७ वैशाख २०८१ शुक्रबार
अर्थ

क्लिन फिड नीतिमा पछि हट्यो सरकार

काठमाडौं- विज्ञापनरहित विदेशी च्यानल (क्लिन फिड) नीति लागू नगर्न दबाब आइरहेको बेला सरकार अन्तिम समयमा नीति लागू गर्नबाट पछि हटेको छ। कानुन संशोधन गर्नुपर्ने र थप तयारी नपुगेको भन्दै हालको लागि उक्त नीति स्थगित गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

सरकारले साउन १ देखि मुलुकमा विदेशबाट आउने सम्पूर्ण च्यानलमा क्लिन फिड नीति लगाउने घोषणा गरेको थियो। दुई दिनअघि नीति लागू गर्न सम्बन्धित निकायलाई सूचित गरेको मन्त्रालयले शुक्रबार बेलुका उक्त नीति हालको लागि स्थगित गरिएको सूचना जारी गरेको थियो। दुई दिनमै निर्णय उल्टाउने यो घटनाले सरकारी अधिकारीहरुको अदुरदर्शिता र हचुवा कार्यशैली प्रस्ट पारेको छ।

मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन सम्बद्ध संघ–संस्था र भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिन फिड नीति लागू नगर्न सरकारलाई दबाब दिएका थिए। इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले मन्त्रालयमै पुगेर यो नीति नलगाउन 'लबिङ' गरेको थियो।  

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने नीतिमा उल्लेख गरिएका प्रावधान लागू गर्न केही कानुन संशोधन गर्नुपर्ने भएकाले हालको लागि स्थगन गरिएको बताए। 'यस सम्बन्धी कानुन संसोधन गर्नुपर्ने भएकाले थप केही समय लाग्ने भएको छ,' शनिबार नागरिकसँग ढकालले भने, 'यो हालको लागि स्थगन मात्र गरिएको हो। खारेज गरिएको होइन्।' उनले सम्पूर्ण तयारी भए पनि यो नीति लागू गर्न राष्ट्रिय प्रसारण सम्बन्धी कानुन संशोधन नभएकाले थप काम गर्नुपर्ने बताए।

'अहिले हतार गरेर नीति लागू गर्ने तर कार्यान्वयनमा आएन भने राम्रो हुँदैन,' ढकालले भने, 'कसैले टेरेन भने सजाय गर्ने कानुन छैन। प्राविधिक रुपमा केही तयारी गर्नुपर्ने छ।'

नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले भने सरकारले नीति लागू गर्न चाहेको भए तयारीमा कमी नभएको बताउँछन्। क्लिन फिड नीति लागू गर्न भनेर एक वर्षअघिदेखि नै तयारी सुरु भइसकेको थियो। गत वर्ष साउनमै मन्त्रिपरिषदले उक्त नीति पारित गरेको थियो।

'सरकारले अन्तिम समयमा आएर क्लिन फिड नीति स्थगन गरेको जानकारी गराएको छ,' श्रेष्ठले नागरिकसँग भने, 'सरकारको यो निर्णयबाट हामी निराश छौं।' अब सरकारका पदाधिकारीसँग भेटेर छलफल गर्ने र तुरुन्त लागू गर्न लबिङ गर्ने उनले बताए। कुनै पनि बहानामा नीति लागू गर्नबाट सरकार पछि हट्न नपाउने श्रेष्ठले बताए।

क्लिन फिड नीतिबाट उपभोक्तालाई शुल्क महँगो पर्ने र भारतीय च्यानलले नेपालको लागि भनेर क्लिन फिड कार्यक्रम नबनाउने भन्दै केबल टेलिभिजन महासंघ लगायतले विरोध गरेका छन्।

श्रेष्ठले भने क्लिन फिड नीतिले देशमा प्रत्यक्ष रुपमा फाइदा पुग्ने बताउँछन्। विज्ञापन बजार दोब्बर हुने र मुलुक प्रत्यक्ष रुपमा भाषा संस्कृतिमा परेको प्रभाव कम गर्न सकिने श्रेष्ठको भनाइ छ। यो नीति लागू भएमा च्यानलको शुल्क केही महँगो पर्न सक्ने आँकलन गरिएको छ तर कति महँगो पर्ने यकिन गरिएको छैन।

नेपालको लागि कतिपय च्यानलले क्लिन फिड कार्यक्रम नबनाएको भन्दै विरोध आएको थियो। श्रेष्ठले भने कसैले क्लिन फिड कार्यक्रम दिँदैन भनेर च्यानल नआउँदा फरक नपर्ने बताउँछन्।

श्रेष्ठका अनुसार हाल नेपाली विज्ञापन बजार वार्षिक साढे पाँच अर्ब रुपैयाँको छ। क्लिन फिड नीनि लागू भए उक्त बजार दोब्बर हुने दाबी उनको छ। 'संसारका कैयौं मुलुकमा लागू भइसकेको क्लिन फिड नीतिले नेपाली मिडिया बजारमा सिधै फाइदा पुग्छ,' श्रेष्ठले भने, 'विज्ञापन बजार वार्षिक १० अर्बभन्दा माथि पुग्छ।'

यो नियमपछि विदेशी च्यानलबाट देखिाइने बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपालमा बजाउन चाहेमा यहीँ आएर बनाउनु पर्छ। क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा कुनै पनि विज्ञापन बज्दैन। उनीहरूले नेपाली बजारलाई विज्ञापन बजाउने हो भने नेपालमै आएर बिज्ञापन बजाउनु पर्छ र नेपाली मिडिया प्रयोग गर्नुपर्छ। यसले गर्दा देशको राजस्व र रोजगारीका अवसर बढ्ने उनको भनाइ छ।

त्यसैगरी, अर्को महŒपूर्ण पक्ष क्लिन फिड नीति लागू भए नेपाली भाषा, शैली, मौलिकताका विज्ञापन बज्नेछन्। 'क्लिन फिड नीतिले भारतीय च्यानलबाट आएका विज्ञापनबाट बालबालिकामा परेका असरलाई पनि रोक्न सहयोग गर्नेछ,' श्रेष्ठले भने, 'हाम्रो कला, संस्कृतिमा परेको प्रभाव रोक्नु पनि हाम्रो दाहित्व हो।'

भारतका कतिपय ठाउँ, बंगलादेश, पाकिस्तान, अमेरिकी मुलुक, युरोपमा पनि क्लिन फिड नीति कार्यान्वयनमा छ। 

के हो क्लिन फिड?

क्लिन फिड भनेको विज्ञापनरहित कार्यक्रम हो। विश्वव्यापी रुपमा दुई किसिमका कार्यक्रम (च्यानल) हुन्छन्। एक क्लिन फिड र अर्को हो एड्भर्टाइजिङ फिड। यसको साथै निःशुल्क च्यानल (फ्री एयर) पनि हुन्छन्। क्लिन फिड नियममा च्यानल हेरेबापत शुल्क तिर्नुपर्छ। तर विज्ञापन आउँदैन भने एड्भर्टाइजिङ फिडमा च्यानल हेरेबापत शुल्क तिर्नु पर्दैन तर विज्ञापन बज्छन्।

नेपालमा भने अहिले विज्ञापनसहितका च्यानल (एड्भर्टाइजिङ फिड) आउँछन् र त्यसमाथि नेपाली उपभोक्ताले शुल्क समेत तिर्नुपर्छ। नेपाली उपभोक्ता दुबै तिरबाट  घाटामा छन्। हामीले विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र विज्ञापन पनि हेर्नुपरेको छ।

त्यस्तै नेपालका सम्पूर्ण नपाली च्यानल निःशुल्क हुन्। उपभोक्ताले च्यानल हेर्नको लागि शुल्क तिर्न नपर्ने भएपछि उनीहरूले विज्ञापन बजाउन पाइने नियम रहेको छ। विदेशी च्यानल यसरी निःशुल्क हेर्न पाइने हो भने विज्ञापन राख्न पाउनु उनीहरूको अधिकार हो र विज्ञापन राखे भने शुल्क लिन पाउँदैनन्।

ठूला च्यानलले विज्ञापन सहितका निःशुल्क कार्यक्रम र शुल्कसहित विज्ञापनरहित दुवै कार्यक्रम बनाउँछन्। क्लिन फिड लागू भयो भने विज्ञापनरहित च्यानल हेर्न पाइनेछ जसलाई हामीले अहिले जस्तै शुल्क तिर्नुपर्छ। विदेशी कम्पनीले नेपाली उपभोक्तालाई विज्ञापन दिन परेमा नेपालमै आएर यही बनाएर नेपाली मिडियामा दिनुपर्ने हुन्छ।

प्रकाशित: १ श्रावण २०७४ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App