८ वैशाख २०८१ शनिबार
अर्थ

भुटानको जहाज भाडामा नलिने निर्णय

काठमाडौं- सरकारले हवाई नीतिको अस्पष्टता सुल्झाउन नसकेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई भुटान एयरलाइन्सको एकथान जहाज भाडामा नलिन निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले 'भुटान एयरलाइन्सको जहाज भाडामा ल्याए भोलि विवाद उत्पन्न हुन्छ' भन्दै जहाज नल्याउने निर्णय शुक्रबार गरेका थिए। पर्यटन सचिव अधिकारी निगम सञ्चालक समितिका अध्यक्ष पनि हुन्।

निगमले आफ्नो एकथान बोइङ ७५७ जहाज नियमित मर्मत (सि–चेक) मा सिंगापुर जाने भएपछि भुटानको जहाज भाडामा लिन ऊसँग सम्झौता गरेको थियो। तीनपटकसम्म आह्वान गरिएको 'ग्लोबल टेन्डर' मा भुटान एयरलाइन्स र युक्रेनको एक वायुसेवाबाट टेन्डर परेको थियो। दुईमध्ये सबैभन्दा राम्रो भुटान एयरलाइन्स भएपछि निगमले उसलाई छानेको थियो।

निगमको ग्लोबल टेन्डर जितेको भुटानले दिन लागेको जहाज १६ वर्ष ८ महिना उमेरको छ। मुलुकको हवाई नीतिमा भने '१५ वर्षभन्दा पुरानो जहाज आयात गर्न नपाइने' उल्लेख छ। यही बुँदा अर्थ्याउन नसकेको पर्यटन मन्त्रालयले अन्त्यमा जहाज भाडामा नलिने निर्णय गरेको हो।

'पर्यटन मन्त्रालयले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ र हाम्रो जहाज पनि मर्मत गर्न सिंगापुर गइसकेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, 'आगामी डेढदेखि दुई महिनासम्म हाम्रो अन्तर्राष्ट्रिय उडान ४६ प्रतिशत कटौती भएको छ।'

उनका अनुसार निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न ३० वर्ष पुरानो १ सय ९० सिट क्षमतायुक्त एकथान 'बि७५७–२००' र १ सय ५८ सिटे दुईथान 'ए३२०–२००' सिरिजका जहाज छन्। तीमध्ये कलसाइन '९एन–एसिबी' भएको बि७५७ जहाज मर्मत गर्न गत बिहीबार राति सिंगापुर गएको छ।

तीन जहाजबाट सातामा ३७ उडान गर्दै आएको निगमले एउटा जहाज नभएपछि सातामा १७ उडान कटौती गरेको छ। जसअनुसार कतारको दोहाका लागि सातामा चार, मलेसियाको क्वालालम्पुर तीन, भारतका नयाँदिल्ली सात र बैंगलोरका लागि तीन उडान कटौती गरिएको छ।

'डेढदेखि दुई महिनासम्म चार गन्तव्यमा उडान कटौती हुँदा ७० करोड रुपैयाँबराबरको आम्दानी गुम्ने छ,' सम्बद्ध अधिकारीले भने, 'त्यसबाहेक बि७५७ मर्मतमा जाने अघिल्लो दिनसम्ममा हाम्रा ६ हजार यात्रुलाई अन्य वायुसेवा कम्पनीको जहाजबाट पठाउनुपर्‍यो, जसबाट सिधै १५ करोड रुपैयाँ आम्दानी गुमायौं।'

उनका अनुसार एउटा जहाज नभएपछि दोहा, क्वालालम्पुर, दिल्ली र बैंगलोरका लागि गरिने रातिका सबै उडान कटौती गरिएका छन्। यी गन्तव्यमा ए३२० जहाज पठाउन सकिने भए पनि पाइलट अभावका कारण हङकङ र बैंकक उडानमा समस्या सिर्जना हुने छ। सबै मिलाउन सके सातामा रातिको एउटा उडान गर्न सकिएला तर, त्यसको कुनै औचित्य हुँदैन।

गत बिहीबार बि७५७ जहाजले यहाँबाट १ सय ८४ यात्रु लिएर क्वालालम्पुर गएको थियो र त्यहाँबाट मर्मतका लागि सिंगापुर गएको थियो। जहाज अब न्यूनतम ४५ देखि अधिकतम ६० दिनसम्म उतै बस्ने छ। निगमले भने त्यसभन्दा अघि नै जहाज ल्याउने प्रयास गर्ने जनाएको छ्र।

हवाई नीति २०६३ को बुँदा ५.२ मा 'उडान सुरक्षा' शीर्षक अन्तर्गत 'प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ७५ प्रतिशत पूरा गरेको वा ४५००० प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिला हुन आउँछ त्यस्ता वायुयानहरू आयात गर्न निषेध गरिने छ' उल्लेख छ।

उक्त बुँदालाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र तालुक मन्त्रालय पर्यटनले अर्थ्याउन नसक्दा निगमले आइतबार (साउन १) देखि दैनिक १ करोड १६ लाख रुपैयाँबराबरको आम्दानी गुमाउने छ। नीतिमा उल्लेख गरिएको बुँदाका आधारमा निगमलाई जहाज ल्याउन स्वीकृति दिँदा प्राधिकरणलाई नै अप्ठेरो पर्ने भन्दै उसले मन्त्रालयमा चिठी लेखेको थियो।

तर, मन्त्रालयले भने मन्त्री नियुक्त नभएको र सचिव विदेश भ्रमणमा रहेका कारण कुनै निर्णय गरेको थिएन। पर्यटन सचिव अधिकारी फर्किनासाथ उनले भुटानको जहाज भाडामा नल्याउने निर्णय गरेका थिए। 

निगमका अधिकारीहरूले हवाई नीतिमा 'आयात' भन्ने शब्द उल्लेख गरेको विषयलाई भाडामा जोड्न नहुने तर्क गर्दै आएका थिए। 'ऐनले स्पष्ट रुपमा आयात भन्ने शब्द उल्लेख गरेको छ,' निगमका एक अधिकारीले भने, 'प्राधिकरणले मानोमानी रूपमा कानुन व्याख्या गरेर निगमलाई अप्ठेरो पार्ने काम गर्‍यो र पर्यटन मन्त्रालयले पनि त्यसैलाई सही थाप्दै अन्तिममा जहाजै नल्याउने निर्णय गरिदियो जसले गर्दा निगम अप्ठेरो अवस्थामा परेको छ।'

सबैभन्दा धेरै यात्रु हुने ती ठाउँमा आफ्नो जहाज जान नपाउँदा निगमलाई शाख जोगाउन समेत अप्ठेरो पर्न सक्ने निगमका अधिकारी बताउँछन्। 'दुई महिनासम्म ती गन्तव्यमा उडान भर्न नपाउँदा निगमलाई वर्षौंसम्म असर पर्न सक्छ,' ती अधिकारीले भने, 'निगमको विश्वासनीयतामा आँच आउने छ।'   

प्रकाशित: १ श्रावण २०७४ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App