७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप २०११ फाइनलमा मिलेमतोको आशंका

कोलम्बो- श्रीलंकाका पूर्वकप्तान अर्जुना रणतुंगाले  सन् २०११ को विश्वकप क्रिकेटको फाइनलमा खेलमिलेमतो भएको भन्दै छानबिन गर्न माग गरेका छन्। वाङ्खडे स्टेडियममा सम्पन्न उक्त  खेलमा श्रीलंका भारतसँग ६ विकेटले पराजित भएको थियो।

५३ वर्षे रणतुंगाले फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै श्रीलंकाले ६ विकेटले फाइनल खेल गुमाउँदा आफू अचम्मित भएको बताएका छन्।

‘फाइनल खेल भइरहँदा म भारतमै थिएँ र कमेन्ट्री गरिरहेको थिएँ। जब हामी हार्‍यौं तब म चिन्तत भए र मलाई यसमा शंका छ,’ रणतुंगाले भने, ‘हामीले सन् २०११ को फाइनलमा श्रीलंकालाई के भएको थियो भनेर अनुसन्धान गर्न आवश्यक छ। म सबै कुरा अहिले सार्वजनिक गर्न चाहन्नँ तर म यसबारे सत्यतथ्य बाहिर ल्याउनेछु। यस विषयमा छानबिन हुन जरुरी छ।’

खेलाडीको नाम नलिँदै रणतुंगाले खेलाडीहरूले जतिसुकै कुरा लुकाउन खोजे पनि त्यो ‘कलंक’ बाहिर आउने बताए।

श्रीलंकाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रनको योगफल खडा गरेको थियो। भारतका स्टार ब्याट्सम्यान सचिन तेन्दुल्करलाई १८ रनमा क्याच गरेपछि श्रीलंकाले खेल नियन्त्रणमा लिएको थियो। तर त्यसपछि खराब बलिङ र फिल्डिङका कारण खेल श्रीलंकाको हातबाट फुत्किएको थियो।

फाइनल खेल गुमाएपछि श्रीलंकाका सञ्चारमाध्यमले खेलमिलेमतो भएको बताएका थिए तर रणतुंगाअघि कसैले पनि औपचारिक रूपमा यस खेलको छानबिन गर्नुपर्छ भनेर माग गरेका थिएनन्।

रणतुंगाका प्रवक्ता थामिरा मञ्जुले आफूहरूले श्रीलंकाको क्रिकेट ओरालो लागेको भन्दै यस विषयमा राष्ट्रपति मैत्रीपाला श्रीसेना र प्रधानमन्त्री रणिल विक्रिमसिंगेलाई पत्र लेख्न लागेको बताए।

गत साता पुछारको टोली जिम्बाब्बेविरुद्ध घरेलु मैदानमा सम्पन्न पाँच एकदिवसीय खेलको शंृखला ३–२ ले गुमाएपछि त्यसको चर्को विरोध हुँदै आएको छ।

गत वर्ष भ्रष्टाचारविरुद्धको अनुसन्धानमा सहयोग नगरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले श्रीलंकाका क्रिकेट आधिकारी जयानन्द वार्नाविरामाथि ३ वर्षको प्रतिबन्ध लगाएको थियो।

घरेलु क्रिकेटमा समेत २ वर्षको प्रतिबन्धमा परेका पूर्व टेस्ट खेलाडी वार्नाविरामाथि खेलमिलेमतोको आरोप लागेको थियो। आइसिसीले सोधपुछका लागि बोलाए पनि उपस्थित नभएपछि उनीमाथि आइसिसीले प्रतिबन्ध लगाएको थियो।

विगतमा पनि श्रीलंकाका खेलाडी तथा अम्पायरलाई खेलमिलेमतोको आरोप लाग्दै आए पनि आरोप प्रमाणित हँुदै सजाय पाउने वार्नाविरा उच्च अधिकारी हुन्।

प्रकाशित: १ श्रावण २०७४ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App