८ वैशाख २०८१ शनिबार
अन्य

व्यंग्य : १६ करोडको गाडी

नेपाली राजनीतिमा अचानक १६ करोडको गाडी प्रवेश गरेको छ। एउटा गाडीका लागि १६ करोड माग गरिएको समाचारले अहिले पूरा राजनीति चलायमान बनेको छ। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीका लागि उक्त गाडी माग गरिएको रहेछ। गाडीको यो एउटा मागका कारण अहिले नेपाली राजनीति पूरै गाडीमय बनेको छ। कुन देशका राष्ट्रपति कस्तो गाडी चढ्छन्? कति करोडको गाडी कस्तो हुन्छ? १६ करोडको गाडी कसलाई किन चाहियो? कस्ता–कस्ता मानिसले कस्ता गाडी चढ्छन्? अहिले अनलाइन र अफलाइन सञ्चारमाध्यममा यही कुराको चर्चा छ। स्थानीय तहको चुनाव त कता गयो कता।

कमरेड ओलीले साँच्चै बचाउ गर्न खोज्नुभएको त वास्तवमा गाडीको हो। किनभने उहाँ टाढाको यात्रा गर्ने हो भने गाडी नै चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ। बयलगाडामा यात्रा गरी कहीँ पुग्न सकिँदैन भन्ने उहाँको मान्यता छ। बयलगाडामा यात्रा गर्नेलाई त उहाँ घृणा नै गर्नुहुन्छ।

राष्ट्रपतिको गाडीमाथि यसरी प्रहार भएको देखेर अस्ति एमालेका अध्यक्ष कमरेड केपी ओली प्रतिकारमा उत्रनुभयो। उहाँले ठाडै भन्नुभयो– स्थानीय तहको चुनावमा एमालेले जितेको सहन नसक्नेले १६ करोडको गाडी उछालेको हो। केपी ओली एक्लै सही, राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा कोही त आए। नभए यो प्रकरणमा राष्ट्रपतिविरुद्ध पूरै नागरिक समाज उत्रेको छ। यसो भनेर मैले कमरेड ओलीद्वारा राष्ट्रपति भण्डारीको बचाउ गरे भन्न खोजेको होइन। कृपया यसलाई त्यो अर्थमा नलिइयोस्, जस्तो कि पहिलेपहिले लिइने गरिन्छ। कमरेड ओलीले साँच्चै बचाउ गर्न खोज्नुभएको त वास्तवमा गाडीको हो। किनभने उहाँ टाढाको यात्रा गर्ने हो भने गाडी नै चाहिन्छ भन्ने मान्यता राख्नुहुन्छ। बयलगाडामा यात्रा गरी कहीँ पुग्न सकिँदैन भन्ने उहाँको मान्यता छ। बयलगाडामा यात्रा गर्नेलाई त उहाँ घृणा नै गर्नुहुन्छ।  

अब चर्चामा के पनि छ भने राष्ट्रपति भण्डारीका लागि किन्न लागिएको गाडी जो छ, त्यो चीनका राष्ट्रपति अथवा रुसका राष्ट्रपतिले चढ्ने गाडीभन्दा महँगो रहेछ। भारतका राष्ट्रपतिले चढ्ने गाडीभन्दा त झनै महँगो होला। अतः भारतीय राष्ट्रपतिलाई हामीले दिने सबैभन्दा ठूलो टक्कर यही गाडी हुन सक्छ (यदि त्यो आएमा)। केही बयलगाडावादीको यसैमा आपत्ति छ। उनीहरू प्रश्न गरिरहेका छन्, नेपालको राष्ट्रपतिलाई चीनको राष्ट्रपतिभन्दा महँगो गाडी किन? अब यो कस्तो प्रश्न हो? मलाई त प्रश्नै मन परेन। के नेपालको राष्ट्रपतिले चीनको राष्ट्रपतिभन्दा सस्तै गाडी चढ्नुपर्ने? भन्नेबेला चाहिँ अब हामीले चीनभन्दा पनि तीव्र गतिमा विकास गर्नुपर्छ भन्ने, गाडीचाहिँ चीनको भन्दा सस्तो चढेर हिँड्ने?  

हेर्नोस्, यदि नेपाललाई चीनभन्दा अगाडि पुर्‍याउने हो भने, अथवा रुसभन्दा अगाडि पुर्‍याउने हो भने सबैभन्दा पहिले गाडी नै गतिलो चाहियो नि, होइन र? गाडी नै राम्रो छैन भने कसरी अगाडि बढ्ने? चीनलाई उछिन्ने हो भने चिनियाँ राष्ट्रपतिको भन्दा गतिलो गाडी चाहियो। गतिलो गाडी अलिकति महँगो भइहाल्छ। आखिर बयलगाडा चढेर त चीनलाई उछिन्न सकिन्न। चीनलाई उछिन्नु छ भने त चिनियाँ राष्ट्रपतिको भन्दा महँगै गाडी चाहियो नि।

त्यसो त हाम्रो राष्ट्रपति गाडी नै नभएको राष्ट्रप्रमुख हुनुहुन्न। गाडी त उहाँसँगै छ। तर त्यो राम्रो गाडी परेन। बीचबीचमा बिग्रिरहन्छ। अस्ति पनि कता हो एक ठाउँ बिग्रिएर जात्रै भयो। त्यसो त अचेल राष्ट्रपतिको सवारी हुँदा बाटोमा कुनै जात्राभन्दा कम बिजोग हुँदैन। दायाँ–बायाँ बन्द। तल–माथि ठप्प। सुनसान बाटो। अनि आधा घन्टापछि बल्ल सवारी। यात्रुको त ठूलै जात्रा हुन्छ। त्यसपछि जामले गर्ने जात्रा त बेग्लै छ। यस्तो अवस्थामा गाडी पनि बीचमा बिग्रियो भने झन् के हालत होला? जाम पनि तन्किने भयो, बिजोग पनि तन्किने भयो। यात्रुलाई यस्तो सास्ती नहोस् भन्ना खातिर पनि गाडी त नयाँ नै चाहिन्छ।

अब त्यस्तो बिग्रिने गाडीमा चढेर कहिले चीनलाई उछिन्ने? यो सम्भव कुरा भएन। आखिर त्यस्तो बिग्रिरहने गाडी र बयलगाडामा के फरक भयो? बयलगाडा चढेर चीन पुगिन्छ? वास्तवमा पूर्वप्रधानमन्त्री एवं वर्तमान विपक्षी नेता खड्ग ओलीले यस विषयमा बोल्नुभएको यति नै हो। राम्रो यात्राका लागि राम्रै साधन चाहिन्छ। यदि चिनियाँ राष्ट्रपतिको गाडी अथवा रुसी राष्ट्रपतिको गाडी सँगै दाँज्ने हो भने ती मात्रै किन अरु राष्ट्रपतिसँग पनि दाँजौ न। जर्मनीका चान्सलर हिटलरले चढ्ने गाडी कस्तो थियो? फिलिपिन्सका पुराना राष्ट्रपति मार्कोसले चढ्ने गाडी कस्तो थियो? अथवा, युगान्डाका तत्कालीन राष्ट्रपति दादा इदी अमिनले चलाउने गाडी कस्तो थियो? त्यो पनि हेरौँ न। खालि एकतर्फी रूपमा हेरेर त भएन।

अगाडि बढ्ने साधनचाहिँ नदिने, अनि अगाडि बढेन भनेर आलोचना गर्ने? यो त मिल्दैन। अब १६ करोड भनेको पनि के हो र? नेपालमा भ्रष्टाचार गर्नेले समेत अहिले अर्बमा गर्ने भइसक्यो। यस्तो अवस्थामा १६ करोड के हो र?

प्रकाशित: ३१ असार २०७४ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App