–सृजना खड्का
‘मायाकी खानी
शुबिहानी !!
मानिसहरू भन्छन् छोराछोरी आफ्नै शरीरको विस्तारित रूप हो भनेर । सायद यसो भन्नुको मतलव भौतिक रूपमा सधैं सँगै हुनु भनेको होला । तर, तिमी हाम्रो प्रेमको, भावनाको, कल्पना, चाहना, धेरै कुराको विस्तारित रूप हौ । पत्र मार्फत तिमीलाई हाम्रो बाध्यताका निहुँ सुनाएर आफ्नो मनको असन्तुष्टि, ग्लानी र पछुतो पखाल्ने प्रयास गर्दैछौं । हुन त तिमीले एउटै प्रश्न ‘मम्मी बाबा, तपाईंहरूका लागि प्राथमिकता म हो या अरु केही ?’ भनेर सोध्यौ भने हाम्रा यी सबै कुराहरू व्यर्थ हुन्छन्, हरेक कारणहरू अफसोच हुन्छन् । यत्ति सम्झ, यो तिम्रो बाबुआमाको मन बुझाउने एउटा बाहाना हो ।’
यो केही समय अगाडि कुञ्जना घिमिरे(सुन्तली) र सिताराम कट्टेल (धुर्मुस)ले आफ्नी छोरी शुबिहानीका लागि लेखेको चिठीको सानो अंश हो । करिब १२ सय शब्दमा लेखिएको उक्त चिठीले एकताका धेरैलाई भावुक बनायो । सामाजिक सञ्जालमा त भाइरलै भयो । जसमा उनीहरूले आफ्नी छोरी (शुबिहानी) लाई समय दिन नपाउँदाको पीडा पोखेका छन् ।
शुबिहानी अहिले तीन वर्ष पूरा भएर चार वर्ष लागिन् । नर्सरीमा पढ्छिन् । यता धुर्मस–सुन्तली अहिले तीनओटा नमुना बस्तीको निर्माणपछि ‘नमूना नेपाल’ को योजना काँधमा बोकेर हिँडेका छन् ।
‘राति पुग्दा सुतिसकेकी हुन्छिन्, बिहान म हिँड्दा उठेकै हुँदिनन् । उनीसँग छ÷सात महिना पनि राम्रोसँग बिताउन पाएको छैन,’ सितारामले भने । ‘मलाई उनको त्यो बालापन हेर्न मन छ । तोतेबोली सुन्न मन छ । उनले लेखेका अक्षरमा रमाउन मन छ । मन हुँदाहुँदै पनि समय दिन सकेको छैन,’ उनले थप भावुक हुँदै सुनाए ।
यता कुञ्जनालाई कहिलेकाही छोरीको क्रियाकलापले साह्रै पिडा हुन्छ । ‘बाहिर बाहिरै भइन्छ, घर आउँदा छोरी बोल्दै बोल्दिनन्,’ उनले भनिन्, ‘मुसहर बस्ती निर्माणमा लागेका बेला ‘मामु जाने, मामु जाने’ भन्दै फोनमा रोएकी थिइन् । म केही बोल्नै सकिन,’ उनले निकै भावुक हुुँदै भनिन् । सितारामले भने छोरीले फोनमा बोल्न नमानेको भन्दै गुनासो गर्छन् । भन्छन् , ‘फोनमा पटक्कै बोल्न मान्दिनन् । घरमा मेरो नजिकै पर्दिनन् ।’ आफूले जति फकाउन खोज्दा पनि छोरी नमान्दा उनी साह्रै दुखी हुन्छन् । ‘कहिलेकाहीँ मैले गाउने गीत सुनेर छोरी मख्ख पर्छिन्, हाँस्छिन् । तर, काम विशेषले बाहिर गएर धेरै दिनपछि घर फर्किदा बोल्दै बोल्दिनन् । हाँस्दै हाँस्दिनन्’, उनले भने ।
एकपटक छोरीको स्कुलको अभिभावक भेलामा सिताराम गए । ‘आफ्ना नानीबाबुका लागि समय निकाल्नुपर्छ’, प्रिन्सिपलले सबैका सामु भने । ‘म लाजले भुतुक्कै भए । मलाई नै हेरेर भनेको जस्तो लाग्यो’, उनले भने, ‘उनको होमवर्क हेर्न, उनलाई तयार गर्दिन, खुवाउन, घुमाउन हामीलाई कहिल्यै फूर्सदै भएन । एकदमै दुःख लाग्छ ।’ यता कुञ्जना कहिलेकाहीँ कामबाट निस्किएको समय मौका छोपेर छोरीसँग भाँडाकुटी खेल्ने गर्छिन् । ‘प्लास्टिकका भाँडामा छोरीले बनाएको चिया खाइदिनुपर्छ, उनी असाध्यै मख्ख पर्छिन्’, छोरीबारे कुञ्जनाले भनिन् ‘उनीसँग समय बिताउँदा समय गएको पत्तै हुँदैन ।’
छोरी अरु समय कोसँग बिताउँछिन् त? ‘दिदी पवित्रा र भिनाजु मदनको साथ छ । आफ्नै छोरी जसरी उसको ख्याल राख्नुहुन्छ,’ कुञ्जनाले भनिन्, ‘हामी भन्दा बढी उहाँहरुसँगै झ्याम्मिएकी छिन् ।’ त्यसैले ठूली भएपछि छोरीले गुनासो पोख्लिन् भनेर दुबैलाई खुबै चिन्ता छ ।
‘अरुका छोराछोरीमा हामी आफ्नै छोरी देख्छाैं । भोलिका दिनमा हाम्रो बाध्यता उनले बुझ्नेछिन् । हामीले गरेको काममा उनलाई गर्व महसुस हुनेछ । हाम्रा अधुरा सपना यही छोरीले पूरा गर्ने छिन्’, दुबैले एकै स्वरमा भने ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: २९ असार २०७४ ०६:५४ बिहीबार