coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

दिदीबहिनी परिवार

मनोज घर्तीमगर
बाजेबज्यै, आमाबुवा, दाजुभाई, दिदी बहिनी, नातीनातिनी । नेपाली परिवेशमा सामान्यतया यति सदस्यले एउटा परिवार बन्छ । धेरैलाई यस्तो परिवार नौलो लाग्दैन । तर, पोखरामा एउटा यस्तो परिवार छ, जो सबैलाई युनिक लाग्छ । जहाँ तीन सदस्यले परिवारको परम्परागत नेपाली बुझाइलाई भत्काइदिएका छन् । जसलाई हामी दिदीबहिनी परिवार भन्न सक्छौं । दिदीबहिनीको यहि परिवारलाई निरन्तरता जेठी लक्की, माइली डिक्की र कान्छी निक्की कार्कीले वैवाहिक झमेला झेल्न चाहेनन् । सँगसँगै हिंडेर उनीहरुले नेपाली परिवारको पूरानो मान्यता भत्काउने मात्रै होइन, पोखराको पर्यटनमा नयाँ आयाम थपेका छन् ।
दिदीबहिनी परिवारको कथा दार्जिलिङबाट सुरु हुन्छ । त्यहाँको चियाबारी आसपास जेठी लक्कीको बाल्यकाल बित्यो । चियाको मुनाजस्तो कलिलो उनको ज्यानलाई रोगब्याधीले सताइरहन्थ्यो । जतिबेला उनका बुवाले कठोर भएर सहन सल्लाह दिन्थे । यति मात्रै होइन, प्रत्यक्ष नभने पनि घुमाउरो भाषामा बेला बेला छोरी भएपछि छोरासरह हुनुपर्ने संकेत गर्थे । ‘छोरी भए पनि अर्काको छोराको भविष्यमा निर्भर नहुनू,’ लक्कीक बुवा भन्थे, ‘आत्मनिर्भर भएर बाँच्नू ।’ खानलाउनको दुःखै नहुने सुखी परिवारको बाल्यकालमा भविष्यका बारेमा त्यतिविधी चिन्ता थिएन । जब स्नातकको पढाइ सकियो लक्की कार्कीलाई घरभित्रै लुकिरहनुभन्दा बाहिर निस्कनुमा आनन्द हुन थाल्यो । संयोग कस्तो भने, के गरुँगरुँ भएको फुर्सदको बेला पर्वतारोहणको तालिम खुल्यो । उनी भर्ना भइन् । घरभित्रको संसारमा मात्रै रमाइरहेकी उनलाई त्यो तालिमले मनभित्र आत्मविश्वासको दीयो बालिदियो ।
पर्वतारोहरण तालिमले बालिदिएको आत्मविश्वासको दीयो बुवा कर्णबहादुर बितेपछि झ्याप्पै निभेजस्तो भयो । परिवारै रन्थनियो । भविष्य उज्योलो हुने हो कि अँध्यारो भन्ने चिन्ताले लक्की हैरान भइन् । २०४९ तिरको एक झिसमिसे बिहान जेठी लक्की, माइली डिक्की र कान्छी निक्कीले आमा लीलामायासँगै दार्जिलिङ छाड्ने अप्रत्यासित निर्णय गरे । भन भाती बनाएर कुम्लोकुटुरो बोके । कर्म गर्न दार्जिलिङ पुगेका बाबुको जन्मथलो रामेछाप जान सम्भव थिएन । काठमाडौंजस्तो ठूलो सहरमा मन रमाउँदैन भन्ने पक्का थियो । विकल्प देखियो–पोखरा, गाउँगाउँजस्तो र सहरसहरजस्तो पनि । मौसम पनि उस्तैउस्तै । पोखरा आएर जहाँ डेरा खोजे । त्यहीं उनीहरुले रेस्टुरेन्टको सम्भावना देखे । दार्जिलिङका ठिटीहरु अंग्रेजीमा गज्जबसँगै जीब्रो फट्कार्थे । छरछिमेकले भन्न थाले, ‘यस्तो अंग्रेजी जान्ने त लेकसाइड जानू नि ।’ बेलाबेला दिदीबहिनीबिच छलफल चल्थ्यो । ‘छरछिमेकले भनेको कुरा ठिकै हो जस्तो लाग्यो र लेकसाइड आएर गेस्ट हाउस र रेस्टुरेन्ट खौल्यौं,’ लक्कीले सम्झनाको डायरीका पाना पल्टाइन् । अंग्रेजीमा गजबले कुरा गर्नसक्ने तीनबैनीसँग विदेशी पर्यटकहरु मन खोलेर कुरा गर्थे । नेपाल घुम्न आएका विदेशी युवती टे«किङ जाँदा केटामान्छेले कुदृष्टि राखेको र दुव्यर्वहार गर्न खोजेको भन्ने पर्यटकका कुराले तीनबैनीका आँखा रसाए । ‘तिमी दिदीबहिनी हामीसँग हिँड् न,’ त्यस्ता पर्यटकको प्रस्ताव नाई भन्न सकेनन् । लक्कीले पदयात्रामा पहिलो पाइला सारिन् । अनि दिदीबहिनीले पालैपालो हिमाली पाखाका कुनाकन्दरा चहार्दै विदेशी डुलाउन थाले । ‘दार्जिलिङमा माउन्टेनरिङको टे«निङ लिएकाले डाँडाकाँडा डुल्न धेरै सजिलो भयो,’ लक्कीले सुनाइन् । पदयात्रा गर्न आउने पर्यटकमध्ये थुप्रै महिलाले आफूजस्तै साथी खोज्ने बुझेपछि आफैंले टे«किङ एजेन्सी खोल्ने आइडिया र आँट आयो तीनबैनीलाई । पदयात्रामा विदेशी घुमाउन थालेको चार वर्षपछि १९९८ मा उनीहरुले जन्माए, थ्री सिस्टर्स एडभेन्चर टेकिङ एजेन्सी ।
अन्नपूर्ण क्षेत्रको सेरोफेरोमा पर्यटक डुलाउँदा विदेशीसँगको संगतले उनीहरुको देशकाबारेमा त थाहा पाए नै त्योभन्दा धेरै आफ्नै गाउँठाउँलाई मसिनो तरिकाले अध्ययन गर्ने मौका पाए । हेलो, हाई, गुड मर्निङ र गुड डे भन्दै हिँड्दा आफूजस्तै धेरै दिदीबहिनीको दिन गुड नभएको देखे । ‘अरु दिदीबहिनीलाई नि हामीजस्तै बनाउन पाए हुन्थ्यो भनेर सोच्यौं,’ निक्की भन्छिन् । निजी कम्पनी थ्री सिस्टर एडभेन्चर खोलेको वर्षदिनपछि नै ‘महिला सशक्तीकरण नेपाल’ खोलेर गाउँघरका महिलालाई टे«किङबारे तालिम दिन थाले ।
सहर बन्ने सुरसार गरेको तर, गाउँले छेकछन्द छोडिनसकेको पोखरामा आजभन्दा २०/२२ वर्षअघि केटीकेटी मिलेर गोरा घुमाउँदै हिँड्नु छरछिमेकलाई पच्दैनथ्यो । ‘सीताजस्ती देवीलाई बात लाग्यो भने हामी त मान्छे हौं भनेर सहन्थ्यौं,’ लक्किले विगतको कालोचित्र सम्झिँदै भनिन्, ‘हामी आफ्नो काममा एकचित्त भएर लागिरह्यौ ।’ विगतका दिनलाई फर्केर हेर्दा बहिनी निक्कीलाई अहिले घरिघरी हाँसो उठ्छ, ‘ती दिन अरु त अरु आफैंले टे«किङ लगेका मजदुरले पनि टेर्दैनथे । अरुको त कुरै छाडौं’ कम्पारै तताउने अर्काे सम्झना पनि छ उनीसँग, ‘बदनाम गराउन कसैले एकजनालाई जाँड खुवाएर राति होटलमा पठाइदियो ।’ पाहुना सुतेको कोठामा रातभरि दुःख दिएपछि छरछिमेक र हितैषीहरूलाई हारगुहार गर्नुपर्यो ।
बाटोघाटो दोबाटोभरि लान्छनैलान्छना पाउँदा कहिलेकाहीं त खुट्टा राख्ने ठाउँ नभेटेजस्तो लाग्थ्यो । बरु स्कुल चलाएर बसौं क्यारे भनेर काठमाडौंतिर जान मन पनि गरे । ‘तीन दिदीबहिनी भएकाले एकअर्काेलाई साहस दिन्थ्यौं,’ दिदीबहिनी परिवारको दरिलो पक्षबारे निक्की बोलिन्, ‘एकजनामात्रै भएको भए टिक्न सकिन्थ्यो । ओदानजस्तो तीन दिदीबहिनी मिलेपछि जस्तो अप््ठयारा पनि सामाना ग¥यौं ।’ जीवनमा सबै अध्यारा पाटा मात्रै हुँदैनन् । दिदीबहिनी परिवारका रमाइला पाटा पनि थिए । महिलाले मात्रै एजेन्सी चलाएको देखेर धेरै पर्यटकले हौस्याउँथे । ‘अरुभन्दा छुट्टै तरिकाले काम गर्ने र फरक पहिचान भएकाले अरुसँग कहिल्यै प्रतिस्पर्धा गर्नुपरेन,’ निक्की भन्छिन् ।
पोखरा लेकसाइड हल्लनचोकबाट फेवाताल किनारको सडकहुँदै पश्चिमतिर जाँदा खपौंदीमा छ तीन दिदीबहिनीको टे«किङ एजेन्सी थ्री सिस्टर्स । पहिलो तलाबाट एजेन्सीको काम हुन्छ, जहाँ माइली र कान्छी बहिनी व्यावसायिक काममा व्यस्त हुन्छन् । पाहुनाहरुसँग डिल गर्नेदेखि व्यवसय प्रवद्र्धनमा उनीहरुको ध्यान हुन्छ । उपल्लो तलाको महिला सशक्तीकरणमा व्यस्त हुने चाहिँ ठूलीदिदी लक्की हुन् । साथीसंगीको भेटघाटसँगै व्यावसायिक प्रवद्र्धनका लागि डिक्की विदेशतिर पुगिरहन्छिन् । एउटी बहिनी बाहिर र अरु दुई घरतिर हुँदा व्यवसाय पनि सहज हुने उनीहरूको अनुभव छ । अहिले त झन् अमेरिकाबाट फर्केर भदैनी अर्चनाले पनि होस्टैमा हैंसे गरिरहेकी छिन् ।
तीन दिदीबहिनी जीवनको ४० देखि ५० को दशकभित्र यात्रा गरिरहेका छन् । यो उमेरसम्म आइपुग्दा एकजनाले पनि जीवनमा विपरीत लिंगी जीवनसाथीको खाँचो महसुस गरेका छैनन् । ‘व्यवसामै यसरी लागिएछ कि बिहे गर्ने सोच नै आएन,’ लक्की भन्छिन्, ‘बिहे गर्ने भनेको परिवार जोड्ने हो । हाम्रो यति राम्रो दिदीबहिनीको परिवार छ जसले गर्ने अर्को फरक परिवार बनाउनेबारे कहिल्यै सोचिएन ।’ ऊ बेला र अहिले पोखराको पर्यटनका धेरैथरी दृश्य परिवर्तन भएका छन् । त्यसमा एउटा हो यो क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता । अहिले महिलाको सहभागिता र सक्रियता बाक्लो छ भन्दा लक्की गर्वित हुनुका पछाडि कारण छ, किन कि तीमध्ये थुप्रै उनकै तालिम र प्रशिक्षणबाट हुर्केबढेका हुन् । ‘गाउँमा घाँसदाउरा गर्ने दिदीबहिनीलाई टे«किङमा गाह्रो हुँदो रहेनछ,’ लक्की भन्छिन्, ‘उनीहरू पहिल्यै डाँडाकाँडासँग अभ्यस्त भएकाले सजिलो भयो ।’ उनीहरुले आफ्नो अभियानमा डोल्पा, जुम्ला, रुकुम, म्याग्दी, बाजुरालगायत दुर्गमका महिलालाई समेटेका छन् । मर्न बाहेक विकल्प छैन, तैपनि छोराछोरीको मायाले मर्न सकिन भन्दै आउने महिला पर्यटनमा लागेपछि देशविदेश पुगेका छन् । ‘फटाफट  अंग्रेजी बोलेर पैसा कमाउन थालेपछि पहिला छोडेका लोग्ने पनि लिन आएको देख्दा खुसी लाग्छ,’ लक्की भन्छिन् । व्यवसाय सँगसँगै महिलाहितमा लागेकैले देशी विदेशी विभिन्न संघसंस्थाले टेकिङ एजेन्सीमा थ्री सिस्टर्सलाई थुप्रै अवार्ड दिइसकेका छन् । यसले पनि उनीहरूको हौसला थपिएको छ ।

 

प्रकाशित: ३१ असार २०७४ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App