coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

लाइसेन्स निकाल्न डाक्टरका कर्तुत : ज्यान मार्ने धम्कीसम्म

काठमाडौं- निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाइसेन्स परीक्षामा फेल भएपछि पास गराइदिन फोन आएको खुलासा गरे। थापाका अनुसार उनलाई त्यसरी भनसुन गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो।

विभिन्न ३४ विशेषज्ञ विधाका दुई सय ३५ चिकित्सक परीक्षामा सामेल भएकोमा ७१ मात्रै उत्तीर्ण अर्थात् ७० प्रतिशत फेल भएपछि चिकित्सकको अवस्था र पास हुन गरेको पछिल्ला प्रयास बाहिरिएको थियो।

थापाकै भनाइमा उनले 'डाक्टरजस्तो संवेदनशील पेसा अपनाउने पेसाकर्मीलाई भनसुन गरेर पास गर्न हुन्न' भनेर कसैका लागि भनसुन गरिदिएनन्। तर धेरै राजनीतिज्ञले यस्ता भनसुन काउन्सिलका अधिकारीसम्मै पुर्‍याउँछन्।

काउन्सिलका अधिकारीका अनुसार दर्जनौं नेता र उच्च पदस्थहरू चिनेजानेकाका लागि भनसुन र आफन्तका लागि त सकेसम्म चलखेल नै गर्नसमेत तम्सिएका थुपै उदाहरण छन्। 'जतिपटक फेल भएको मान्छे हो उति दबाब र भनसुन बढाउँदै लान्छ,' काउन्सिलका पूर्वउपाध्यक्ष डा. शशि शर्माले भने, 'ज्यान मार्ने धम्की, अदालतमा मुद्दादेखि केही गर्न बाँकी राख्दैनन्।' डा. शर्माका अनुसार उनीमात्रै होइन उनकी पत्नीको मोबाइलमा समेत यस्ता धम्कीपूर्ण एसएमएस आएको थियो।

भनसुन मात्रै होइन, एमबिबिएस वा पोस्टग्र्याजुएसन (पिजी) पास गरेपछि पास गरेकै विषयका आधारमा सोधिने प्रश्न आउने लाइसेन्स परीक्षासमेत केही डाक्टरका लागि फलामका चिउराजस्तै बनेका छन्।

अघिल्लो शनिबार विभिन्न ३४ विशेषज्ञ विधाका दुई सय ३५ चिकित्सक परीक्षामा सामेल भएकोमा ७१ मात्रै उत्तीर्ण अर्थात् ७० प्रतिशत फेल भएपछि चिकित्सकको अवस्था र पास हुन गरेको पछिल्ला प्रयास बाहिरिएको थियो। फेल हुनेमा विदेशका बढी देखिए पनि नेपालका कलेजबाट पिजी गर्नेमा पनि पास प्रतिशत ४५ मात्रै छ। एमबिबिएसतर्फ औसतमा ५० प्रतिशत उत्तीर्ण दर छ।

स्नातक (एमबिबिएस) तथा स्नातकोत्तर (पिजी/एमडी/एमएस) दुवै तहमा पासपछि लिइने लाइसेन्स परीक्षामा एउटा चिकित्सकले दैनिक अभ्यासमा जान्नैपर्ने सामान्य ज्ञानका कुरा मात्रै सोधिने भए पनि यति धेरै अनुत्तीर्ण हुने गरेसँगै नेपाल भित्रिरहेका चिकित्सकको गुणस्तरमा गम्भीर प्रश्न उठ्ने गरेको छ।

काउन्सिल स्रोतका अनुसार एमबिबिएस पढेपछि काउन्सिल दर्ताको परीक्षामा एकैजना विद्यार्थी १२ वर्षदेखि ३१ पटकसम्म लाइसेन्स परीक्षा पास हुन सकेका छैनन्। त्यस्तै पिजीमा ६ पटकसम्म फेल भएका उदाहरण छन्।

गत वर्ष काउन्सिलकै लाइसेन्स परीक्षामा सरोज यादव र नवीनकुमार यादवले 'खेताला परीक्षार्थी' लगाएको खुलेको थियो। सरोज १३ पल्ट र नवीन ७ पल्ट परीक्षामा असफल भएपछि पैसा खुवाएर अर्कैलाई परीक्षा दिन पठाएका थिए।

त्यसो त युजीका परीक्षामा बारम्बार फेल भएका विद्यार्थी पास नगराइदिए ज्यान लिने भन्दै काउन्सिलका उच्च अधिकारीलाई एसएमएससमेत गरेको घटना सार्वजनिक भएको थियो।

नेपाल मेडिकल काउन्सिका अनुसार सन् २०१२ मा लाइसेन्स परीक्षा सुरु गर्ने तयारी गर्दा थुप्रै यस्ता विशेषज्ञ परीक्षा विरोधमा उत्रिएको पूर्वउपाध्यक्ष डा. शर्मा बताउँछन्। त्यतिबेला काउन्सिका पदाधिकारीलाई कार्यलयमै थुन्नुका साथै परीक्षाको सूचना निकालेपछि तत्काल परीक्षा रोक्न अदालतमा रिटसमेत हालेका थिए। 'यी त बाहिर देखिएका घटना मात्रै  हुन्, आत्महत्या गर्छु, बिहे भएन भनेर रोइकराइ गर्दै कति आउँछन् कति,' लामो समय काउन्सिका सदस्य रहेका एक चिकित्सकले भने, 'राजनीतिक दबाब उत्तिकै आउँछन्।'

काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीले नाम चलेको एउटा स्कुलमा भर्ना लिन त ठूलाठूला राजनीतिक सोर्सफोर्स आउने देशमा काउन्सिलमा यस्ता दबाब आउनु स्वाभाविक भएको बताए। 'हामीले परीक्षालाई निष्पक्ष र विवादरहित सञ्चालन गर्ने हो,' उनले भने, 'कसैले बुझ्दैन र भनसुन गर्छ भने उसको काम हो।'

नेपालमा तीनवर्षे अध्ययन पूरा गरे पनि विशेषज्ञका रूपमा अभ्यास गर्न काउन्सिलले सन् २०१५ को फेबु्रअरीदेखि लाइसेन्स परीक्षाको व्यवस्था गरेको थियो। स्नातक तह (एमबिबिएस) तर्फ भने २०५७ सालदेखि परीक्षा सुरु भएको थियो।

सुरुमा नेपालमा अभ्यास गरिरहेका विद्यार्थीले विदेशी विश्वविद्यालयमा पास गरेको भन्दै काउन्सिलमा दर्ता गर्न ल्याएपछि शंका लागेर पासपोर्ट मागेर हेर्दा विदेशै नगरएको देखिएपछि काउन्सिलले अन्तर्वार्ता सुरु गरेको थियो।

पछि सर्वोच्चमा मुद्दा परेपछि सर्वोच्चले ती चिकित्सकलाई दर्ता खोलेर अबदेखि प्रक्रिया पूरा गरेर परीक्षा लिनु भन्ने आदेश दिएको थियो। काउन्सिलले परीक्षा सुरु गर्न सूचना निकालेपछि दुई वर्षसम्म अदालतमा मुद्दा चलेकै कारण पिजी लाइसेन्स ढिलाइ भएको थियो। पछि काउन्सिलले ऐननियम परिमार्जन गरेर पिजीमा लाइसेन्स परीक्षा सुरु गरेको थियो। पिजीमा लाइसेन्स परीक्षा सुरुमा वर्षमा दुई पटक र यस वर्षदेखि वर्षमा तीन पटक यस्तो परीक्षा हुन्छ।

 'पटकपटक जाँच दिँदा पनि पास हुन्नन्,' काउन्सिल प्रवक्ता डा.अधिकारीले भने, 'अझै गहिराइमा गएर यसको कारणको विश्लेषण जरुरी छ।'

विद्यार्थीले लाइसेन्स परीक्षामात्रै पास गर्न पनि अपराधसम्मको बाटो समात्न थाल्दा कलेजहरू अझै गुणस्तरीय विद्यार्थी छान्नमा गम्भीर नभएको भनाइ विज्ञहरूको छ। सुरुमा एमबिबिएसपछिका डाक्टरमा ७० प्रतिशतसम्म अनुत्तीर्ण हुन थालेपछि सुरुमा विदेशमा पढ्न जानसमेत नेपालको कुनै विश्वविद्यालयको परीक्षा पास हुनुपर्ने नियम लगाएको थियो। त्यसमा पनि चिकित्सकले नै अवरोध गरेका थिए।

सन् २०१२ सम्म पिजी पढेको सर्टिफिकेट लिएर आएपछि चिकित्सकहरू स्वतः काउन्सिलमा दर्ता हुने गरेका थिए। परीक्षा लिन थालेपछि विशेषज्ञ पनि क्षमता नभएको भित्रिरहेको देखिएपछि काउन्सिलले विदेश जाने विद्यार्थीमा समेत कडाइ गर्ने जनाएको छ। अब अर्को वर्षदेखि विदेशमा पिजी पढ्न जादाँसमेत नेपालको कुनै न कुनै विश्वविद्यालयको परीक्षा पास गर्नुपर्ने हुन्छ। 'अहिले पढ्न जाने अनुमति लिँदा नै बाहिर पढ्न जाने विश्वविद्यालयको पाठ्यक्रम बुझाउँछन्, प्रश्नपत्र निकाल्दा त्यहाँबाट पर्छन् तर पनि किन फेल भइरहेका छन्,' डा. अधिकारी भन्छन्, 'मूल कारण अभिभावकको दबाब र आर्थिक बलका भरमा जबरजस्ती डाक्टर बन्न खोज्दाकै परिणाम हो।' 

विज्ञहरूका अनुसार कलेजका तर्फबाट हेर्दा विद्यार्थीको जथाभाबी छनोट अहिले पनि कमजोर नतिजाको कारक हो। त्यसबाहेक देखासिकीका लागि क्षमता नभएका छोराछोरीलाई पनि जुन देशमा पठाएर भए पनि डाक्टर बनाउन खोज्ने अभिभावकको लहड, शिक्षक कमजोर हुनु, कलेजमा पर्याप्त पूर्वाधार एवं उपकरण नहुनु र पर्याप्त मात्रामा बिरामी जाँच्न र सिक्न नपाउनु पटकपटक अनुत्तीर्ण हुनुको कारण हो।

प्रकाशित: १ श्रावण २०७४ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App