७ वैशाख २०८१ शुक्रबार
कला

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

डा. केसीको समर्थमा उभिएकी अभिनेत्री केकी अधिकारी।

काठमाडौं- सिने कलाकारको सामाजिक सञ्जालमा डा. गोविन्द केसीको अनशनले ठाउँ पाएको छ। उनीहरुले डा. केसीको मागमा समर्थन त जनाएकै छन्, केसीको पक्षमा सडकमा उत्रिनसमेत आग्रह गरिरहेका छन्।

लगातारको अनशनले डा गोविन्द केसीको जीवन जोखिममा पर्न थालेपछि सर्वसाधरणसँगै सिने कलाकार चिन्तित भएका हुन्। डा. गोविन्द केसीको समर्थनमा सरकार तथा संसद्लाई दबाब दिन उनीहरुले शनिबार बिहान माइतीघरमण्डलमा जम्मा हुन आग्रह गरेका छन्। सरकारले केसीको आवाज नसुनेको भन्दै कलाकारले  सामाजिक सञ्जालमार्फत आफ्नो भावना पोस्ट गर्दै केसीको समर्थनमा जनता आउनुपर्ने सुझाएका छन्।

सरकारले केसीका जायज माग  सुने पनि नसुनेजस्तै गरेको भन्दै कसैको जीवनमाथि खेलबाड र नाटक नगर्न कलाकारले  सुझाए। 'आम नेपालीको हकहितका लागि अनशन बसेका चिकित्सकको  माग चाँडै पूरा गर,' नायिका केकी अधिकारीले भनिन्, 'कसैको जीवनमाथि खेलबाड गरेर माग सुनेर पनि नसुनेजस्तो नाटक नगर।' डा. केसीले आम नेपालीका लागि आफ्नो जीवन जोखिममा राखेर अनशनमा उत्रेको भन्दै उनले अब जनता नै उनको जीवन जोगाउन अगाडि बढ्नुपर्ने सुनाइन्।

'जिन्दगी दिनेका लागि हामी पनि हाम्रो जिन्दगीको केही पल पक्कै दिन सक्छौं' भन्दै शनिबार बिहान ८ बजे छाता लिएर माइतीघरमण्डलमा आउन उनको आग्रह छ।

नायिका  रेखा थापाको भनाइ पनि उस्तै छ। सर्वसाधारणलाई जीवनदान दिने चिकित्सक सर्वसाधारणकै लागि  आफ्नै जीवन जोखिममा राखेर अनशनमा बसेको भन्दै उनको समर्थनमा आउन सबैलाई आग्रह गरिन्।

 डा. केसीलाई शुक्रबार अस्पतालमा पुगेर भेटेकी थापाले  केसी शारीरिक रूपले कमजोर हुँदै गइरहनुभएको भन्दै  उनको माग छिटो पूरा हुनुपर्ने सुनाइन्।

'यहाँ मान्छेलाई मरिएला कि भन्ने डर छ तर डा. केसी सारा नेपालीको साझा स्वास्थ्यका खातिर जीवन गुमाउन तयार हुनुहुन्छ,' उनले भनिन्, 'केसी हाम्रालागि लडिरहनुभएको छ,  यसमा सरकारले चासो नदेखाए पनि हामीले देखाउनुपर्छ।'

उनले सामाजिक सञ्जालमार्फत पनि सरकार र विशेष गरी प्रम केपी शर्मा ओलीलाई  अर्थपूर्ण ध्यान दिइयोस् भन्ने आग्रह गरेकी छन्। 'प्रमज्यू नाकाबन्दीको समयमा धेरैले तपार्इं राष्ट्रवादी हुनुभएको भन्दै प्रशंसा गरे। अब केसीजीले उठाउनुभएको माग पूरा गरेर जनवादी बन्नुस्,' उनको आग्रह छ। उनीहरुजस्तै अन्य कलाकार पनि सामाजिक सञ्जालमार्फत डा. केसीका मागमा ऐक्यबद्धता जनाउँदै उनको माग पूरा गर्न आग्रह गर्दै छन्।

नायक निश्चल बस्नेतले  डा. केसीलाई  अस्पताल पुगेर  हेरेपछि भावुक भएर फेसबुकमा आफ्नो भावना पोखेका छन्, 'आफ्नो ज्यान जोखिममा राखेर अरुको निम्ति लडिरहेका केसीलाई के थाहा, बाहिर सुन्ने कान, हेर्ने आँखा र निर्णय गर्नसक्ने दिमागको खडेरी छ भनेर,' उनले लेखेका छन्, 'स्वास्थ्य र स्वास्थ्य क्षेत्रप्रतिको खेलबाड रोक्न हामी जनता बोल्न जरुरी छ।'

उनले पनि डा. केसीका माग हाम्रो आवाजले कान थुनेर बसेकाको कानभित्र पुर्‍याउनुपर्ने बताउँदै शनिबार माइतीघरमण्डलमा भेला भएर  केसीका मागप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेका थिए।

प्रकाशित: ८ श्रावण २०७३ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App