८ वैशाख २०८१ शनिबार
विचार

विराटनगरले जोगाएको कांग्रेसको नाक

नेपाली कांग्रेसको नाक विराटनगर महानगरपालिकाले जोगाएको छ। स्थानीय सरकारको निर्वाचनमा निराश भएका कांग्रेसजनका लागि पुख्र्यौली र ऐतिहासिक थलो सुरक्षित भएकामा उनीहरू निश्चय पनि खुसी होलान्। यसअघि २०१५ सालको निर्वाचनदेखिनै लालकिल्ला भनी परिचित ललितपुर महानगरपालिकाले नेपाली कांग्रेसको साख उठाएको थियो । कपिलवस्तु नगरपालिका र धनगढीले कांग्रेसको साखलाई थोरै भए पनि राहत प्रदान गरेका छन् । तर नेपाली कांग्रेसको सशस्त्र आन्दोलनकालको सहिद भूमि भनी परिचित ओखलढुंगाको सिद्धिचरण नगरपालिका होस् वा वरुणेश्वर समावेश भएको मोलुङ गाउँपालिका र छहरे समाविष्ट चिशंखुमा भने सहिदको रगत सेतो बनाउने काम भयो ।

२०१७ पछि यी स्थानमा क्या. यज्ञबहादुर थापा, महेश कोइराला, केशव कोइराला, लीलानाथ दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल, गोकर्ण कार्की, पेसल दाहाल जस्ता होनहारहरू सहिद भएका थिए । मोलुङ गाउँपालिकामात सहिद परिवारकै सदस्य उम्मेदवार थिए र पनि पराजित हुन पुगे । निर्वाचनमा जय÷पराजय स्वाभाविक हो । त्यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छन् । आन्दोलनमा नहोमिएको कुनै पनि वर्ग र पुस्तालाई आन्दोलनको घाउ अनुभव हुँदैन, आन्दोलनका कुनै पनि स्मृति उसको दिमागमा हँुदैन र पीडा त कुन चराको नाउँ हो पत्तै हँुदैन । उसले परिवर्तनको स्वादमात्र चाखिरहेको हुन्छ । परिवर्तनको रसबारे ऊ बोलिरहेको हुन्छ । तीतो, पीरो, अमिलो, टर्रो, गुलियो, नूनिलो स्वादमा यसको बहस केन्द्रित हुन्छ । निर्वाचनको समयको बहस पनि स्वादमा नै केन्द्रित भएको हुनाले सहादतको रूप थाहा नभएको होला ।

२००७ सालको कथाको अब औचित्य रहँदैन आमजनतामा ।निर्दलीय निरंकुशताको पीडा पनि अब अनुभव हँुदैन । माओवादी सशस्त्र हिंसा र २०६१ को राजाको दमन पनि विस्तारै पुरानो हँुदै गएका छन् । ती यन्त्रणाका दिन भोग्ने अल्पमतमा पर्दै गए । बहुसंख्या नयाँ पुस्ताको छ । माओवादी सशस्त्र हिंसाको समयको लेखाजोखा त भएकै छैन । हिंसाकालमा जीवन गुमाएका वलिदानका ती महारथिहरूको सम्मान अझै भएको छैन । शासन सहमतिमा चलेको हुनाले मर्नेहरूले मृत्युवरण मात्र गरेको सहादत प्राप्त नगरेसमान भइरहेको छ । समाज समय बिर्सन्छ । समाज बग्ने नदीजस्तो हो । प्रत्येकपल थोपा निरन्तर अघिमात्र बढ्छन् । नयाँ आउनेले केही थाहा पाउँदैन । थोपा कालक्रमित बहावमा छ । त्यस जमनिमा के भएको थियो उसलाई थाहा हुने कुरा भएन । राजनीति पनि बहँदो नदीको धारजस्तै हो । धारसँग कुद्न सके गन्तव्य भेटिन्छ नसके वा छाडे कोसौं टाढा निर्विकार आसन जमाउन बाध्य हुन्छ । राजनीतिमा उर्लँदो धार चिन्न सक्नुपर्छ । धारसँगै बहने सामथ्र्य र इच्छा हुनुपर्छ । नत्र राजनीतिमा सहिदहरूको रगतसमेत सेतो हुन्छ ।

विराटनगर नेपाली लोकतान्त्रिक आन्दोलनको ऊर्वर भूमि हो । यो भूमिको प्रथम संवरण पिताजी कृष्णप्रसाद कोइरालाले गरेको इतिहास छ । कतिपयका लागि पिताजी कृष्णप्रसाद भनेर सुन्दा आश्चर्य हुन्छ, जसरी नेपाली कांग्रेसलाई लोकतन्त्रको मियो भन्दा कतिपयको अनायास टाउको दुख्छ, कृष्णप्रसाद कोइरालालाई पिताजी भन्न कोइराला वंशको सन्तान हुनुपर्दैन अथवा उनकै छोरा नाति हुनु जरुरी छैन । कृष्णप्रसादलाई पिताजी भन्नु एउटा सामाजिक टाइटल भइसकेको छ । विराटनगर सहर बसाउनमा, त्यहाँको विकास गर्नमा कृष्णप्रसादको अहं योगदान छ ।

चन्द्रशमशेरलाई गरिब जनताको फाटेको कपडाको पोको बनाएर उपहार दिनसक्ने ती महान् सामाजिक अभियन्ता परिवर्तनको आजको जगमा समेत छन् । उनी र उनीजस्तै महान् मनिषीहरू, त्यागी, तपश्वीहरू, लोकतान्त्रिक आन्दोलनका समर्पितहरू नभएको भए आजको परिवर्तन असम्भव थियो । परिवर्तन एकव्यक्ति वा एक पुस्ताबाट मात्र सम्भव हुँदैन । व्यक्तिले परिवर्तनको नायकत्व गर्न सक्छ, समाजले साथ दिन्छ । समयको गतिसँग परिवर्तनको गति हिँडाउने समयमा अनेक व्यक्तित्व सहभागी हुन्छन् । तीमध्येका जगमा नै बसेका हुन् कृष्णप्रसाद कोइराला । उनका तीन छोरा मातृकाप्रसाद, बिपी र गिरिजाप्रसाद नेपालको खास खास ऐतिहासिक समयमा प्रधानमन्त्री हुन पुगे । प्रधानमन्त्री मात्र भनेर उनीहरूको उचाइको मूल्यांकन गर्न सकिँदैन । त्यतिमै सीमित गर्नु पनि हँुदैन ।

२००७ सालमा राणा सत्ता अन्त्य र लोकतन्त्र स्थापना गर्दाका अधिनायक र २००८ सालमा पहिलोे जनप्रधानमन्त्री भए मातृकाप्रसाद । बिपी पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । उनी लोकतान्त्रिक समाजवादका नेपाली भाष्यकारसमेत भएका छन् । त्यसमा पनि राष्ट्रियता र राष्ट्रवादको चुरोचिन्तनको व्याख्या गर्ने बिपी नेपाली राजनीतिक दर्शनको अनेक शताब्दीसम्म स्मरण गर्नैपर्ने पात्र भएका छन् । कृष्णप्रसादका कनिष्ठ पुत्र गिरिजाप्रसाद त संघीय लोकतान्त्रिक गणतन्त्रका नायक नै भए । उनकै नेतृत्वमा आजको परिवर्तन सम्भव भएको हो । परिवर्तनका कतिपय प्राविधिक पक्षमा धेरैको विमति रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा अधिकतम सहमति छ । उनकै अग्रनायकत्वमा प्राप्त लोकतन्त्रमा संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता समाविष्ट छन् । हजारौं वर्षदेखि नेपालमा विद्यमान जातीय राजसंस्थाको अन्तिम अवशेष शाही राजसंस्थाको उन्मूलन कोइरालाकै नेतृत्वमा भएको हो।

यसैकारण कृष्णप्रसाद र विराटनगरको महत्व विशेष छ । गिरिजाप्रसाद कोइरालले अगुवाइ नगरेका भए नेपालको लोकतन्त्र आजको जस्तो हुने थियो कि थएन विचारणीय छ । विराटनगरको महत्व यतिमा मात्र सीमित छैन । राणा शासनको जग हल्लाउने गरी भएको मजदूर आन्दोलन परिवर्तनको आधार भएको थियो । राणाशासनलाई मजदूरहरूले जसरी हल्लाएका थिए त्यो गौरव गाथा विराटनगरसँग जोडिएको छ । विद्युतीय सञ्चारको क्षेत्रले त विराटनगरलाई गडफादर मान्दा पनि हुन्छ । यो प्रजातन्त्र रेडियो हो भन्ने वाक्यका साथ विराटनगरबाट पहिलो पटक रेडियो ध्वनि तरंगित भएको थियो । जसका प्रथम उद्घोषक थिए तारिणीप्रसाद कोइराला । तारिणी पनि कृष्णप्रसादकै सन्तान थिए । यसरी विराटनगरसँग प्रजातन्त्रको साइनो जुटेको छ । यसैकारण विराटनगरसँग कांग्रेस र सिंगो प्रजातन्त्रवादी समुदायको आफ्नोपन छ ।

तर विराटनगर पनि कांग्रेसभित्र पलाइरहेको रोगबाट मुक्त छैन । केन्द्रमा कांग्रेसका चार गुट प्रत्यक्ष छन् । सभापति देउवा गुट शक्तिशाली छ भने रामचन्द्र पौडेल गुट भागबन्डादेखि सबैमा प्रतिस्पर्धा गरिरहेको छ । सानो भए पनि रणनीतिक छ कृष्ण सिटौला समूह र बार्गेनिङमा नचुक्ने खुमबहादुर खड्काको हस्तक्षेप पनि पर्याप्त छ । यी चारै गुट स्थानीय तहमा समेत पुगेको अवस्था छ । स्थानीय तहमा कांग्रेस एमालेभन्दा पछि पर्नुमा यी चार गुटको तानातानी प्रमुख कारण रहेको छ । एकले अर्कोलाई देख्नै नसक्ने, स्वीकार गर्नै नसक्ने अराजनीतिक संस्कार विकसित भइरहेको छ । यी चार गुटमा पनि ऐंजेरु पलाएको छ।

स्थानीय तहको कुरा अझ कहालीलाग्दो छ । छोटे÷बडे सबैका आफ्ना समूह छन् र तिनलाई स्थापित गर्ने प्रयास भइरहेका छन् । विराटनगरमा परेको केन्द्रको प्रतिच्छायाँसँगै दुई विद्वान्को द्वन्द्व छ । कोइराला परिवारबाट विराटनगरको बिँडो थामिरहेका छन् डा. शेखर कोइराला । कृष्णप्रसादका नातिमध्ये राजनीतिमा सक्रिय प्रकाश कोइराला छायाँमा परे । उनी अहिले गणेशराज शर्मा शैलीको राष्ट्रवादी स्कुल चलाउने प्रयासमा छन् । एकपटक राजाको मन्त्री भएपछि उनको साख सार्वजनिक हुन पाएको छैन । उनले पनि विराटगरको साटो राजनीतिका लागि सुनसरीलाई क्षेत्र बनाउने प्रयास गरेका थिए । २०४८ को उपनिर्वाचनमा गिरिजाप्रसादले छाडेको स्थानबाट उनी निर्वाचितसमेत हुनपुगेका थिए ।

राजनीतिमा सक्रिय भएर एकपटक चर्चाको शिखर छोएकी नातिनी सुजाता पनि सुनसरीतिरै लागेकी छिन्। जर्मनबाट नेपाल आउनासाथ उनले सुनसरीलाई आधार क्षेत्र बनाइ राजनीतिको मौलो समातेकी थिइन् । पछिल्लो चरणमा उनी बिमार भएपछि त्यति सक्रिय छैनन् । बिपीको पारिवारिक राजनीतिक उत्तराधिकारी भएका डा. शशांक नवलपरासीको गैंडाकोट पुगेका छन् । आफ्नो राजनीतिलाई त्यहीँबाट उठाएका शशांक अहिले पार्टीको महामन्त्री छन् । राजनीतिको पहिलो सिँढी उक्लँदै गरेका बिपीका नाति सिद्धार्थले पनि आफ्नो राजनीतिक मियो सुनसरीमा नै ठड्याउने काम गर्दैछन् । अर्थात् शशांकले पनि विराटनगर बिर्सिएपछि शेखरमात्र कोइराला परिवारका विराटनगरबासी मानिएका छन् ।

विारटनगर कांग्रेसको मूल मियो शेखर भएपछि महेश आचार्यको पनि समूह खडा नहुने कुरा अन्यथा हुनेछ। गिरिजाप्रसादका सर्वाधिक निकट भएर उठेका महेश कोइराला परिवारसँग नजिक ठानिँदैनन् । स्थानीय स्वार्थले समेत पृथक धार निर्माण गरिदिएको छ । केन्द्रीय राजनीति र लोकप्रियताका कारण अमृत अर्याल र डिकबहादुर लिम्बूहरू महत्वपूर्ण छन् तर यसपटकको निर्वाचनमा शेखर र महेश नै सतहमा देखिए । मधेसी समुदायलाई सन्तुलित नगरी विराटनगरको राजनीति हुँदैन । कृष्णप्रसाददेखि बसेको सन्तुलनको राजनीतिलाई बिपी र गिरिजाप्रसादसमेतले पालना गरे । खासगरी माडवारी व्यापारी समुदायको समर्थन नेपाली कांग्रेसको विराटनगरको शक्ति हो । यो पटक यो समर्थन झण्डै गुमिसकेको थियो । शायद विमलेन्द्र निधीको केही दिनको विराटनगर बसाइले सन्तुलनका लागि सूत्र निर्माण ग¥यो र नै कांग्रेसको नाक विराटनगरमा जोगियो ।

प्रकाशित: २८ असार २०७४ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App