८ वैशाख २०८१ शनिबार
राजनीति

सुनसरीमा कांग्रेसको 'कमब्याक'

इटहरी- पहिलो संविधानसभामा नराम्ररी पराजय भोगेको र दोस्रो संविधानसभामा एउटामात्र निर्वाचन क्षेत्र जितेको सुनसरीमा कांग्रेस यसपटकको स्थानीय निकाय निर्वाचनमा 'कमब्याक' भएको छ।

एमालेको केही स्थानीय निकायमा क्षति पुगे पनि संख्यात्मक हिसाबले जिल्लाभर अगाडि छ। मधेसी दलका दुई शीर्ष नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा साख जोगिएको छ। एकीकृत माओवादी भने नराम्ररी पराजित भएको छ।

एमालेको केही स्थानीय निकायमा क्षति पुगे पनि संख्यात्मक हिसाबले जिल्लाभर अगाडि छ। मधेसी दलका दुई शीर्ष नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा साख जोगिएको छ। एकीकृत माओवादी भने नराम्ररी पराजित भएको छ।

जिल्लाका ६ सय ४४ जना निर्वाचित हुनुपर्नेमा धरान उपमहानगरपालिकाबाहेक ११ वटा स्थानीय निकायका ५ सय ४२ जना निर्वाचित भइसकेका छन्।

०४८ सालको आमनिर्वाचन, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचन जितेको कांग्रेस ०६४ सालको संविधानसभा निर्वाचनमा शून्यमा झरेको थियो। कांग्रेस दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा विजयी भएको थियो। यसपटकको स्थानीय तहको निर्वाचनमा कांग्रेसका ६ प्रमुख र ५ उपप्रमुख विजयी भएका छन्। कांग्रेसले दुई नगरपालिका र चार गाउँपालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा एक नगरपालिका र चारवटा गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। जिल्लामा कांग्रेसबाट वडाध्यक्ष ४१ जना र वडा सदस्य १ सय ४९ जना विजयी भएका छन्।

एमालेबाट प्रमुखमा २ र उपप्रमुखमा तीनजना विजयी भएका छन्। एमाले इटहरी उपमहानगरपालिका र बराह नगरपालिका प्रमुखमा विजयी भएको छ। यस्तै एक उपमहानगरपालिका र दुई नगरपालिकामा उपप्रमुख जितेको छ।  एमालेबाट वडाध्यक्षमा ४२ र सदस्यमा एक सय ७९ जना विजयी भएका छन्। 

सुनसरी मधेसी दलका दुई शीर्ष नेता नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला हो। गच्छदार र यादवको निर्वाचन क्षेत्रमा दुवै दलले प्रमुख–उपप्रमुखमा विजयी भएका छन्। 

दुहबी नगरपालिका र बर्जु गाउँपालिका प्रमुख–उपप्रमुखमा लोकतान्त्रिक फोरम विजयी भयो। यस्तै भोक्राहा गाउँपालिकाको प्रमुख र उपप्रमुख संघीय समाजवादी फोरमले जित्यो।

लोकतान्त्रिक फोरमले दुई प्रमुख र दुई उपप्रमुखसहित १२ जना वडाध्यक्ष र ४५ जना सदस्य जितेको छ। संघीय समाजवादी फोरम नेपालले एक प्रमुख र एक उपप्रमुखसहित आठ जना वडाध्यक्ष र ३४ जना वडा सदस्य जितेको छ।

मधेसी जनअधिकार फोरम नेपालले पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. ३, ४ र ५ मा जितेको थियो। दोस्रो संविधानसभा निर्वाचनमा लोकतान्त्रिक फोरम अध्यक्ष र संघीय समाजवादी फोरम नेपाल अध्यक्ष यादवले एक–एक स्थानमा विजयी भएका थिए। यस्तै, क्षेत्र नं. ४ बाट कांग्रेस, १, २ र ६ बाट एमाले विजयी भएको थियो।

पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ मा माओवादी विजयी भएको थियो। दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले कुनै पनि स्थानमा जितेन। यसपटक माओवादी केन्द्रले एउटा वडाध्यक्ष  र पाँच जना सदस्य मात्र जितेको छ। स्वतन्त्र उम्मेदवारमध्ये एकजनाले वडाध्यक्ष र दुईजनाले वडा सदस्य जितेका छन्। राप्रपा नेपालबाट एकजना वडा सदस्य विजयी भएका छन्।

पूर्वकै उदाउँदो सहर इटहरी उपमहानगरपालिकाको मेयरमा एमालेका द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम विजयी भए। यहाँबाट एमालेमा आठ वडाध्यक्ष र ४८ सदस्य विजयी भएका छन्। कांग्रेसले इटहरीबाट ११ वडाध्यक्ष र ३० जना सदस्य जित्यो। इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा कांग्रेसले एउटा मात्र वडा जितेको थियो।

दुई वर्षअघि इटहरी उपमहानगरपालिकामा गाभिएको हाँसपोसा, एकम्बा, पकली र खनारमा ०५४ सालको निर्वाचनमा एमालेकै वर्चस्व थियो। इटहरीमा अहिले २० वटा वडा छन्। इटहरी उपमहानगरपालिका क्षेत्र नं. २ मा पर्छ। इटहरी रामधुनी नगरपालिकाको वडा नं. १ र ५ पनि क्षेत्र नं. २ मै पर्छ। रामधुनीको वडा नं. ३ र २ को आधा भाग क्षेत्र नं. २ मा पर्छ। इटहरीमा कांग्रेस–एमालेबाहेक एक वडाध्यक्ष र एक सदस्य लोकतान्त्रिक फोरमले जितेको छ। एउटा वडा सदस्य माओवादी केन्द्रले जितेको छ।

सदरमुकाम इनरुवा नगरमा प्रमुख र उपप्रमुखसहित चारवटा वडाध्यक्ष र १६ जना सदस्य कांग्रेसले जित्यो। एमालेले ६ जना वडाध्यक्ष र २४ जना सदस्य जित्यो। इनरुवामा मधेसी दलले कुनै पनि पदमा जित्न सकेनन्।

कोसी गाउँपालिका  प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भयो। यहाँबाट कांग्रेसका दुईजना वडाध्यक्ष १० जना सदस्य विजयी भए। एमालेबाट एक वडाध्यक्ष र दसजना सदस्य विजयी भए। कोसी गाउँपालिकामा लोकतान्त्रिक फोरमबाट दुईजना वडाध्यक्ष र तीनजना सदस्य विजयी भए। यहाँ संघीय समाजवादी फोरम नेपालबाट दुईजना वडाध्यक्ष र आठजना सदस्य विजयी भए।

कोसीमा फोरम नेपालले उम्मेदवारी छनोटमा कमजोरी गर्दा क्षति बेहोर्नुपरेको हो। देवकृष्ण यादव अध्यक्षको दाबेदार भए पनि पार्टीले जितु खरेवारलाई उम्मेदवार बनाएपछि क्षति बेर्होनुपरेको हो। यादवले अध्यक्षले बागी उम्मेदवारी दिए। वडा नं. १ मा वडाध्यक्ष र दुई जना सदस्य कांग्रेसका बागी उम्मेदवार विजयी भए।

गढी गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेसले तीनवटा वडाध्यक्ष र सात वडा सदस्य जितेको छ। एमालेले दुई  वडाध्यक्ष र सात सदस्य जित्यो। यहाँबाट लोकतान्त्रिक फोरमले एक वडाध्यक्ष र एकजना सदस्य जितेको छ। मधेसी समुदाय बाहुल्य भए पनि संघीय समाजवादी फोरमका कुनै पनि उम्मेदवार यहाँबाट विजयी भएनन्।

लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष गच्छदारको गृहनगर दुहवीमा उनको पार्टी प्रमुख–उप्रमुखसहित पाँच वडाध्यक्ष र २४ जना सदस्यमा विजयी भयो। एमालेका तीनजना वडाध्यक्ष र ११ जना सदस्य विजयी भए। दुहवीमा कांग्रेसका तीनजना वडाध्यक्ष र नौजना सदस्य विजयी भए। गच्छदारको नगरमा संघीय समाजवादीले एउटा वडाध्यक्ष र चार जना सदस्य जितेको छ।

बर्जु गाउँपालिकामा प्रमुख–उपप्रमुखसहित दुईजना वडाध्यक्ष र १२ जना सदस्यमा लोकतान्त्रिक फोरमका उम्मेदवार विजयी भए। कांग्रेसले एक वडाध्यक्ष र तीन सदस्य जित्यो। एमालेले दुई वडाध्भ्यक्ष र पाँच सदस्य जित्यो। माओवादी केन्द्रले वडा नं. १ मा प्यानलै जितेको छ।

देवानगन्ज गाउँपालिकामा प्रमुख–उपप्रमुखसहित कांग्रेसका पाँचजना वडाध्यक्ष र १४ जना सदस्य विजयी भए। यस गाउँपालिकाबाट एमालेले एउटा मात्र सदस्य जित्यो। संघीय समाजवादीले एक वडाध्यक्ष र नौ सदस्य जित्यो। लोकतान्त्रिक फोरमबाट एकजना वडाध्यक्ष र चारजना सदस्य विजयी भए।

भोक्राहामा प्रमुख–उपप्रमुखसहित तीनवडा वडाध्यक्ष र नौजना सदस्य फोरम नेपालले जित्यो। एमालेले तीनजना वडाअध्यक्ष र नौजना सदस्य जित्यो। कांग्रेसले भने दुईजना वडाध्यक्ष र ११ जना सदस्य जितेको छ। यहाँ लोकतान्त्रिक फोरम र राप्रपा नेपालबाट एकएक जना सदस्य विजयी भए। 

बराहमा प्रमुख–उपप्रमुखसहित आठ वडाध्यक्ष र ३५ सदस्य एमालेले जितेको छ। यहाँ कांग्रेसले तीनजना वडाध्यक्ष र नौ जना सदस्य जितेको छ। रामधुनी नगरपालिकामा प्रमुख पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेसले तीन वडाध्यक्ष र १३ जना सदस्य जितेको छ। एमालेबाट उपप्रमुखसहित ६ जना वडाध्यक्ष र २३ जना सदस्य विजयी भएका छन्।

हरिनगरा गाउँपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुखसहित चारजना वडाध्यक्ष र १७ जना सदस्य जितेको छ। एमालेले दुईजना वडाध्यक्ष र सातजना सदस्य जितेको छ। संघीय समाजवादी फोरमका एकजना वडाध्यक्ष र चारजना विजयी भएका छन्। सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिका छन्। यीमध्ये धरानको मतगणना सकिएको छैन।

प्रकाशित: २६ असार २०७४ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App