coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘आफ्नो परिवारको खुशी चाहँदा अर्को परिवार दुःखी हुन्छ’

– अनिल यादव
‘ममी, डाक्टरको पनि फेमिली हुन्छ भनेर बिरामीले किन सोच्दैनन् ?’

आठ कक्षामा अध्ययरत डा. चक्रराज पाण्डेकी छोरी चाँदनीले राखिरहने जिज्ञासा हो यो । जिज्ञासा स्वभाविक पनि हो । पाण्डेले चाहेर पनि परिवारलाई पर्याप्त समय दिन सकिरहेका छैनन् । पाण्डे हाल काठमाडौं, धापासीमा रहेको ग्राण्डी हस्पिटलका बोर्ड डिरेक्टर हुन ।  ग्राण्डीमा मेडिकल डिरेक्टरसमेत रहेका उनी त्यहाँको हाडजोर्नी विभाग प्रमुख पनि हुन् । उनी दैनिक हस्पिटलमा खटिइरहेका हुन्छन्– कहिले बिरामीको उपचारमा त कहिले अस्पतालको प्रशासनिक समस्या सुल्झाउन्।

उनकी श्रीमती सपना पनि हस्पिटलमा बिरामीको सेवामा तल्लिन भेटिन्छन्। ‘बिरामीलाई के–कस्तो समस्या परिरहेको छ ? उनी सोधिखोजी गरिरहेकी हुन्छिन् । देख्नेहरू उनलाई हस्पिटलको कर्मचारी नै हो भन्ने ठान्छन् । तर उनी विशुद्ध स्वयंसेवा गरिरहेकी हुुन्छिन्। उनी हस्पिटलकी सेयरहोल्डर पनि हुन् । त्यसैले हस्पिटललाई राम्रो होस्, मेरो काममा सहज होस् र बिरामीलाई पनि सहज होस् भनेर उनी विना पैसा सेवा गरिरहेकी छिन्,’ श्रीमतीबारे डा. पाण्डेले स्पष्टीकरण दिए। डा. पाण्डेले सपनासँग बिहे गरेको ठ्याक्कै २५ वर्ष पुग्यो । उनका दुई छोरी र एक छोरा छन् । ‘छोरा चिरन युएइको अबुधाबीमा अंग्रेजी साहित्य र फिलोसोफी पढिरहेको छ, जेठी छोरी अमेरिकामा इकोनोमिक्समा मास्टर्स गरिरहेकी छे । दुवैले स्कुलरसिप पाएका हुन् । कान्छी छोरी चाँही अहिले हामीसँगै बस्छे,’ डा. पाण्डेले भने ।

योजना बन्छन्, सफल हुँदैनन्
अघिल्लो महिना ग्रान्डी हस्पिटल नजिकै रहेको ग्रान्टी टावरमा पाण्डेलाई भेट्न उनको अपार्टमेन्ट पुग्दा छोरीले पियोनो बजाइन्। सपनाका अनुसार उनका तीनटै सन्तानले पियानो बजाउने गरेका छन्। ‘मलाई पनि पियानो बजाउने ठूलो चाहाना थियो, तर समय अभाव कारण सिक्न भ्याइन्। अहिले छोरीले बजाएको सुनेर आनन्द लिन्छु,’ डा. पाण्डे भावुक सुनिए। छेउमै रहेकी छोरी चाँदनीले बुबाले आफूलाई सक्दो समय दिने प्रयास गरेपनि कामका कारण सोचेजस्तो नहुने बताइन्। ‘घरमा प्लानहरू त टन्न बन्छ,’ उनले भनिन्, ‘बाबाले इफोर्ट पनि लगाउनुुहुन्छ । तर लास्ट आवरमा अस्पतालबाट फोन आइदिन्छ । इमरजेन्सी परिदिन्छ । त्यसपछि त ‘हस् हस् हजुर म आइपुगे’ भन्दै घरबाट हिडिहाल्नुहुन्छ। अनि प्लान क्यान्सिल हुन्छ।’ स्विमिङ, हाइकिङलगायत प्लानहरू बन्ने गरेको उनले सुनाइन् ।

सपनाको काँधमा घरको व्यवहार
डा. पाण्डे आफ्नो जिन्दगीको सफलताको श्रेय उनको श्रीमतीलाई दिन चाहान्छन्। उनकी श्रीमतीले फ्रेन्च र टर्किस भाषामा स्नातक गरेकी छिन् । ‘मेरो घरको सबै व्यवहार उनले हेर्ने हो,’ नागरिक परिवारसँग उनले भने, ‘सायद उनी नभएको भए आज तपाईंले यसरी घरमा बसेर चिया पिउन पाउनुहुँदैनथ्यो । घरमा यस्तो सजिसजावट पाउनुहुँदैनथ्यो ।

मेरो धेरै फेमिली टाइम पनि अस्पतालमा गइरहेको छ । परिवारलाई एक्स्ट्रा टाइम दिने इच्छा छ । तर अफ्ठेरो परेको बेला बिरामीलाई सहयोग गरिएन भने कि ऊ मर्छ कि अपांग हुन्छ । मैले कसरी उसलाई त्यस्तो हुन दिने ? जबकी मेरो पेशा नै अरुको जिन्दगी बचाउँदा रमाउने हो ।’

यो सब उनको कारण भएको हो। म त पुरै हस्पिटलमा व्यस्त हुन्छु । उनले छोरी स्कुल गएका बेला बचेको समय मात्र हस्टिपलमा बिताउने हो । नत्र पूरा समय छोरीलाई दिइरहेकी हुन्छिन् ।’ उनी थप बोल्दै गए, ‘घरको सबै व्यवहार उनले नै हेर्छिन् । यतिसम्म कि म टाइममा आउँछु कि आउँदिन, टाइममा खान्छु कि खाँदिन सबै कुराको ख्याल उनले गरिरहेकी हुन्छिन् ।’  
पेशा नै यस्तो !
डा. पाण्डे घरमा उठेदेखि राती सुतिन्जेलसम्मको समय अस्पतालको काममा व्यतित गर्ने बताउँछन् । ‘इमरजेन्सी पर्दा राति सुतेका बेला पनि उठेर जानुपर्छ,’ उनले भने, ‘त्यतिबेला पनि श्रीमतीको निन्द्रा डिस्टर्भ हुन्छ । उठेर ढोका खोल्दिने, लाउने सबै गर्नुपर्छ । मेरो धेरै फेमिली टाइम पनि अस्पतालमा गइरहेको छ । परिवारलाई एक्स्ट्रा टाइम दिने इच्छा छ । तर अफ्ठेरो परेको बेला बिरामीलाई सहयोग गरिएन भने कि ऊ मर्छ कि अपांग हुन्छ । मैले कसरी उसलाई त्यस्तो हुन दिने ? जबकी मेरो पेशा नै अरुको जिन्दगी बचाउँदा रमाउने हो ।’

परिवारलाई समय दिन नसक्दा सम्बन्धमा पनि प्रभाव पर्न सक्ने कुरालाई पाण्डेले राम्रोसँग बुझेका छन्। त्यसैले उनीसँग उनकी श्रीमती प्रायः भइरहेकी छिन्  । श्रीमतीले अर्को कुनै काम गरेकी छैनन् । फुर्सदको समयमा हस्पिटलमा बिताइरहेकी छिन् । ‘कतै विदेश जानुपर्यो भने पनि भरसक म श्रीमतीलाई सँगै लिएर जान खोजिरहेको हुन्छु,’ पाण्डेले भने।

त्यसो त डा. पाण्डे अस्पतालबाट बचेको पूरै समय घरमा परिवारलाई दिन चाहान्छन्। उनलाई आफ्नो समय परिवारका लागि थोरै भएको महसुस पनि भएको छ। ‘म हस्पिटलको काम सकिएपछि कहीँ मोजमस्ती गर्दिनँ। साथीभाईसँग गेट टुगेदर गर्ने, रमाइलो गर्ने त्यस्तो पनि गर्दिन,’ उनले भने, ‘सिधै घर आउँछु । तै पनि पर्याप्त समय जुटाउन सकिरहेको छैन । पेशा नै यस्तो छ कि दोसाधमा परिन्छ । मान्छेहरू यो कति धेरै पैसाको पछि लागेको भन्लान् । तर बिरामीको उपचार नगर्दा उता बिग्रिन्छ, यता परिवारलाई समय नदिँदा यता बिग्रिन्छ । गर्ने के ? ’

चार वर्ष भयो ग्रान्डी अस्पताल खुलेको। यसअघि उनी अहिले जति व्यस्त थिएनन्। त्यसैले कहिलेकाहीँ छोरा–छोरीलाई समय दिन्थे । ‘ठूला छोरा र छोरीलाई म कहिले टेनिस खेलाउन लान्थे त कहिले विकेन्डमा घुमाउन,’ डा. पाण्डेले भने, ‘अहिले हस्पिटल खोलेदेखि धेरै व्यस्त भए । सानी छोरीलाई ठूलोहरूलाई जति गर्न नसक्दा एकदमै दुःखी छु । तैपनि मेरो परिवार खुशी छ । मेरो फेमिली लाइफ सक्सेस नभएको भए म सायद खुशी हुन सक्दिन थिए ।’

तर डा. पाण्डेको परिवार अब त उनको पेशासँग अभ्यस्त भइसक्यो । ‘कहिलेकाहीँ त खाना पनि सुविस्ताले खान पाइदैन,’ श्रीमतीले सपनाले भनिन्, ‘टेबलमा बसेर खाना खान पाएको हुँदैन इमरजेन्सी फोन आइदिन्छ । अनि खाँदै गरेको खाना छोडेर हिड्नुहुन्छ । त्यस्तो बेलामा साह्रै नमिठो लाग्छ ।’  पारिवारिक जमघट पनि उनीहरूको घरमा त्यति हुँदैन । ‘त्यहीँ दसैँ–तिहारका बेला नै हो,’ सपनाले बताइन् ।

डा. पाण्डेले अरुको परिवारलाई खुशी बनाउन आफ्नो परिवारलाई समय दिन नसकेको स्विकार्छन् । भन्छन्, ‘मैले आफ्नो परिवारको खुशी चाहे भने अर्को परिवार दुःखी हुन सक्छ । ‘डा. साब एउटै छोरा हो, दुर्घटनामा पर्‍यो। लौ म के गरु ? ’ भन्दै सहयोग माग्न आएको मान्छेलाई म कसरी सहयोग नगरुँ ? मेरो धर्मले पनि मलाई नगरी बस्न दिँदैन ।’
 

आफ्नै छोराको पास्नीमा ढिलो
पेशा नै चिकित्सक । उनले धेरै शुभचिन्तक कमाउनु स्वभाविक हो । धेरै महत्वपुर्ण समारोहहरूमा उनलाई निम्तो आउँछ । तर उनी सहभागि हुन सक्दैनन् । ‘आफ्नै छोराको पास्नीमा पनि ढिलो पुगेको कुरा कहिल्यै बिर्सन सक्दिन,’ उनले सम्झिए, ‘त्यतिबेला म साइत भन्दा दुई घण्टा ढिलो पुगेको थिएँ । चितवनको एउटा बच्चाको हातको हड्डी पूरै बाहिर निस्किएको थियो । उपचारमा ढिलो पनि गर्न सकिन्थ्यो । तर मैले त्यसो गरिन । उपचार टाइममा गरे भने मेरो बच्चालाई पनि कल्याण होला भन्ने लागेर त्यसै गरे ।’

आफूले बच्चालाई समय दिन नसकेपनि आफूले गरेको मिहिनेतबाट बच्चाहरूले धेरै सिक्न पाएको उनी ठान्छन् । ‘म एकदमै मिहनेत गरेको काम गरिरहेको हुन्छु, दुईतीन ओटा कपडा चेन्ज गरेर निकै गाह्रो अप्रेसनहरू सफल पारिरहेको हुन्छु,’ उनले भने, ‘यो मिहिनेतले मेरो फेमिलीमा पोजिटिभीटी ल्याएको जस्तो लाग्छ । मेरा सन्तानलाई पनि बुबाको जस्तो हार्डवर्क गर्नुपर्छ भन्ने प्रेरणा मिलेको जस्तो लाग्छ ।’  

‘म सिन्धुपाल्चोकको किसानको छोरो हुँ । अहिलेसम्म जे जति गरे यो सब पछिल्लो २१ वर्षको मिहिनेतको फल हो । यस्तै मिहिनेत मेरा छोराछोरीहरूले पनि गरुन भन्ने लाग्छ,’ उनले भने । त्यसो त विदेशमा रहेका उनका दुई सन्तान पनि अहिले त व्यस्त हुन थालिसकेँ । ‘कहिलेकाँही मैले फोन गर्दा उनीहरू बिजी भएको बताइरहेका हुन्छन् । त्यस्तो सुन्न पाउँदा खुशी लाग्छ,’पाण्डेले भने, ‘हामी समय मिलाएर हप्तामा दुईपल्ट कुराकानी गरिरहेका हुन्छौं । सामाजिक संजालमा त दैनिक टचमै हुन्छौं ।’

सफल भएपछि गाह्रो
अधिकांश चिकित्सकहरू एकदमै व्यस्त हुन्छन् । उनीहरूले परिवारलाई समय दिन नै नसक्ने हो ? भन्ने प्रश्नमा डा. पाण्डेले भने, ‘मान्छे सफल भएपछि समय मिलाउन गाह्रो हुन्छ । तपाईंलाई धेरै बिरामीले खोज्न थाल्यो भने अवश्य पनि तपाईंका लागि समय कम हुन्छ । सफलतालाई कायम राखिरहने हो भने बिरामीको सम्बोधन गर्नुपर्छ । त्यसैले त म भन्छु मसँग समय कम छ । सफलताको पछाडिको एउटा अदृश्य दुःख यो पनि हो ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १ श्रावण २०७४ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App