१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

असल राष्ट्रसेवकको सम्झना

'म शासनसत्ताको कुर्सीमा छु। यसैले यस मुलुकमा प्राप्त हुने सर्वाेत्तम भौतिक सुविधा र साधन सबै मेरालागि हुन्' भन्ने चरम तानाशाही सोचाइ र प्रवृत्ति यो नवस्थापित गणतन्त्रात्मक मुलुकमा विकसित भइरहेको छ। त्यसको उदाहरण बितेका केही दिनमा भएका घटनाले प्रस्तुत गरेका छन्। तीमध्येको एउटा उदाहरण विभूषणहरूमा राष्ट्रका उच्चनिकायमा रहेका पदाधिकारीले गरेको मनोमानी र दोस्रो उदाहरण पृष्पकमल दाहाल प्रधानमन्त्री रहेको नेपाल सरकारका परराष्ट्रमन्त्रीले मर्सिडिज र स्कारपिओ जस्ता मूल्यवान् ३/३ वटा गाडीको निजी प्रयोजनमा उपयोग गरेर देखाएको चरम लोलुपता।

उच्च पदमा रहेर पनि सरकारी सेवा दुरुपयोग गरिएला कि भनेर सदैव सतर्क रहने पूर्णबहादुर गुरुङ जस्ता इमानदार र निर्लोभी व्यक्ति यतिबेला मुलुकलाई प्रशस्तै खाँचो छ।

माथि उल्लिखित नमुना स्वरूपका दुई घट्ना र प्रवृत्ति हेर्दा यस मुलुकमा आएको परिवर्तन र स्थापित भनिएको गणतन्त्र र यसअधिको तानाशाह मानिएको पञ्वायती शासन व्यवस्थाबीच तात्विक अन्तर देखापर्दैन। र, अहिलेका शासक–प्रशासक पञ्वायतकालीन दरबारिया र तिनका भाइ–भाइदारभन्दा कुनै पनि प्रकारले भिन्न देखिँदैनन्। बरू त्यस समयका उच्चस्तरमा रहेका कतिपय व्यक्तिका नैतिक आचारण आदर्श थियो र त्यस्ता व्यक्ति पनि मुलुकको सर्वाेच्च निकायमा पुगेका थिए। त्यसको एउटा नमुना हुन् लमजुङ जिल्लाको गाउँपञ्चायतको सदस्यबाट उठ्दै राजसभा (पछि आएर राजपरिषद्) को स्थायी समितिको सदस्य र मन्त्रीसम्म बनेका सुवेदार पूर्णबहादुर गुरूङ।

 २०४३–४४ तिरको एक बिहान म लैनचौरस्थित डेराबाट घुम्दै ठमेल पुगेको थिएँ र सामान्य शिष्टाचार भेटका निम्ति स्रोहखुट्टेबाट ठमेलको सातदोबाटो पस्ने बाटोको मुखैमा रहेको कवि नीरविक्रम प्यासीको घरमा डेरा लिएर बसेका उनै सुवेदार पूर्णबहादुरकहाँ पुगेको थिएँ। ती दिनमा उनी राजसभा स्याथी समितिका सदस्य थिए। तर उनको डेरा सामान्य कर्मचारीको भन्दा बढी व्यवस्थित थिएन। उनले त्यस घरमा जम्मा ३ वटा कोठा लिएका थिए– एउटा भान्सा, एउटा पत्नीसहित उनको शयनकक्ष र बीचमा त्यस्तै ६/७ वटा चकटी भएको गलैंचासहितको अलि ठूलो जस्तो लाग्ने बैठक कोठा।

 म ती सम्माननीय सदस्यको बैठक कोठा पस्दा त्यहाँ अर्काे एक युवा उमेर भर्खरै काटेको जस्तो सामान्य कदको मानिस थियो। मैले सम्माननीय गुरूङलाई अभिवादन गर्दा उनी त्यस मानिससँग भनिरहेका थिए– 'यहाँबाट म हिँडेरै अफिस जान सक्छु। यसैले मेरानिम्ति अरू विशेष कार्यक्रममा अन्यत्र जाँदाबाहेक मोटर लिएर आउनुपर्दैन डाइभर बाबु। मैले त अफिसमा मलाई गार्ड पनि पठाउनुपर्दैन भनिदिएको छु। यति हिँडेरै पुगिने ठाउँमा पनि सरकारी सम्पत्तिको अनावश्यक खर्च किन गर्ने? लौ जाउ बाबु यो मोटर लगेर उहीँ अफिसमै राख। बरू अफिसका लागि कुनै काममा आउला। त्यस बेला राजसभाको कार्यालय बहादुर भवनमा थियो र त्यहाँ जान छोटो बाटो हिँडे वा बढीमा २० मिनेट लाग्थ्यो। डाइभर गुरूङको मुखमा अवाक् बनेर टुलुटुलु हेरिरह्यो। उनी मतिर फर्किए– 'होइन त प्रोफेसर साहेब?' (म त्यसबेला भरखर सहायक प्राध्यापकको पदमा त्रिविमा कार्यरत थिएँ तर गुरूङ मलाई प्रोफेसर नै भन्थे।)

 पूर्णबहादुर एमए अध्यक्ष रहेको राजसभा स्थायी समितिका त्यस समयका सदस्यहरूमा नेपाली साहित्यका दुई शिखरपुरूष बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठ पनि थिए। सम २०३८ मा राजसभा सदस्य छँदा नै बितेको थिए। राजा वीरन्द्रकालीन पञ्चायती व्यवस्थामा राजसभा स्थायी समितिको सदस्य हुनु स्वयम् गौरवपूर्ण विषय थियो। त्यस्तो संस्थामा कुनै औपचारिक शिक्षा प्राप्त नगरेका पूर्णबहादुर गुरूङ रहनु अनौठो लाग्न सक्थ्यो।

 पूर्णबहादुर किशोर उमेर काटेर युवा अवस्थामा प्रवेश गर्दा/नगर्दै ब्रिटिस भारतीय सेनामा प्रवेश गरे। त्यसबेला द्वितीय विश्वयुद्ध चलिरहेको थियो। त्यस युद्धमा उनले देखाएको साहस र बहादुरीबापत ब्रिटिस भारतले उनलाई एमसी (मिलीटरी क्रस) उपाधि दिएको थियो। उनले त्यस सेवाबापत सुवेदार पद पनि पाए। उनी सुरूसुरूमा आफ्नो नामका पछाडि एमसी पनि लेख्ने गर्थे। तर पछि उनले एमसी छाडेर नामका अगाडि सुवे. (सुवेदारको छोटकरी) लेख्न थाले र उनलाई लोकले सुवे.पूर्णबहादुर गुरूङका नामबाट चिन्न थाल्यो।

 पूर्णबहादुर गुरूङ ब्रिटिस भारतीय सेनाको सेवा छोडी बीचैमा नेपाल फर्किए। त्यस बेलाको नेपाल राजनीतिकरूपमा २०१५ सालको निर्वाचनको तयारीमा थियो। गुरूङले नेपाली काङ्ग्रेसको साधारण सदस्यता पनि लिएका थिए। तर एउटा 'लाहुरे' लाई कुनै जिम्मेवारी दिनु काङ्ग्रेस पार्टीले शायद उपयुक्त ठानिरहेको थिएन। जब २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था विघटन गरी २०१९ सालमा नयाँ संविधान जारी गरे त्यसपछिका पञ्चायती निर्वाचनहरूमा उनी गाउँ पञ्चायत हुँदै निर्वाचित बनेर जिल्ला पञ्चायतका सभापति र अञ्चलसभा सदस्यसम्म बने।

 गाउँफर्क राष्ट्रिय अभियान (२०२४) राजा महेन्द्रले गाउँ विकासको चेतना छर्ने र आधारभूतरूपमा विकास निर्माणलाई गाउँस्तरसम्म पुर्‍याउने लक्ष्यसहितको अभियानका रूपमा सुरू गरेका थिए। तर वीरेन्द्रका शासनकालमा त्यसलाई केन्द्र स्तरका पञ्चहरूका सल्लाहमा राजनीतीकरण गरियो र जनताको तल्लोस्तरबाट उपल्लोस्तरसम्म निर्वाचित हुने पञ्चायती पद्धतिलाई 'टिके प्रथा'का रूपमा परिवर्तन गरियो। गाउँफर्कका जिल्लादेखि केन्द्रसम्मले जुन पञ्चलाई पदीय टिको लगाइदियो त्यो पञ्चले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरियो। यसले इमान्दार पञ्चहरूमा ठूलै असन्तुष्टि र कोलाहल मच्चियो। तर त्यसरी गाउँफर्कबाट मनोनीत हुने सबै पञ्च नराम्रामात्र थिएनन्, पूर्णबहादुर जस्ता निस्पृह इमान्दार पनि केही थिए। अन्नतः उनी राष्ट्रिय पञ्चायतको सदस्य हुँदै मन्त्री र राजसभा स्थायी समितिका सदस्यसम्म बन्न पुगे।

 यसरी पूर्णबहादुर गुरूङले गाउँदेखि राष्ट्रस्तरसम्मको उच्च पद पाउनुमा उनका रहेको निःस्वार्थी र निर्लाेभीपन एक प्रमुख कारण थियो। उनी पञ्चायतका कुनै पनि राजनीतिक पदमा छँदा विवादभन्दा माथि रहे। उनले राजनीतिक पदमा छँदा त्यसबाट कुनै पनि अनुचित लाभ लिने प्रयत्नसम्म गरेनन्। उनी प्रारब्धमाथि विश्वास गर्थे र आध्यामिक भावनाले प्रेरित थिए। उनको डेराको बैठक जस्तो लाग्ने भेटघाट कक्षका भित्तामा भानुभक्तीय रामायणका अध्यात्म विषयका उद्धरणहरू टाँसिएका थिए। यसबाट उनी निष्काम कर्मका पक्षधर रहेको जानकारी पाइन्थ्यो।

 २०१७ सालका पछिका वर्षहरूमा उत्तरी लमजुङमा अध्यात्मनिष्ठ गुरू क्षितीशचन्द्र चक्रवर्ती र उनका अनुगामीहरूले 'अद्वैत वेदान्त' जस्तो कठिन दार्शनिक विद्यालाई सरल नेपाली भाषामा सत्सङ्गका माध्यमबाट प्रसारित गरे। त्यसको प्रभाव गुरूङ जातिको बाहुल्य रहेको उत्तरी लमजुङका प्रबुद्ध गुरूङमा पनि पर्‍यो। त्यसै प्रभावमा परेका कैयन् गुरूङले मद्य–मांस प्रयोग छाडे र गाउँ–गाउँमा सत्सङ्ग कार्यक्रम सञ्चालन गरे। त्यसबाट पूर्णबहादुरले प्रभावमात्र ग्रहण गरेनन् त्यसलाई उनले आफ्ना सद्गुण र सत्चरित्रद्वारा व्यवहारमै लागु गरे। उनको जीवन अत्यन्त साधारण थियो। र, उनी मानिससँग सरल बोलीमा आध्यात्मिक ज्ञानका कुरा गर्थे। सात्विक भोजन र सात्विक रहनसहनसँग उनी अभिन्न थिए।

 आफू सामान्य लेखपढमात्र गर्न जान्ने पूर्णबहादुर गुरूङले ब्रिटिस भारतीय सेनाको जागिरबाट अवकाश लिएपछि लमजुङको भुलभुले गाउँ विकास समितिअन्तर्गतको बडागाउँमा बसेर गाउँमा शैक्षिक जागरण प्रारम्भ गरे। उनी गाउँमा आउनुअघि उनको गाउँमा प्राथमिक विद्यालयसम्म पनि थिएन। उनले २०–३० घर भएको आफ्नो गाउँमा प्राथमिक विद्यालय ल्याए र क्रमिकरूपमा त्यसलाई निम्नमाध्यमिक विद्यालयस्तरसम्म सञ्चालन गरे। त्यस बेला ७ कक्षासम्मलाई निम्नमाध्यमिक र ८,९ र १० कक्षालाई माध्यमिक कक्षा भनिन्थ्यो। थोरै आवादी र जनसंख्या भएको उनको गाउँमा हाइस्कुल स्तरको कक्षा सञ्चालन गर्नु सम्भव थिएन। यसैले उनको दृष्टि छिमेकी गाउँ पञ्चायतहरूको केन्द्र रहेको खुदी र मर्स्याङ्दीको सङ्गममा हाइस्कुल सञ्चालन गर्ने स्थानीय जनताको आशयप्रति केन्द्रित हुन पुग्यो र उनी खुदी र मर्स्याङ्दीको दोभानमा थालिएको अमर माध्यमिक विद्यालयका प्रथम संस्थापक अध्यक्ष बन्न पुगे।

 पूर्णबहादुर गुरूङ शिक्षण संस्थाहरूमा सदाचार, अनुशासन र नैतिकताका प्रवल पक्षधर थिए। आफैँ अनुशासित जीवन बिताउने उनी विद्यालयहरूमा आयोजना गरिने कुनै पनि सभा–समारोहमा सम्बन्धित शिक्षक र विद्यार्थीलाई नैतिकवान् र अनुशासित हुन बराबर जोड दिइरहन्थे। यसैले उनको बडागाउँको निम्नमाध्यमिक विद्यालयमा अध्यापन गर्ने शिक्षकमात्र नभएर विद्यार्थी पनि त्यत्तिकै अनुशासित थिए। उनले आफ्नो अनुशासनप्रियता र सदाचारलाई गाउँदेखि केन्द्रसम्मका विभिन्न पदमा छँदा आफैं उदाहरण बनेर लागु गरेका थिए। राजसभाको सम्माननीय सदस्य पदमा छँदा उनले देखाएको उदात्त चारीत्रिक विशेषता त्यसको नमुना थियो। नेपालको राजनीतिमा पूर्णबहादुर गुरूङजस्ता व्यक्ति अब दुर्लभ बनिसकेका छन्।

 २०४६ भन्दाअघिको पञ्चायती शासन व्यवस्थामा देशमा उच्च राजनीतिका र प्रशासकीय पदहरूमा सुवेदार पूर्णबहादुर गुरूङजस्ता अरू पनि कतिपय आदर्श व्यक्ति थिए। तिनलाई कुनै नैतिकता र सदाचारको पाठ पढाउनुपरेको थिएन। तर त्यस यताका शासक–प्रशासकमा क्रमशः नैतिक आचरण ह्रास हुँदै गएको देखिन्छ। यतिबेर झन् नैतिकता र आचरणको पतन पराकाष्ठमा पुगेको छ र राजनीतिकर्मी र प्रशासक दुवै मिलेर भ्रष्टाचारलाई संस्थागतरूपमा विकसित गरिरहेका छन्। यस्तो अवस्थामा आएर आफ्नो दीर्घजीवन बाँची दुई वर्षअघि मात्र दिवङ्गत बनेका सुवे. पूर्णबहादुर गुरूङ मेरो स्मृतिपटमा ताजा बनेर आएर। उनलाई आदर्श मानेर हिँडेमा यस देशको अनुहार छिट्टै बदलिन सक्थ्यो।

प्रकाशित: ३० असार २०७४ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App