मिथिलामा मधुश्रावणी

शनिबार, ३१ असार २०७४, ०८ : १० चाँदनी हमाल


बेहुलीझैँ सिँगारिएर दीपा र चाँदनी झा पूजा मण्डपमा बसे । बानेश्वरस्थित आफ्नै घरमा बनाइएको मण्डपमा बस्ता यी देउरानी–जेठानी जग्गेमा खडा दुलहीजस्तै देखिए ।

पतिको दीर्घायु कामना गर्दै १३ दिनको व्रत सुरु गर्न शुक्रबार उनीहरू पूजा मण्डपमा खडा थिए । शृंगार उस्तै भए पनि दीपा र चाँदनी बेहुली थिएनन् । केही महिनाअघि दुहली बनेर भित्रिएका उनीहरु आफ्नो समुदायले मनाउने मधुश्रावणी पूजाका लागि तयार भइरहेका थिए ।

मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन पनि छ । यसको विरोध भएपछि अहिले भने चिसो दियोेले मात्र डाम्ने चलन सुरु भएको दयालले बताए । मैथिल ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँछन् ।

अरु समुदायले विभिन्न चाडपर्व मनाएझैँ मैथिली समुदायका महिलाले भने साउनमा दाम्पत्य जीवनको सफलाताको कामना गर्दै मधुश्रावणी मनाउँछन् । दीपा र चाँदनी पनि विवाहको प्रथम वर्ष भएकाले बेहुलीजस्तै सिँगारिएर पूजाका लागि तयार भए ।

बहुसांस्कृतिक नेपाली समाजमा विभिन्न समुदायले साउनमा फरक–फरक पर्व मनाउँछन् । मैथिली समुदायले भने साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म मधुश्रावणी मनाउँछन् । 
असार भए पनि तिथिअनुसार शुक्रबार साउन कृष्ण पञ्चमी भएकाले दीपा र चाँदनी मधुश्रावणीको पूजा गर्न लागेका थिए । मैथिली समुदायमा यो व्रत र पूजा अनिवार्यजस्तै छ । नवविवाहिताको वैवाहिक जीवन सुमधुर बनोस् भन्ने उद्देश्यले गरिने व्रत र पूजाका आफ्नै विधि छन् । मैथिल महिला तिनलाई अपनाएर पूजा विधि पूरा गर्छन् । 

‘हिजो साँझ दुवै देउरानी–जेठानी मिलेर फूल टिप्न गयौँ,’ चिकित्सक दीपाले शुक्रबार भनिन्, ‘काम र संस्कार दुवै धान्नैप¥यो ।’ दीपा खनाल र शिवेन्द्र झाबीच गत वैशाखमा अन्तर–सामुदायिक  विवाह भएको हो । मधेसी मूलका शिवेन्द्र र पहाडे मूलकी दीपाबीच केही वर्ष प्रेम भयो अनि विवाह चाहिँ मागी । 

पूजाको सुरसार हुँदै गर्दा दीपाको माइतीबाट पूजा–सामग्री लिएर उनकी आमा गीता र दिदी रीता आइपुगे । एक–अर्काको संस्कृतिबारे अपरिचित यी दुई परिवारलाई दीपा र शिवेन्द्रको जोडीले मिलन गराइदिएको हो ।
 
‘छोरीको भविष्यका लागि आउनै प¥यो, यताको संस्कारलाई मान्नैपर्‍याे,’ गीताले भनिन्, ‘दुईजना मात्र होइन, दुई घर र दुई संस्कारलाई पनि यस्तै कार्यक्रमले जोडेको छ ।’ उनलाई छोरीको घर आउँदा धेरै खाले संस्कृति र चलन अनौठा लाग्छन् । उनका ज्वाइँलाई भने ससुराली जाँदा धेरै चलन अनौठा लाग्ने गरेका छन् । 

छोरीको घरमा आएकी गीताले सम्धिनीले दिएको सारी लगाएर पूजामा बसिन् । ‘सरजम माइतको आए पनि १३ दिनसम्म बाहिरको खाना खान हुन्न,’ दीपाकी सासू नीलमले मधुश्रावणीको नियम बताइन्, ‘माइतमा पूजा गर्ने हो भने १३ दिन घरमै सामल लगेर खानुपर्छ ।’

बेहुलीझैँ सिँगारिएका दीपा र चाँदनी विशेष मण्डपमा बसे । फूल, दियो, गेडागुडी, फल, हात्तीको नमुना, विशेष कलशलाई सजाइयो । मण्डप र व्रतालु तयार भएपछि पूजा विधि सिकाइन्, शिवेन्द्रकी चाची सावित्रीदेवी मिश्रले । उनी मधुश्रावणीकी कथा वाचक पनि हुन् । ‘मलाई केही आउँदैन सिकाउनुस् है चाची,’ दीपाले भनिन् । 

गाउँमा साथीको मधुश्रावणीमा सामेल भएकी दीपाकी जेठानी चाँदनी पनि पूजा विधिमा अलमलिइन् । शिवेन्द्रका माइला दाइ जियानेन्द्र र चाँदनीबीच पनि यसै वर्ष मागी विवाह भएको हो । उनले पनि पतिको दीर्घायुको कामना गर्दै १३ दिन व्रत राखेर पूजाको मण्डपमा बसेकी थिइन् । 

दुवै नवदुलही मण्डपमा बसेर पूजा गर्न थालेपछि सासू र छिमेकीले भने मधुश्रावणीको गीत गुनगुनाउन थाले । 


झाँसी तिहारी 
रसिली भवानी
डाडोमा जादु मोहनीया हे माँ

मैया के कानो मे बाली 
और शोभायन हे झुम्किया 
मैयाके पैरो मे पायल
और शोभायन हे पैजनिया....

यो गीत शिव–पार्वतीको विवाह गाथामा गाइने नीलम बताउँछिन् । दीपा र चाँदनी मात्र होइन, यसबेला मिथिलाञ्चलका विभिन्न जिल्लामा मधुश्रावणी पर्व मनाइँदै छ । 

मैथिली लेखक रामदयाल राकेश मधुश्रावणीको विशेष महत्त्व रहेको बताउँछन् । ‘साउनमा जताततै हरियाली हुन्छ,’  उनले भने, ‘यसबेला आफ्नो दाम्पत्य जीवनलाई पनि वातावरणजस्तै सुन्दर बनाउने कामना साथ मधुश्रावणी मनाइन्छ ।’ उनका अनुसार महिला मधुश्रावणीको कथा सुन्ने र नाचगान गरेर मधुश्रावणी मनाउँछन् । नवविवाहिताले भने १३ दिन व्रत बस्ने चलन छ । 

मिथिला इतिहास अनुसार मुगल शासकबाट मिथिलाञ्चलका महिलाको अस्तित्व र अस्मिता बचाउन मधुश्रावणी सुरु गरिएको हो । ‘मैथिली संस्कृतिमा व्रत र कथाप्रधान पर्व हो, मधुश्रावणी,’ दयाल भन्छन्, ‘यसमा १३ किसिमका कथा वाचन गरिन्छ, त्यहीअनुसार देवीदेवता पुजिन्छ ।’ 

उनका अनुसार मधुश्रावणीमा हरेक दिनको महत्त्व रहन्छ । यसबेला मैथिली लोकगीत समेत गाउने चलन छ। मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन पनि छ । यो विवादको विषय बनेपछि अहिले भने चिसो दियोेले मात्र डाम्ने चलन सुरु भएको दयालले बताए । मैथिल ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँछन् ।

 

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक...

बोलचालमा प्रतिबन्ध

बोलचालमा प्रतिबन्ध

बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि...

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका...