्यापार गर्नका लागि भने कफी सम्बन्धि धेरै कुरा सिक्न आवश्यक रहेको कफी मेकरहरू बताउँछन् । वन्त जस्तै काठमाडौँ डिल्लीबजारकी १८ वर्षिय श्रेया प्रधानले पनि भर्खर भर्खर कफी मेकिङ टेनिङ थालेकी छिन् । ‘मेरो मामा अष्ट्रेलियामा हुनुहुन्छ । म पनि उतै जाने विचारमा छु । मामाले कफी सिक्यो भने उता काम पाइन्छ भनेको हुनाले सिक्न थालेकी हुँ’, उनले भनिन् । नेपालको हकमा पनि जताततै कफी सपहरू खुल्न थालेको भएर पनि कफीमा उज्वल भविष्य हुने उनले दाबी गरिन् भन्छिन् ‘विदेशीको मात्र नभइ नेपालीको पनि कफीको माग बढ्दो छ । जाडो होस् वा गर्मी कफीको क्रेज उस्तै छ ।’
२२ वर्षे ओखलढुङ्गाका सञ्जिव राई भने टेनिङ लिइसकेपछि हेटाैंडामा आफ्नै कफी सप खोल्ने विचारमा छन् । ‘ट्रेनिङ लिएपछि ग्राहकलाई राम्रो सुविधा दिन पाइने भएकाले सिक्न आएको हुँ’, उनले भने ।
उनी र उनीजस्ता धेरै युुवाहरूलाइ देखेर आजभोलि स्वदेश तथा विदेशमै कफीको आकर्षण सहजै अनुमान लगाउन सकिन्छ । यसका साथसाथै आजभोलि विभिन्न कलेजहरूले समेत कफी मेकिङ ट्रेनिङ दिन सुरु गरिसकेका छन् । यो टे«निङले विद्यार्थीमा नयाँ सिप विकास हुनुको साथै रोजगारीको अवसर समेत पाउने कफी व्यवसायी बताउँछन् ।
यो कुरा काठमाडौँ कालिमाटीकी रस्मी श्रेष्ठलाई हेरेर पुष्टि हुन्छ । उनी हाल सुन्धाराको हिमालयन जाभामा काम गर्छिन् । त्यहाँ उनले १७ दिनको ट्रेनिङ लिएपछि काम गर्न थालेकी हुन् । उनी भन्छिन्, ‘चार महिना भयो मैले काम गर्न थालेको । काम सिक्न धेरै दिन पनि लाग्दैन, सिकेपछि तुरुन्तै काम पाइन्छ ।’ सुरुमा उनी कफी बनाउने मेसिन देखेरै अलमल्ल पर्थिन् । कसरी चलाउने, के गर्ने भन्ने कुरा थाहा थिएन । तर सिक्ने कुरामा आफू जति जिज्ञासु भयो उत्तिनै धेरै सिक्न सकिने उनको अनुभव छ । ‘जसले मन लगाएर काम गर्छ उसले छिट्टै सिक्छ’, उनले भनिन् । काम गर्दैजाँदा कमाइ पनि राम्रै हुने उनले बताइन् । यता हिमालयन जाभा मै विगत पाँच वर्षदेखि कार्यरत टेक बहादुर अधिकारीको भने आफ्नो छुट्टै अनुभव छ । उनी भन्छन् ‘नेपालमा भन्दा विदेश जानेले धेरै पैसा कमाउँछन् । २० जनाले सिके भने दुईतीनजना नेपालमा काम गर्छन् । बाँकी सबै विदेशिने न हो ।’
हिमालयन जाभा बरिस्टा कफी स्कुलका तालिम निर्देशक माधव देवकोटासँग यो क्षेत्रको १९ वर्षको अनुभव छ । कफीमा विश्वव्यापी करियर उनले देखेका छन् । बढ्दो कफी कल्चरले गर्दा मानिसहरु यसतर्फ आकर्षित भएको उनको बुझाइ छ । कफी सप खोल्न, सिप सिक्न, बाहिर पढ्न जानदेखि धेरै कुरामा यसको स्कोप भएको देवकोटाको भनाइ छ । ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै कफी मेकरको उच्च सम्मान छ’, उनले भने । टेनिङको अवधिभर इच्छाशक्ति देखाएर सिक्ने जोकोही पनि दक्ष बन्न सक्ने उनले बताए । टेनिङ दिँदा २० प्रतिशत सैद्धान्तिक हुन्छ भने ८० प्रतिशत ल्यावमा व्यवहारिक ज्ञान दिइने उनले जानकारी दिए । उनी भन्छन् ‘तर टे«निङ लिएर मात्रै पर्याप्त हुँदैन । काम गरेन भने बिर्सिन्छ । त्यसैले काम पनि गर्नुपर्छ ।’ उनले कफी मेकिङ टे«निङ लिएपछि जुनसुकै देशमा गएर पनि आफू बिक्न सकिने बताए ।
भेटघाट, रमाइलो र अफिसियल मिटिङका लागि सबैको गन्तव्य कफीसप हुन थालेको छ । यसकारण पनि आजभोलि बरिस्टाको माग दिनप्रतिदिन बढ्दै गएको माधव बताउँछन् । टेनिङ लिएका बरिस्टाले कमाइ अरुको तुलनामा बढी नै हुने उनले जानकारी दिए ।
टेनिङका लिनका लागि १० देखि ३० हजारसम्म पर्ने उनले बताए । ‘प्याकेज अनुसार मुल्यमा फरक पर्छ’, उनले भने । उनीसँग १८ वर्षका तन्नेरीदेखि ५० वर्षसम्मका बुढाबुढीलाई समेत कफी बनाउन सिकाएको अनुभव छ । ‘सामान्य पढेलेखेकादेखि पिएजडी गर्दै गरेकासम्ममा यसको आकर्षण बढ्दो छ’, उनले भने ।
प्रकाशित: २५ असार २०७४ ०८:४४ आइतबार