काठमाडौं- राजनीतिक दलहरूबीच चुनावी तालमेल हुँदा केही नगर र गाउँपालिकाको उपप्रमुख पदमा महिलाको स्थान गुमेको छ। दलहरूले जसरी पनि चुनाव जित्ने दाउमा आफू अनुकूल तालमेल गरेका कारण केही स्थानीय तहमा महिलाले उपप्रमुख पद गुमाउनुपरेको हो।
दलहरूले जसरी पनि चुनाव जित्ने दाउमा आफू अनुकूल तालमेल गरेका कारण केही स्थानमा महिलाले प्रमुख/उपप्रमुख गुमाउनुपरेको हो।
संविधानले स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला उठाउनुपर्ने सुनिश्चित गरेको छ। तर, दलहरूबीचको गठनबन्धनले दुवै पदमा पुरुष उम्मेदबार बनाउँदा महिलाको पद गुमेको हो।
विभिन्न जिल्लामा फरकफरक राजनीतिक पार्टीको गठबन्धका कारण २१ स्थानमा महिला प्रमुख/उपप्रमुख हुनबाट वञ्चित हुनुपर्यो। गठबन्धनपछि दलहरूलाई महिला उम्मेदवार उठाउनुपर्ने बाध्यता नभएका कारण प्रमुख–उपप्रमुखमा पुरुष चुनाव लडे।
चुनावले स्थानीय तहमा महिला प्रतिनिधित्व बढाएको छ। गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरको उपप्रमुखमा अधिकांश महिलाले जितेका छन्।
फरक राजनीतिक सिद्धान्त बोकेका दलहरू पनि चुनावी तालमेलमा देखिए। राप्रपा–एमाले, कांग्रेस–माओवादी केन्द्र, राजमो–माओवादी केन्द्र, कांग्रेस–फोरम लोकतान्त्रिक–माओवादी केन्द्रबीच तालमेल भएको थियो।
मकवानपुरको थाहा नगरपालिकामा माओवादी र कांग्रेसबीच तालमेल हुँदा उपप्रमुखमा कांग्रेसका खड्गबहादुर गोपाली विजयी भए। बागलुङ नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच तालमेल हुँदा उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भए। बागलुङकै जैमिनी नगरपालिकामा एमाले र राजमोबीच तालमेल हुँदा एमालेका लीला राना उपप्रमुखमा विजयी भए। यस्तै काँठेखोला गाउँपालिकामा एमाले, राजमो र माओवादी केन्द्रबीच तालमेल हुँदा राजमोका अर्जुनबहादुर खत्री विजयी भए।
दोलखामा कांग्रेस र माओवादीबीच तालमेल हुँदा बैत्यश्वर गाउँपालिकामा माओवादीका रवीन्द्रचन्द्र आचार्य र बिगु गाउँपालिकामा माओवादीकै सञ्जीव ओली उपप्रमुखमा विजयी भए।
धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो। त्यहाँको उपप्रमुखमा मनराज भण्डारी विजयी भए। यस्तै बेनीघाट रोराङ गाउँपालिकामा कांग्रेसका देवीप्रसाद सिलवाल विजयी भए।
लमजुङको मध्यनेपाल नगरपालिकामा माओवादी र एमालेले तालमेल गर्दा एमालेका राजकुमार श्रेष्ठले उपप्रमुख जिते। लमजुङकै दूधपोखरीमा कांग्रेसका कमलप्रसाद धिताल, दोर्दी गाउँपालिकामा एमालेका दिलबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकामा माओवादीका होमबहादुर विकले चुनाव जितेका छन्।
हुम्लाको सर्केगाडमा एमालेका जोशी धामी, कालीकोटको महावै गाउँपालिकामा एमालेका मनराज शाही, पाल्पाको निस्दीमा माओवादीका बलबहादुर नेपाली, गुल्मीको धुर्कोटमा कांग्रेसका शिवबहादुर खत्री, ताप्लेजुङको फुङलिङमा माओवादीका बमबहादुर भट्टराई, सिदिङवा गाउँपालिकामा माओवादीका जीवनकुमार ताम्लिङ उपप्रमुखमा विजयी भएका छन्।
कपिलवस्तुको वाणगंगामा एमालेका चक्र अर्याल, अछाम बान्नीगाडी गाउँपालिकामा माओवादीका लोकबहादुर साउद, पाँचथरको तुम्बेबा गाउँपालिकामा एमालेका धन साँवा उपप्रमुखमा विजयी भएका छन्।
प्रकाशित: २९ असार २०७४ ०३:०१ बिहीबार