७ वैशाख २०८१ शुक्रबार
अन्य

भानुभक्तलाई सम्झँदा

बिहीबार मात्र नेपाललगायत नेपालीभाषिको बसोबास हुने विश्वभरमा २०४औँ भानु जयन्ती मनाइयो। १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली भाषा–साहित्यको नक्षत्रका रुपमा हेरिन्छ। भानुभक्तमाथि नेपाली भाषा–साहित्य विकास र प्रवर्द्धन गरेको जस मात्रै जाँदैन, उनका रचनालाई लिएर आलोचना समेत हुने गरेका छन्। सम्पर्क भाषाको नाममा राज्यले नेपाली भाषालाई मात्रै महŒव दिँदा अन्य भाषाभाषिका समुदाय राज्यको मूलधारमा आउन नसकेको तर्क कतिपयको छ। जन्मजयन्तीका अवसरमा भानुभक्तका कृति र योगदानको चर्चा गर्ने कोसिस गरेका छौँ।

कतिपयले भानुभक्तमाथि स्त्रीलाई हेपेर लेेखेको, आधुनिक काव्य नलेखेर रामायण किन लेखेको, नेपाली भाषा साहित्यलाई जबर्जस्ती लादेको लगायत आरोप लगाउने गर्छन्। तर यस्ता तर्कको कुनै तुक छैन, किनभने कुनै पनि कुरा सुरु गर्नु सबैभन्दा महŒवपूर्ण कुरा हो। अर्काेतर्फ उनकै लेखनीबाट नेपालको लेखनमा नयाँ अध्याय सुरु भएको हो। नेपाली साहित्यको विकासमा उनको योगदानको जति चर्चा गरे पनि कम हुन्छ। – मोदनाथ प्रश्रित

विश्व इतिहास नबुझनेले आलोचना गर्छन्

मोदनाथ प्रश्रित, साहित्यकार

कतिपयले भानुभक्तमाथि स्त्रीलाई हेपेर लेेखेको, आधुनिक काव्य नलेखेर रामायण किन लेखेको, नेपाली भाषा साहित्यलाई जबर्जस्ती लादेको लगायत आरोप लगाउने गर्छन्। तर यस्ता तर्कको कुनै तुक छैन, किनभने कुनै पनि कुरा सुरु गर्नु सबैभन्दा महŒवपूर्ण कुरा हो। अर्काेतर्फ उनकै लेखनीबाट नेपालको लेखनमा नयाँ अध्याय सुरु भएको हो। किनभने धेरै मानिस रामायण र भानुभक्त पढेरै साहित्यतर्फ आकर्षित भएका हुन्। नेपाली साहित्यको विकासमा उनको योगदानको जति चर्चा गरे पनि कम हुन्छ। अर्काे कुरा जसले भानुभक्तमाथि आरोप लगाउँछन्, उनीहरूले बुझ्नुपर्ने भानुभक्तले रामायण आफैँले लेखेका होइनन्। एउटा रोचक कथालाई नेपालीले पढ्ने अवस्था सिर्जना गरिदिएका हुन्। यो कुरा कसरी गलत भयो? उनले नेपाली साहित्यमा जागरण ल्याउन रामायण लेखेका हुन्।

तत्कालीन समाज बुझ्नका लागि पनि पुराना कृति पढ्नुपर्छ। नेपालीका लागि त्यही वातावरण मिलाइदिएका हुन् उनले। जसले विश्व इतिहास बुझेका हुँदैनन्, उनीहरूले भानुभक्तका बारेमा अनावश्यक बखेडा झिक्ने गर्छन्। किनकि उनीहरूलाई सानो मुलुकबाट पनि विकास हुन्छ भन्ने कुरा थाहा छैन। भानुभक्तबारे अनावश्यक बडप्पन देखाएर विरोध गर्नेले सबैभन्दा पहिले उनलाई गहिरो अध्ययन र चिन्तन गर्न आवश्यक छ। भानुभक्तमाथि आरोप लगाउनेहरू नेपालको संस्कृतिमाथि प्रहार गर्ने उद्देश्यले ल्याइएका हुन्। जहाँसम्म नेपाली भाषाको कुरा उठाएर उनीमाथि आक्रमण गरिन्छ, त्यतिबेला अधिकांशले बुझ्ने भाषा नै नेपाली थियो, त्यसैले उनले सबैलाई पढ्न सजिलो होस् भनेर नेपाली भाषामा लेखेका हुन्। उनले रामायण वा रामलाई नै चयन गर्नुका पछाडि पनि कारण छ। कुनै कृति लेख्दा चर्चित पात्रका बारेमा लेखियो भने त्यसको चर्चा पनि त्यत्तिकै हुन्छ। त्यस्तो कुरामा उनी सजक थिए। हामी प्रेमलीलाका उपन्यास पढेर रमाउँछाँै तर एतिहासिक कृतिको महŒव बुझदैनौँ। रामायण र भानुभक्तका सन्दर्भमा पनि यही भएको हो। यस्ता विषयमा त बरु गर्व गर्नुपर्छ।

भाषा विविध समुदाय र सम्प्रदायलाई एकतामा बाँध्ने माध्यम हो। त्यतिबेला पश्चिम नेपालका खसहरूको भाषा बढी प्रयोगमा थियो। सरल र सबैले बोल्ने भाषा भएकाले त्यसको प्रयोग बढी भएको हो। नेपाली भाषा सरल भएकाले बढी प्रयोग भएको हो, त्यो कसैमाथि थोपरिएको भन्नु गलत हो। अंग्रेजी भाषा बोल्दा गर्व गर्ने तर आफ्नो भाषाको कुरा गर्दा लादिएको भन्न मिल्छ? थोपरिएकै भए त संस्कृत भाषा अनिवार्य हुन्थ्यो होला नि? त्यो अप्ठेरो पनि थियो, त्यस्तो त देखिँदैन? भानुभक्तभन्दा पहिले पनि नेपाली भाषा चलन चल्तीमा थियो, त्यसैले रामायण नेपालीमै लेखिएको हो। नेपाली रामायणलाई आवश्यकताले जन्माएको हो। भानुभक्तले अरुलाई शिक्षित बनाउने काम गरेर के गल्ती गरे? यो सबै बाह्य संस्कृति लाद्न नियतवश आएको कुरा हो। नेपालमा भुइँफुट्टा प्रवृत्ति छ, जसले समग्र व्याख्या गर्न सक्दैनन्, जे आफूले बुझेका छन्, त्यही मात्र सत्य हो भन्ने सोचाइ छ।

नारीवादी दृष्टिकोणले मात्र हेर्दा अन्याय हुन्छ

रजनी ढकाल, कवि

वर्तमान नारीवादी दृष्टिकोणले हेर्दा भानुभक्त आलोचित हुन्छन्। उनले नारीलाई जुन ढंगले प्रस्तुत गरेका छन्, त्यो हिसाबले उनको आलोचना हुनु स्वाभाविक पनि हो। तत्कालीन अग्रजको तुलनामा पनि नारीलाई हेर्ने दृष्टिकोणमा भानुभक्त पुरातनवादी थिए। त्यो तत्कालीन समाज, परिवेश र ब्राह्मणवादी सोचको उपज पनि थियो।

तर उनलाई नारीवादी दृष्टिकोणले मात्र हेरियो भने उनीमाथि अन्याय हुन्छ। किनभने भानुभक्तले तत्कालीन परिवेशमा पारिवारिक सम्बन्ध स्थापनाका लागि वधुशिक्षा लेखेका थिए। त्यो उनले छोरी–बुहारीलाई दिएको शिक्षा थियो। त्यहाँ प्रयोग भएका शब्दले नारीलाई कमजोर ठानेको जस्तो लागे पनि त्यतिबेला नारीको अवस्था कस्तो थियो भन्ने कुरा पनि बिर्सनु हुँदैन। भानुभक्तले मात्र होइन, आधुनिक परिवेशमा प्रवेश गरेपछि बालकृष्ण समले समेत महिलालाई निकै कमजोर ढंगले सम्बोधन गरेका छन्। त्यसैले उनको एउटा कमजोर पक्षलाई मात्र देखाएर आलोचना गर्नु राम्रो हुँदैन। उनी पुरातनवादी त थिए नै, सँगै कुनै पनि कुरा सहन नसक्ने र मुढी स्वभावका पनि थिए भन्ने सुनिन्छ। जस्तो तत्काल आवेगमा आउने, मन नपरेको व्यक्तिसँग बाझ्ने उनको स्वभाव थियो पनि भनिन्छ। तर यस्ता कुरालाई उठाएर उनको योगदानको अवमूल्यन गरिनु हुँदैन। त्यो त्यतिबेलाको समाजको उपज हो।

निहित स्वार्थका लागि आदिकविको पगरी गुथाइयो

राजेन्द्र महर्जन, लेखक

भानुभक्तले दिएका योगदानलाई नमान्नुपर्ने कुनै कारण छैन। त्यसबेला खस, पर्वते, गोर्खाली भनिने नेपाली भाषाको उन्नयनका लागि उनले गरेको योगदानलाई कसैले बेवास्ता गर्न सक्दैन। रामायणलगायत धार्मिक रचनाको सिर्जनात्मक अनुवाद, बोलीचालीको भाषामा साहित्य रचना र त्यसको प्रचारमा उनको योगदान रहेको छ। तर उनी खस नेपाली भाषाका न प्रथम कवि वा आदिकवि हुन्, न त नेपालका सबै भाषाका अगुवा कवि नै। आदिकवि पगरी राज्य र भाषिक राष्ट्रवादी अभियन्ताले निहित स्वार्थपूर्तिका गुथाएको मात्रै हो। इतिहासकार बाबुराम आचार्यदेखि इतिहासकार, समालोचक ज्ञानमणि नेपालले किताबै लेखेर प्रमाणित गरिसकेका छन्, नेपाली भाषा र नेपाल भानुभक्तभन्दा सयौँ वर्ष पहिलेदेखि कविता रचना गर्ने, उनीभन्दा प्रभावशाली सिर्जना गर्ने अन्य भाषाका कवि पनि बग्रेल्ती थिए।    

भानुभक्तले नेपाली भाषा र साहित्यलाई जबर्जस्ती थोपरेको आरोप कसले कसरी लगायो, मेरो जानकारीमा छैन। उनको नाम, उनका रचना र उनलाई दिइएको पगरीलाई ब्राह्मणवादी मूल्य, एकल भाषाको प्रभुत्व र वर्चस्व स्थापनाका लागि दुरुपयोग गरिएको भने सत्य हो। त्यही दुरुपयोगका क्रममा पृथ्वीनारायण शाहले भौगोलिक र राजनीतिक एकीकरण गरेको तथा भानुभक्तले भाषिक र सांस्कृतिक एकीकरण गरेको 'न्यारेटिभ्स' (भाष्य)को रचना र प्रचार गरिएको हो। यसमा नेपाली राज्य, त्यसमाथि प्रभुत्व जमाएका एकल भाषावादी र बहुभाषाको अधिकारविरोधी भाषिक अभियन्ताको योगदानकै कारण आजपर्यन्त भाषिक र सांस्कृतिक लोकतन्त्रका लागि संघर्ष जारी छ।

 भानुभक्त हिन्दू वर्णव्यवस्था, त्यसले जन्माएको जातपात, छुवाछुत, पवित्रता–अपवत्रिताको संरचना र संस्कृतिबीच हुर्किएका हुन्। ब्राह्मणवादी धर्मग्रन्थको रचना वा अनुवाद गर्दा मुक्ति, आनन्द, पद, पैसा, प्रतिष्ठा मिल्ने जमानामा उनी थोत्रो परम्परा, अन्धविश्वास, कुरीतिकै पछिपछि लागे जीवन, विचार र सिर्जनामा। रामायण तिनै विचार र सिर्जनाको निरन्तरता र व्यापकताबाहेक केही होइन।

युरोपको समाज र सभ्यतामा विशिष्ट सन्दर्भमा मार्क्स जन्मिएका थिए भने नेपाललगायत दक्षिण एसियाको समाज र सभ्यताबीच भानुभक्त जन्मिएका हुन्, लगभग एउटै कालखण्डमा। नेपाली राज्य, समाज र परिवारमा ब्राह्मणवादी मूल्यमान्यता, जातभात, छुवाछुतलाई बलियो बनाउने गरी १९१० सालमा मुलुकी ऐन बनाउने क्रममा उनको रचना प्रस्फुटित भएको पाइन्छ। खेतीसँगै स–सानो जमिनदारी गर्ने, ज्योतिषको कामसँगै जजमानी गर्ने तथा तिर्जाको किनबेच गर्ने आचार्य भाषिक अनुरागी कवि थिए। ब्राह्मणवादी, धर्म, समाज र राज्य र तिनका मूल्यमान्यताविरुद्ध रचनात्मक विद्रोह भइसकेको र जोसमनी सन्त परम्पराको प्रचार व्यापक भइसकेका बेला पनि उनका विचार र रचना भने सनातनी नै थिए। खेतीपाती, ज्योतिष, तिर्जाको व्यापारका कारण शाह र राणा शासकसँग उनको जेजस्तो सम्बन्ध थियो, त्यसको प्रतिविम्ब राणा शासकको चाकरी गर्ने कवितामा देख्न पाइन्छ।

हुन त उनको नाम गाँसिएर जे–जति रचना सार्वजनिक भएका छन्, घाँसी प्रकरण र गजाधर सोतीकी बूढीको प्रकरण गढेर जेजस्तो मिथक रचना गरिएका छन्, तिनको वैज्ञानिक खोजबिनको आवश्यकता अझ बढेको छ। उनको थाप्लोमा मोतीराम भट्ट, शम्भुप्रसाद ढुंग्याल र अन्यले आ–आफ्ना रचना थोपर्दै महान् रचना र आदिकविको पगरी गुथाएको यथार्थ सार्वजनिक हुँदै छ। यसबारे बाबुराम आचार्य, ज्ञानमणि नेपाल, गणेशबहादुर प्रसाईंहरूले अध्येताको काम गरेको उदाहरण छ। कृष्णचन्द्र सिंह प्रधानले भनेझैँ कोतपर्व र अन्य पर्वमा नरबलि दिने क्रम जारी रहेको बेला 'रिस राग कपट् छैन जहाँ' (अलकापुरी कविता मोतीराम भट्टको सट्टा उनले नै लेखेको भए) कविता लेख्न सक्ने मान्छे कति महान् कवि होलान्, सहजै अनुमान गर्न सकिन्छ। प्रधानको भाषामा 'नालीमा अमरावती देखेर भानुभक्त बन्ने मान्छे'हरूबीच भानुभक्तको जीवन र रचनाबारे, उनलाई आदिकवि बनाउनेको विचारबारे प्रश्न गर्नु मिथकीय संसारमा बस्नेका लागि स्वीकार्य हुँदैन।

मृत्युपछि पुनः जीवित बनाउने कोसिस गरियो

प्रत्युष वन्त, अध्येता

आफ्नो समयमा भानुभक्त आचार्यले दिएको योगदान एक ठाउँमा छ। तर, पछिल्लो समय भानुभक्त र उनको पदवी 'आदिकवि'को खेती गर्ने प्रवृत्ति मौलायो। उनको मृत्युपछि विशेषगरी सन् १९४० को दशकपछि भानुभक्तको खेती गर्नेले उनलाई पुनः जीवित बनाउने प्रयास गरेका छन्। नेपालको प्रमुख राष्ट्रिय इतिहासमा भानुभक्तलाई नेपाली संस्कृतिको केन्द्र भागमा राखिएको छ। यो शताब्दीका कैयौँ एजेन्ट तथा संघसंस्थाले उनलाई नेपाली आदिकवि र नेपालीबीचमा एकता कायम गर्ने दोस्रो व्यक्तिका रूपमा व्याख्या गरेका छन्। सोसियल टेक्नोलोजी, जस्तै प्रिन्ट तथा अडियो–भिडियो माध्यमबाट पनि उनलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्ने प्रयास गरियो। पछि शक्तिशाली माध्यमहरू पाठ्यक्रम, पोस्टर तथा चलचित्रमा समेत उनकै प्रचार गरेर उनलाई प्रत्येक नेपालीको पुर्खाका रुपमा व्याख्या गर्न खोजियो।

मानिसहरू केका लागि भानुभक्तको खेती गर्न लागिरहेका छन्? यसले उनीहरूलाई के फाइदा हुन्छ, हामीले प्रश्न सोध्न सक्नुपर्छ। यसका पछाडि दुई कारण हुन सक्छन्। जसले सुरुवाती दिनमा काठमाडौंबाट भानुभक्तको खेती सुरु गरे, यसका पछाडि राष्ट्रियता र संस्कृतिका प्रतीकका रूपमा रहेका भानुभक्तमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच बनाउन सकिन्छ भन्ने सोचले काम गरेको हुन सक्छ। जसले नेपालका अन्य क्षेत्रबाट भानुभक्तको खेती गरिरहेका छन्, यसका पछाडि के अनुमान गर्न सकिन्छ भने उनीहरू निश्चित क्षेत्रमा राष्ट्रिय संस्कृतिको एजेन्टका रूपमा आफूलाई देखाउन चाहन्छन्। यसैको माध्यमबाट उनीहरू राष्ट्रियस्तरमा आफ्नो उपस्थिति देखाउन चाहन्छन्। मानिसहरूले आफ्नो फाइदाका लागि भानुभक्तको खेती गर्न खोजेको देखियो।

प्रकाशित: ३१ असार २०७४ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App