coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

चुँदीमा भानुको सम्झना

चुँदी (तनहुँ)- आज २०४ औं भानु जयन्तीको अवसरमा तनहुँका बासिन्दाले आदिकवि भानुभक्त आचार्यलाई स्मरण गरेका छन्। तनहुँको चुँदीरम्घामा जन्मिएर संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका आदिकवि आचार्यलाई उनकै जन्मस्थलमा स्मरण गरिएको हो। जन्मजयन्तीका अवसरमा ३ दिनसम्म रामायाण वाचन प्रतियोगिता, कविता प्रतियोगिता, कविगोष्ठी, साहित्यिक अन्तक्रिया गरियो।

सो अवसरमा बिहीबार चुँदीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवं पूर्व वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी लगायत विभिन्न दलका नेता, प्रशासक, जनप्रतिनिधि, साहित्यकार, बुद्धिजीवि, सञ्चारकर्मी, समाजसेवी तथा स्थानीयबासीले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

भानु नगरपालिका ४ चुँदीस्थित भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरमा साहित्यिक, सांस्कतिक, सांगीतिक तथा प्रवचन कार्यक्रममा जिल्ला सदरमुकाम दमौली, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका लगायतका स्थानबाट सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भण्डारी, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य विद्यानाथ ढकाल, कांग्रेस जिल्ला सचिव लक्ष्मी आचार्य, एमाले सचिव भगवती न्यौपाने, नेकपा माओवादी केन्द्रका सदस्य ओमकुमारी पौडेल, भानु नगरपालिका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी नितेशकुमार शाक्य, भानु जन्मस्थल विकास समितिका पूर्व अध्यक्ष विष्णुहरि पाण्डे लगायतले आचार्यलाई स्मरण गर्दै श्रद्धासमुन ज्ञापन गरे।

उनीहरूले आदिकवि र घाँसीको जीवनी माथि चर्चा गर्दै भानु जन्मस्थललाई साहित्यिक पर्यटनको अनुपम गन्तव्यका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

आदिकवि आचार्यले भाषालाई सहज र सरल बनाउनुका साथै दुई शताब्दीअघि क्रान्तिकारी काम गरेको बताए। तत्कालीन राज्य व्यवस्था, प्रशासक र प्राज्ञिक जगतले पनि संस्कृतलाई नेपालीमा अनुवाद गर्न नचाहने समयमा भानुभक्तले निकै आँटिलो काम गरेको समेत उनीहरूले बताए। सो अवसरमा लोक तथा दोहोरी कलाकारले आफ्ना प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन गराएका थिए।

कार्यक्रममा ‘घाँसीको खोजी’ नामक नाटक पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा लाखेनाच, वालुन तथा भजन पनि प्रस्तुत गरेका थिए।

कार्यक्रममा रामायण वाचनमा प्रथम सञ्चिता ढकालले रामायण वाचन गरिन् भने कवितामा प्रथम शान्ता बास्तोलाले कविता सुनाई्। भानु जन्मस्थल विकास समितिका अध्यक्ष श्रीभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कर्मचारी शिवभक्त रानाभाटले स्वागत गरेका थिए।

प्रकाशित: ३० असार २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App