coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

भाषामा भद्रगोल

डा. बलदेव शर्मा अधिकारी

भावनात्मक राष्ट्रिय एकीकर्ता नेपाली भाषाको वीभत्स हत्या गरिँदैछ, तर प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्छ? हुनुहुन्छ भने ससम्मान जानकारी गराउने अनुमति चाहन्छु। 

१. राष्ट्रिय विभूति तथा राष्ट्रपतिको नाम नै अशुद्ध :  अब आदिकवि 'भानुभक्त आचार्य'को नाम अशुद्ध ठहरिनु अनौठो भएन। 'विद्यालय'लाई 'विद्यालय'बनाउन बाध्य पारिएकै छ। नयाँ लेख्य नियमानुसार 'बुद्ध' तथा 'विद्यादेवी' लेख्नुपर्छ। २०७२ फागुन २८, २९ र ३० गते काँकरभिट्टामा प्रायोजित कथित 'अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठी'का अभाषिक निर्णयहरू कार्यान्वयन हुनेबित्तिकै 'रास्ट्रिय बिभुति गउतम् बुद्ध' तथा 'रास्ट्रपति बिद्द्यादेबि भन्डारि'  लेख्नुपर्ने हुन्छ, नत्र विद्यार्थीले दण्डित हुनुपर्छ।

२. संयुक्त अक्षर सिक्नै नपाउने? (शिक्षा मन्त्रालयको आदेश, २०६९ ) :  सरलताका नाममा नेपाली भाषाका वर्णमालाबाट थुप्रै वर्णहरू हटाइएका छन् र अझै हटाउन प्रोत्साहन गरिएको छ। परिणामतः अर्द्धसाक्षर नेपालीले केही वर्षपछि नेपालको वर्तमान संविधान वा कानुनका साथै पत्रपत्रिका र साहित्यिक कृतिहरू वाचन गर्न सक्ने छैनन्। ऐतिहासिक अभिलेख, ग्रन्थ, साहित्यिक कृति आदि बु‰न सक्ने छैनन्। उनीहरूलाई आफ्नो परम्परागत धर्म–संस्कृतिअनुसार 'ॐ मणि पद्मे हुँ' जस्ता मन्त्र र भगवान् 'बुद्ध'को नाम चिन्न नै प्रतिबन्ध लगाइएको छ। केही वर्षभित्रमा 'विद्यामायाको नाति, पद्ममायाको छोरो, बुद्धलाल' जस्ता बेहोराको लिखत वाचन गर्न सक्ने साक्षर जनशक्ति पनि विदेशबाटै झिकाउनुपर्नेछ। सिक्दै नसिक्ने हो भने 'क' पनि लेख्न सकिँदैन। 'आरोहण गर्न असहज भयो' भनेर सगरमाथालाई ढालिदिनेे कि आरोहण गर्न सिकाउने? देवनागरी लिपि नेपालको मौलिक लिपि हो, पुरातŒव हो। यो लिपि आदिमतम सांस्कृतिक सम्पदा हो।

३. नेपाली लेख्न कसलाई असजिलो भयो? अन्य भाषाभाषीलाई असजिलो होला भनेर संसारका कुनै पनि भाषाभाषीले आफ्नो स्थापित परम्परा फेर्दैनन्। यहाँ त उल्टो चलन छ। पदीय शक्तिको उन्मादमा निरंकुश नियम बनाउने र कुतर्क छर्दै हिँड्ने अनि पदच्युत भएपछि पछुताउने अपवादभित्र नेपाली मातृभाषा भएका, ब्राह्मणकुलका तथा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका केही प्राध्यापकमात्रै छन्। अगुवा बालकृष्ण पोखरेल 'प्रायश्चित्त' गरेर परम्परामा फर्किसके। गल्ती नगरेको भए प्रायश्चित गर्नै पर्दैनथ्यो। चिह्न–परिचय, शब्द–शुद्धि–विचार तथा शब्द–शुद्धि–विज्ञानजस्ता सरलतम र गहनतम पुस्तकका लेखक नेवारी मातृभाषी हृदयचन्द्रसिंह प्रधान, धनवज्र वज्राचार्य, पारसमणि प्रधान आदिबाट गरिएको चिन्तन तथा तथ्यपरक अतुलनीय योगदानबाट नै स्थापित परम्परा सर्वस्वीकार्य, सरल र वैज्ञानिक थियो भन्ने पुष्टि भइसकेको छ।

४.  कहीँ नभएको जात्रा :  चामलबाट बन्दैमा 'भात, जाउलो, खीर, भटारे, जाँड र बान्ता'लाई एउटै शब्दले चिनाउन मिल्दैन।  भाषाले नै हामीलाई मानव बनाएको हो। भाषालाई कामचलाउ अभिव्यक्तिको माध्यममात्र बनाउन पाइँदैन। भाषा नै स्पष्ट अभिव्यक्तिको एकमात्र माध्यम हो। परम्परादेखि प्रचलनमा आइरहेका विशिष्ट अर्थ बुझाउने शब्दहरू हटाउनु भनेकैै भाषालाई दुर्बोध्य बनाउनु हो। 'फूल (पुष्प) को माला'लाई 'फुल (अण्डा?) को माला' बनाइएको छ। 'पूरा, मीत, नशा, शहर, बाह्र, सोह्र' आदि भिन्नार्थक शब्दहरू सरकारी निकाय 'नेपाल प्रज्ञा–प्रतिष्ठान'को कथित 'नेपाली बृहत् शब्दकोश'मा अब पाइँदैनन्। पदवियोग गरी अर्थमा अनर्थ ल्याइएको छ, जस्तै :  गंगाप्रसाद खान्छ/गंगा प्रसाद खान्छ कि खान्छे?  सुतिहाल्यो (सुत्यो)/ सुति/सुती (सुतेर) हाल्यो (हाल्ने काम गर्‍यो?) आदि। एकै स्रोतबाट आएका शब्दहरूमै विभेद गरिएको छ। परलोक गइसकेका 'शहीद'हरूलाई हेपेर 'सहिद' बनाइयो, तर पूर्वराजाको थरसँग थर्कमान भएर होला 'शाह'लाई यथावत् राखियो। पहिले 'राई' र 'लिम्बू' दुवै शब्दको अन्त्याक्षर दीर्घ लेख्नुपर्थ्यो अब 'लिम्बू'लाई होच्याएर ह्रस्व 'लिम्बु' बनाइएको छ। पूर्वजलाई एक थरी र वंशजलाई भिन्दै थरी बनाउने अधिकार नियामकले कहाँबाट पाए?

५.  बोल्न र सुन्न नसक्नेहरूका लागि :  २०७२ फागुन २८, २९ र ३० गते काँकरभिट्टामा नाटकीयरूपमा प्रायोजित 'नेपाली भाषा संगोष्ठी, २०७२' को कथित घोषणापत्रको बुँदा २ मा 'नेपाली भाषाको लेख्य मानकलाई कथ्य मानकसँग निकट तुल्याउन प्रयत्नशील रहने' भन्ने घोषणा गरिएको छ। कथ्यभाषाको मानकअनुसार लेख्यभाषाको मानक कदापि सम्भव छैन। बरु विभिन्न मातृभाषा बोल्ने शिक्षित वक्ताहरूबाट नेपाली भाषामा व्यक्त भाषण, उद्घोषण र समाचार–वाचन सुन्दा औपचारिक कथ्य नै लेख्यको नजिक देखिन्छ। एकै दिनमा, एउटै व्यक्तिको, एउटै ध्वनिमा परिवर्तन आउन सक्छ। करोडौँकरोड कथ्यका आधारमा लेख्यमानक बनाउने प्रतिबद्धता अभाषिक, अवैज्ञानिक, हास्यास्पद र अराजक अभिमानको पराकाष्ठा हो।

वाणीका चार तह हुन्छन् :  परा, पश्यन्ती, मध्यमा र वैखरी। वैखरी वाणी त सुन्न र बोल्न सक्ने प्राणीहरूका लागि मात्रै हो। वैखरीका पनि अधकल्चा र निराधार तर्क गरेर लेख्यपरम्परा भत्काउन प्रयत्नशील रहेकाहरूले परा, पश्यन्ती र मध्यमा वाणीकै आधारमा अद्वितीय लेखन–प्रतिभा प्रस्तुत गर्न सफल भएका झमककुमारी घिमिरे, राजेन्द्र तारकिणी, आदित्य दाहाललगायतकै भाषिक अधिकार खोसेका छन्।

६. एकै निकायमा अनेक नियम? सरकारकै विभिन्न मन्त्रालय तथा निकायमा विभिन्न शैली–पुस्तिका छन्। सरकारी नियमानुसार 'मन्त्रिपरिषद्, कम्पनी रजिष्ट्रारको कार्यालय' आदि नै अशुद्ध हुन्। सरकारी संस्था राष्ट्रिय दैनिक गोरखापत्रकै विभिन्न पृष्ठमा विभिन्न प्रयोग गरिएका छन्। कक्षा १ देखि ५ सम्म एकथरी, ६ देखि ९ सम्म अर्कोथरी, १० मा अर्कै थरी, ११–१२ मा अर्कै थरी र उच्च शिक्षामा अझ अर्कै थरी नियमको अभ्यास गराइनु मात्रै पनि आश्चर्यको विषय नहोला। एउटै कक्षामा सरकारी प्रकाशन र निजी प्रकाशनका पुस्तकहरूमा एउटै शब्द दुई किसिमले लेखाउनुपरेको छ। शोधपत्र लेख्ने विद्यार्थीलाई थरीथरीका प्राध्यापकहरूले थरीथरी शैलीमा लेख्न बाध्य पारेर दिनुसम्म पीडा दिएका छन्। विभिन्न कक्षा वा तहका पाठ्यपुस्तकहरू भिडाएर हेर्नेबित्तिकै नेपाली भाषाप्रेमीलाई रिँगटा चल्न थाल्छ। पदासीन नियामकहरूबाट 'पद, पदोन्नति, पैसा र पुरस्कार' प्राप्त हुन सक्ने प्रलोभनमा बसेका अथवा अवसरबाट वञ्चित भइने हो कि भन्ने त्रासमा फसेेका केही बबुराबाहेक परिवर्तित नियमका पक्षमा स्वयं नियामकहरू नै छैनन्।

७.  स्वनामधन्य विद्वान् तथा साहित्यकार नै अशुद्ध लेख्थे? :  भाषाविज्ञानले भाषाको उच्चारण, शब्दार्थ आदिलाई परिवर्तनशील मानेको छ, तर मानक शब्दकोशबाट स्थापित लिपि तथा वर्णविन्यास अपरिवर्तनीय हुन्छ। अति प्रचलित प्रयोगलाई सम्बन्धित विज्ञहरूको सहमतिमा वैकल्पिक मान्यता दिन सकिन्छ, तर परम्परालाई विस्थापित गर्न पाइँदैन। भाषाविज्ञानका विषय वर्णविन्यास–विज्ञानलाई 'अर्थोग्राफी' तथा लिपि–विज्ञानलाई 'स्त्रि्कप्टोलोजी वा ग्रामाटोलोजी' पनि भनिएको छ। 'पदीय अहंकारवश दन्तरोग–विशेषज्ञले मुटुरोग–विशेषज्ञलाई हटाएर मनपरीसँग मुटुको शल्यक्रिया गरेजस्तै गरी' अनधिकृत व्यक्तिहरूले वर्णविन्यासको नियम परिवर्तन गरिरहेका छन्। आफै स्थापित र नियमित भइसकेको भाषिक परम्परालाई परिवर्तन गर्ने अधिकार सम्बन्धित विशेषज्ञलाई पनि हुँदैन। संसारमै भाषाको स्थायित्व तथा जीवन्तताका लागि नै लेख्यपरम्परालाई संरक्षण गरिन्छ। 'कर्मक्षेत्रमा खटिएका सिपाहीहरूले मासु नै पकाउलाजस्तो प्रचण्ड गर्मीमा समेत औपचारिक पोशाक फुकाल्न पाउँदैनन्।' यसैगरी शिष्ट भाषाका लेखक तथा साहित्यकारहरूले कुनै पनि निहुँमा अशुद्ध लेख्न सुहाउँदैन। शब्दकोश आदिको सहयोग लिएर लेखक आफैले शुद्ध लेख्नुपर्छ। आवश्यकतानुसार आधिकारिक भाषासम्पादकको सहयोग लिन सकिन्छ। स्थापित परम्परालाई हेपेर जानाजान अशुद्ध सामग्रीको प्रकाशन गर्नु भाषिक अपराध हो। आख्यानात्मक विधाको संवादलाई स्वाभाविक बनाउन पात्रको भाषिक स्तरअनुसार कथ्यभाषाको प्रयोग गर्नैपर्ने हुन्छ। नाटकमा समेत नाटककारको भनाइ स्थापित परम्परानुसार लेख्ने प्रचलन छ। 

शुद्ध लेखनका लागि सम्पूर्णतः शिक्षित र सचेत रहेका महाकवि, नाट्यसम्राट्, युगकवि, राष्ट्रकवि आदि उपाधिप्राप्त तथा स्वनामधन्य साहित्यकारहरू नै अशुद्ध लेख्थे भन्ने भ्रम फैलाउन उनीहरूबाट होशियारीपूर्वक प्रयोग गरिएका सयौँ शुद्ध शब्दहरू नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कथित 'नेपाली बृहत् शब्दकोश' का नयाँ संस्करणबाट हटाइएका छन्। कृतिपरक अध्ययन गर्नेहरूले त्यस्ता शब्दहरूको अर्थ कहाँबाट बुझ्ने? कतिपय अमूल्य कृतिका शीर्षकलाई नै निर्ममतापूर्वक गलहत्याइएको छ। महाकविको कविता 'गरीब'लाई 'गरिब' अनि गुरुप्रसाद मैनालीको कथा 'शहीद'लाई 'सहिद' बनाइएको छ। विश्वेश्वरप्रसाद कोइरालाका 'कर्णेलको घोडा र दोषी चश्मा' अशुद्ध अरे! दीर्घ 'फूल'लाई निकालावास गराइयो! 'मदन पुरस्कार' प्राप्त दुइटा गौरवशाली कृति नै अक्षम्य अपराधका सिकार भए। पारिजातको प्रसिद्ध उपन्यास 'शिरीषको फूल' तथा झमककुमारी घिमिरेको लोकप्रिय कृति 'जीवन काँडा कि फूल?' कै शीर्षक अशुद्ध? संयोगवश 'मदन पुरस्कार' प्राप्त गर्ने उपर्युक्त दुवै जना साहित्यकार शारीरिक अशक्तताग्रस्त नारीप्रतिभा पनि हुन्। 'शब्द–शुद्धि–विज्ञान'का लेखक तथा साहित्यकार हृदयचन्द्रसिंह प्रधानको नामैलाई टुक्राटुक्रा पार्ने भाषिक तानाशाहहरूले 'एक चिहान' उपन्यासको वीभत्स हत्या गरेका छन्। यी त प्राज्ञिक भ्रष्टाचार तथा चरम दुर्व्यवहारका प्रतिनिधि प्रमाणहरूमात्रै हुन्।

नेपाली भाषा बचाऔँ अभियान

१.  अध्ययन र अनुसन्धानका क्रममा पत्ता लागेअनुसार अंग्रेजी र हिन्दी भाषामा पनि अहिलेे नेपाली भाषामा जस्तै भित्रिन लागेको भाषिक अराजकतावादीलाई विश्वास गर्ने अमेरिकाका तात्कालिक राष्ट्रपति रुजबेल्ट तथा भारतका राष्ट्रपिता महात्मा गान्धीले समेत स्थापित लेख्य परम्परासमक्ष आत्मसमर्णण गर्नुपरेको थियो। नेपाली भाषाका सन्दर्भमा तात्कालिक शिक्षामन्त्री दीनानाथ शर्मा पनि विश्वासवश आफूलाई हुँदैनभएको अधिकार प्रयोग गरिएको स्वीकार गरी १९९८ बाट स्थापित लेख्य परम्पराकै पक्षमा उभिएका छन्। देवनागरी लिपि तथा वर्णविन्याससम्बन्धी अभाषिक, अवैज्ञानिक, असांस्कृतिक तथा नेपालको संविधान २०७२ को 'मौलिक हक'सम्बन्धी धारा ३२ को उपधारा ३ अनुसार असंवैधानिक नियमहरूको प्राज्ञिक, वैधानिक तथा संवैधानिक हैसियतसमेत स्वतः समाप्त भइसकेकाले १९९८ मा प्रकाशित 'बगली कोष'बाट स्थापित लेख्यपरम्परानुसार गर्न वा गराउन सम्बन्धित सबैका लागि आदेशात्मक परिपत्र अविलम्ब सार्वजनिक गर्न जरुरी छ।

२.  मित्रराष्ट्र चीन, जापान, दक्षिण कोरिया तथा युरोपीय राष्ट्रहरूले समेत आआफ्नो भाषाको संरक्षण गर्दै भौतिक विकास गरेको दृष्टान्तअनुसार नेपाली विद्यार्थीलाई राष्ट्रभाषा नेपाली वा आआफ्नै मातृभाषामा शिक्षा लिन पाउनेे अवसर प्रदान गर्नुपर्छ।

३.  सम्बन्धित संकायको आवश्यकतानुसार स्नातकोत्तर तहसम्म नै कम्तीमा १०० पूर्णांकको प्रायोगिक नेपाली भाषा अनिवार्य विषयका रूपमा पठनपाठन हुने व्यवस्था गर्नुपर्छ। 

४.  वर्णोच्चारण, सस्वर वाचन, शब्दनिर्माण तथा शब्दभण्डारलाई दृष्टिगत गरी शिक्षाका सबै तहमा संस्कृत भाषा अथवा स्थानीय मातृभाषामध्ये कुनै एकलाई अनिवार्य–वैकल्पिक विषय बनाउनुपर्छ। 

५.  नेपालका सबै राष्ट्रभाषाका नामिक शब्दहरूलाई 'नेपाली बृहत्  शब्दकोश'मा यथासम्भव प्रविष्टि दिलाई सबै नेपाली जनतालाई हृदयदेखि नै 'नेपाली भाषा मेरै हो' भन्न उत्प्रेरित गरिनुपर्छ। 

६.  प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबण्डाको अन्त्य गरी सुयोग्य व्यक्तिलाई नियुक्त गरिनुपर्छ।

७. नेपालको  संविधानमा व्यवस्था भएअनुसार 'भाषा आयोग'का प्रमुख आयुक्त वा आयुक्त पदमा निष्पक्ष, वैज्ञानिक र पारदर्शी मूल्यांकन–प्रक्रियाबाट छानिएका वास्तविक सुयोग्य र सक्षम विज्ञलाई मात्र नियुक्त गरिनुपर्छ।

विद्यावारिधि उपाधिका लागि पूर्ववाक्परीक्षा र वाक्परीक्षामा उत्तीर्ण गरिसकेपछि पनि राष्ट्रिय पत्रपत्रिकाबाट मेरा लेखरचनाहरू निरन्तर प्रकाशित भइरहे, सत्यका समर्थकहरू स्वतः बढिरहे। सम्बन्धित विषयकै अनुसन्धाताका नाताले अनेकौँपटक गरिएका सार्वजनिक बहस, शास्त्रार्थ, अन्तर्वार्ता, अन्तःक्रिया आदि कार्यक्रममा उपस्थित सहभागीबाट उठाइएका जिज्ञासा सहज ढंगले मेटाउँदै गएँ, सचेत समर्थकहरू भेट्टाउँँदै गएँ। यसैक्रममा विभिन्न क्षेत्रका विद्वान्–लेखकहरूका अनेकौँ लेखरचना तथा पुस्तकहरू प्रकाशित भइरहे। विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन आदिका पत्रकार तथा सञ्चारकर्मी मित्रहरू, न्याय, प्रशासन, मानवअधिकारलगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित शिक्षित र सचेत भाषाप्रयोक्ता स्वाभाविकरूपले जुरमुराएका छन्। अंग्रेजी व्याकरण तथा शब्दकोश लेखेर प्रसिद्ध भएका चूडामणि गौतमसमेत नेपाली भाषाको संरक्षणका लागि स्वस्फूर्त समर्पणभाव लिएर सक्रिय छन्। संयोगवश सत्यवादीहरू एकै ठाउँमा भेटिएका छौँ। सम्बन्धित निकायमै पुगेर पटकपटक औपचारिक तथा अनौपचारिक किसिमबाट अनुनय–विनयपूर्वक भाषाशास्त्रीय प्रमाण र तर्कहरू प्रस्तुत गरेकोगर्‍यै छौँ। 'प्रामाणिक तर्क खण्डन गर्नै नसकिने र स्वीकार गर्दा स्वार्थको भाँडो भर्नै नसकिने' बुझेपछि प्रज्ञा–प्रतिष्ठानका भाषिक पदाधिकारीहरूले भूमिगत आततायीको शैलीमा नेपाली भाषाको लेख्यपरम्परा ध्वस्त पारेरै छाड्ने घोषणा गरेका छन्। आजका मितिले एक महिनाभित्र संसद् वा मन्त्रिपरिषद्बाट नेपाली भाषाको सुरक्षाप्रबन्ध सुनिश्चित गरिएन भने बाध्य भएर नेपालका सम्पूर्ण राष्ट्रभाषाप्रेमीहरूको समर्थनमा सशक्त सत्याग्रहात्मक आन्दोलनको शरण लिनैपर्ने हुन्छ।

(असार २२ गते प्रधानमन्त्रीलाई बुझाएको पत्रको सम्पादित अंश)  

प्रकाशित: ८ श्रावण २०७३ ०८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App