coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पुरस्कारको प्रतिष्ठा

एक दिन एकजना साहित्यकार आफन्तको बिहेबटुलोमा पुगेका थिए। आफन्तले साहित्यकारकी पत्नीलाई भनिछन्, 'तिम्रो पति त साहित्यकार भनेको सुनेकी थिएँ, उनले अहिलेसम्म कुनै पुरस्कार पाएको समाचार सुनेका छैनौँ। आखिर कस्ता साहित्यकार हुन्?'

साहित्यकारकी पत्नीको मुड साँझसम्म खराब थियो, तर यस्ता प्रश्न अनेकौँ पटक बेहोरेका साहित्यकारले भने पत्नीको मुडलाई कुनै भाउ दिएनन्। ती साहित्यकारको नजरमा साहित्यिक पुरस्कार सम्मानित र आफैमा व्यावसायिक छैनन्। पुरस्कार दिने आधार, छनोटको शैली पनि उति भरपर्दो छैन। त्यसैले पुरस्कार पाउनु र नपाउनुको कुनै तुक उनी देख्दैनन्।

नेपालमा साहित्य, संगीत र कला क्षेत्रका लागि भनेर १२ सयभन्दा बढी पुरस्कार स्थापना भएका छन्। तीमध्ये नियमित बाँडिने पुरस्कारको संख्या पाँच सयजति छ। नियमितरूपमा बाँडिने यी पुरस्कारको राशि साढे तीन करोड रुपैयाँ हुन आउँछ। अनियमित भएका पुरस्कारको राशिसमेत जोड्ने हो भने रकम अझै बढ्छ। यति धेरै पुरस्कार र यति धेरै रकम वितरण गरिए पनि नेपाली साहित्य बजारमा कोही पनि खुसी भने देखिँदैनन्। ती पुरस्कारमध्ये ९८ प्रतिशत 'लेनदेन'का लागि स्थापित भएको र वास्तविक सर्जकको हातमा कमै पर्ने गरेकाले पनि पुरस्कारको प्रतिष्ठा नजोगिएको कतिपयको धारणा छ।

साहित्यकार नारायण ढकालको नजरमा जुनसुकै समाजमा पुरस्कार स्थापित हुनु स्वाभाविक भए पनि सबै पुरस्कार उत्तिकै सम्मानित हुँदैनन्। 'पुरस्कार स्थापनाको नियत खराब होइन,' ढकाल भन्छन्, 'हरेक असल समाजले राम्रो चिज बाहिर ल्याउन प्रोत्साहन दिन्छन् र पुरस्कार त्यसको एउटा पाटो हो। राम्रो पुरस्कारले राम्रो आधार बनाएर पुरस्कार दिँदा त्यस व्यक्तिको व्यक्तित्व उज्यालिने मात्र होइन, पठन संस्कृति बढ्न गई असल समाज निर्माण गर्न भूमिकासमेत खेल्छ।'

अर्का साहित्यकार अविनाश श्रेष्ठ पनि ढकालसँग सहमत छन्। 'गुन लगाउन र आसेपासेलाई खुसी पार्न नभई सही कृति र व्यक्तिलाई दिँदा पुरस्कारको प्रतिष्ठा स्वाभाविकरूपमा बढ्छ,' उनी भन्छन्, 'तर, हाम्रो देशमा आधार बनाएर पुरस्कार दिने चलन नभएकाले पनि पुरस्कारको प्रतिष्ठा छैन। केही छन्, तिनले पुरस्कारको इज्जत जोगाइदिएका छन्।' श्रेष्ठको नजरमा कहिले 'जेन्युन' मानिसले पुरस्कार पाउँदैन, कहिले कृति स्तरीय हुँदैन।

हालै 'सल्लीपिर' उपन्यास बजारमा ल्याएका नयनराज पाण्डे नेपालमा अहिले धेरै पुरस्कार केही सीमित व्यक्ति र समूहमा घुमिरहेको देख्छन्। आफ्नै वरिपरिका व्यक्तिलाई दिने र चयनका निम्ति कुनै वैज्ञानिक आधार नअपनाइने हुनाले पनि पुरस्कारको प्रतिष्ठा बढ्न नसकेको उनको अनुभव छ।

पुरस्कारको प्रतिष्ठामात्र नभई अन्य कुरामा पनि ठूलो स्खलन आएको ढकालको धारणा छ। 'पहिलेपहिले मदन पुरस्कारको राशि ५ हजार थियो,' उनले भने, 'त्यो पैसाले काठमाडौँका राम्रै ठाउँमा केही आना जग्गा आउँथ्यो, अहिले मदन पुरस्कारले दिने दुई लाख रुपियाँले काठमाडौँमा त के गाउँमा पनि जग्गा पाउन मुस्किल छ।'

पुरस्कार र साहित्यिक कृतिको 'क्रेज' सम्झँदा हिमाल बुक्सका प्रकाशक वसन्त थापालाई २०२२ साल याद आउँछ। 'त्योबेला हामीले ढिला गरी मदन पुरस्कारको खबर थाहा पायौँ,' उनी त्यो दृश्य सम्झँदै भन्छन्, 'मानौँ हलचल भयो, सबैका मुखमा 'शिरीषको फूल' थियो। केहीले पढिसकेका थिए, तिनको शानै बेग्लै थियो। कोही पुस्तक खोजिरहेका थिए। मदन पुरस्कार पाइसकेपछि त्यो कृतिको खोजीमात्र होइन कि लेखिका पारिजात नै सेलिब्रिटी बनिन्। यो हो, असली पुरस्कारको शक्ति।'

राम्रो पुरस्कारले जहिले पनि लेखकलाई उत्प्रेरणा दिने र पठन संस्कृति बढाउने पाण्डेको भनाइ छ। 'तर, कुन संस्थाले पुरस्कार दिएको हो? कस्ता व्यक्ति त्यस संस्थामा जोडिएका छन्? विगतमा कस्ता व्यक्तिले यी पुरस्कार पाएका छन् भन्ने कुरा निकै महŒवको हुन्छ,' उनी भन्छन्।

पुरस्कारको सामर्थ्य भन्नु नै पुरस्कार दिने संस्था स्वयं नै सम्मानित हुनुपर्ने थापाको बुझाइ छ। यस्ता पुरस्कार निकै कम भएको उनी स्वीकार्छन्। 'पुरस्कारको शक्ति यस्तो होस् कि त्यसले बिक्री बढाओस्, पाठक बढाओस्, लेख्नेको हौसला बुलन्द पारोस्,' थापा भन्छन्, 'संसारभर नै विवादरहित पुरस्कार हुँदैन, तर कुन आधारमा पुरस्कार दियो, त्यसले त्यस पुरस्कारको नियत प्रष्टिन्छ।'

मदन पुरस्कार र उत्तम शान्ति नेपालका प्रतिष्ठित पुरस्कार रहेको पद्मश्री पुरस्कारका उपाध्यक्ष धनराज गिरीको धारणा छ। 'पद्मश्रीले पनि छोटो समयमा प्रतिष्ठा कमाइरहेको छ,' उनी भन्छन्, 'पुरस्कार दिने संस्थामा संलग्न व्यक्ति इमानदार नभएर नै प्रतिष्ठा कम हुन्छ। आफ्नै वरिपरिका मान्छेलाई दिने संस्कारका कारण पुरस्कार विवादित हुन्छन्।'

पुरस्कारकै बदनाम

पुरस्कार र सम्मानबारे लामो समयदेखि अध्ययन गरिरहेका डिल्लीराम मिश्र यसै असोज/कात्तिकतिर पुरस्कार र सम्मानको इतिहासबारे नयाँ पुस्तक निकाल्दैछन्। उनको किताब र अध्ययनअनुसार २०५० सालपछि नेपालमा पुरस्कारको बाढी नै आएको छ। 'अचानक नेपालमा पैसाको कारोबार ह्वात्तै बढ्यो,' मिश्र भन्छन्, 'पैसा कमाएपछि के गर्ने? त्यो पैसाको पुरस्कार बनाउने, नाम चलेकालाई पुरस्कार दिने र समाजमा आफ्नो कद पनि बढाउने भन्ने मनोवृत्ति देखियो। त्यस्ता मनोवृत्तिका पुरस्कारको प्रतिष्ठा नहुनु स्वाभाविक हो।'

कतिपय पुरस्कार आफ्ना वरिपरिका व्यक्तिलाई दिइनाले पुरस्कार ठट्टा बन्न पुगेको उनको धारणा छ। कतिसम्म भने कुनै नयाँ पुरस्कार स्थापना भएको थाहा पाउनेबित्तिकै त्यो पाउनका लागि लबिङ गर्ने, अखबारमा प्रचारबाजी गर्नेलगायतका लज्जास्पद क्रियाकलाप नाम चलेका तथा अग्रज साहित्यकारहरूले गर्ने गरेको उनी बताउँछन्। 'अहिले नेपालमा अन्य चिजमा जस्तै पुरस्कारको पनि बजार लागेको छ,' मिश्र भन्छन्, 'यो बजारमा अन्य क्षेत्रमा जस्तै शक्तिको होडबाजी लगाएर, प्रभाव बढाएर पुरस्कार हत्याउनेसम्मका क्रियाकलाप भइरहेका छन्।' यस्ता क्रियाकलापले पुरस्कारको प्रतिष्ठा त घटाएको छ नै स्वयं पुरस्कृत हुनेको कद पनि होचो पारिदिएको छ।

कतिपय पुरस्कार अक्षय कोष नै नराख्ने र खल्तीबाट पैसा निकाल्दै दिने चलन देखेका पाण्डेले त्यस्ता पुरस्कार बन्द भएको पनि देखेका छन्। '७५ प्रतिशत पुरस्कार यस्ता छन्, जसको अक्षय कोष नै छैन,' उनी भन्छन्, 'केही पुरस्कारचाहिँ एउटा पुस्ताले स्थापना गर्छ, तर अर्को पुस्ताले रूचि नराख्दा बन्द भएका छन्। नियमित बाँड्ने पुरस्कारको संख्या ५० वटा भन्दा बढी छैनन्। पछिल्लो समय बैंकको ब्याज खर्लप्पै घटेका कारण पनि कतिपय पुरस्कार दिनै नसकिने अवस्थामा पुगेका छन्।'

असल नियतले स्थापना गरिएका कतिपय पुरस्कार नियमित हुन नसक्दा र खराब नियतका पुरस्कार नियमित बन्न पुग्दा पनि पुरस्कारको प्रतिष्ठा घटेको श्रेष्ठको धारणा छ। नियमितरूपमा पुरस्कार दिन भनेर स्थापना गरिएको शंकर लामिछाने कोषको ६ लाख रुपैयाँ एउटा निजी वित्तीय संस्थाले डुबाइदियो। त्यस्तै, बालचन्द्र शर्माका नाउँमा दिइने पुरस्कारको अक्षय कोषको ७ लाख रुपैयाँ पनि डुब्यो। 'सरकारी बैंकमा पैसा राखौँ गतिलो ब्याज नआउने र केही बढी ब्याजको आशामा अन्य बैंकमा पैसा राखौँ, बैंक नै डुब्ने नियतिको सिकार ती दुई पुरस्कार भएका छन्,' मिश्र भन्छन्।

पुरस्कारको कद घटाउने अर्को पक्षचाहिँ हतारमा पुरस्कार घोषणा गर्ने, पहिलो पटक पुरस्कार दिइहाल्ने र भविष्यमा कोष सञ्चालन कसरी गर्ने भन्ने हेक्का नराख्नेहरू पर्छन्। डिल्लीरमण रेग्मी अक्षय कोषले सुरुताका हतारहतार पुरस्कार दिए पनि केही वर्षयता रकम अभावले पुरस्कार दिनै रोकेको छ। यो त एउटा उदाहरणमात्रै हो, कोष अभावले पुरस्कार वितरण रोकिएका कैयौँ संस्था छन्। कतिपय संस्थाको आन्तरिक विवादका कारण पुरस्कार वितरण हुन सकेका छैनन्।

नइ प्रकाशनले वितरण गर्ने एकताकाको चर्चित भूपालमान सिंह पुरस्कारदेखि लिएर सीताराम प्रसाईं पुरस्कारसमेत विवादमुक्त हुन सकेनन्। यतिबेला ती पुरस्कार बन्दै भएका छन्। ती पुरस्कार पुनः वितरण गर्ने तयारी भइरहेको जनाइए पनि विवाद र आलोचनाका कारण तिनले आफ्नो प्रतिष्ठा जोगाउलान् भन्ने कमै साहित्यकारलाई विश्वास छ। स्थापनाको छोटो अवधिमा 'पद्मश्री'ले आफूलाई स्थापित पुरस्कारको हाराहारीमा उभ्याएको श्रेष्ठ बताउँछन्। रहरले भन्दा पनि दायित्वबोध र छोटो अवधिका लागि सोचिएका भन्दा पनि दीर्घकालीन सोचसहित स्थापित पुरस्कार विश्वासिला देखिन्छन्। नेपाली पुरस्कारहरूमध्ये सबैभन्दा बढी विश्वासिलो मानिएको मदन पुरस्कार यसको लामो इतिहासका कारण प्रतिष्ठित छ। २०१२ सालमा स्थापित यो पुरस्कारका नाममा थुप्रै विवाद नउठेका होइनन् र पनि बर्सेनि बाँडिनाले यसप्रतिको उत्सुकता सर्वसाधारणलाई अझै छ। यही पुरस्कार पाएका कारण लेखक 'सेलिब्रिटी' बनेका पनि छन्। अमर न्यौपानेले 'सेतो धरती' मा यो  पुरस्कार पाएपछि उनी अकस्मात सेलिब्रिटी बने। त्यसैका बलमा उनले देशविदेश घुम्ने अवसर पाइरहेका छन्।

पुरस्कार दिने संस्था जिम्मेवार भयो भने त्यसको ख्याति बढ्ने ढकालको धारणा छ। जति जिम्मेवार संस्था भयो र त्यसले राम्रो रकम पनि दिने भयो भने त्यसको मोह सबैलाई हुने र त्यस्तो पुरस्कारको सम्मान बढ्ने उनी बताउँछन्। थापा पनि पुरस्कारमा राशिको कुरा जहिल्यै पनि महŒवपूर्ण हुने धारणा राख्छन्। 'नोबेल पुरस्कार र म्यान बुकर पुरस्कारको राशि हेर्नुहोस्,' उनी उदाहरण दिँदै भन्छन्, 'ती पुरस्कारप्रति किन कोही साहित्यकार लालायित छन्? किनभने ५० हजार पाउन्ड (६५ लाख रुपैयाँ)को म्यान बुकर पाउनेबित्तिकै तपाईंका सबै ऋण तिरिन्छन्। नोबेल पुरस्कार पाउनेबित्तिकै तपाईंलाई १० वर्षसम्म भोलि के खाने भन्ने चिन्ता पर्नेछैन।'

साहित्य बजारमा दुई लाखे पुरस्कारदेखि एक ढ्याके (एक रुपैयाँ) नगद पुरस्कारसमेत छन्। त्यसो त पुरस्कार भनेको सम्मान गर्ने एउटा काइदा र बिम्बमात्र हो। त्यसमा पैसा नै जोडिनुपर्छ भन्ने हुँदैन। कतिपय वामपन्थी साहित्यकारको समूहले पुँजीवादको विरोधस्वरूप एक रुपैयाँको पुरस्कारसमेत स्थापना गरे। मदन पुरस्कारको धज्जी उडाउन स्थापना गरिएको सो पुरस्कारसमेत हिजोआज चर्चामा आउन छाडेको छ, किनभने अधिकांश साहित्यकार बढी रकमयुक्त पुरस्कारमा नै आँखा गाढ्न थालेका छन्।

ठूलो रकमको पुरस्कार नपाएको झोँकमा, कुण्ठाका कारण वितरण गरिने यस्ता पुरस्कारको इज्जत त बढेको छैन नै, पुरस्कार वितरणमा हुने राजनीतिका कारण पनि यो बदनाम हुन थालेको छ। यस किसिमको बदनामीको पछिल्लो कडीचाहिँ प्रज्ञारूप्रतिष्ठानले गएको असारमा सम्पन्न गरेको कविता महोत्सव बनेको छ। कविता महोत्सवको एकताका कविता सुन्न र को पुरस्कृत भयो भनी थाहा पाउन सर्वसाधारणको ठूलो 'क्रेज' हुन्थ्यो। केही वर्षदेखि प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सवको चासो कमलाई मात्र हुन थालेको छ। पुरस्कारको घोषणा अघिल्लै साता अखबारले छाप्ने नियतिसमेत देखिन थालेको छ। कुनै समय १५/१६ सयले सहभागिता जनाउने सो महोत्सवमा हिजोआज मुस्किलले ढेड–दुई सयको सहभागिता हुने गरेको छ।

विश्वसनीय बनाउन आतुर

पछिल्लो समय ठूलो धनराशिका साथ पुरस्कार पाउन योग्य तथा सम्भावित कृतिहरूको अग्रिम सूची नै प्रकाशन गर्न थालिएपछि भने नेपालमा साहित्यिक पुरस्कार क्रमशः पारदर्शी हुन थालेको हो कि भन्ने भान हुन थालेको छ। यस पटक मदन पुरस्कारले प्रतिस्पर्धीमध्ये ७ वटा पुस्तकको सूची सार्वजनिक गर्‍यो। तर, कसैले सूची अपूरो भएको टिप्पणी गरे भने कसैले सूची निकालेर मदन पुरस्कारले आफ्नो गरिमा घटाएको टिप्पणी गरे। 'मदन पुरस्कार दिने अन्तिम घोषणासँगै कृतिको नाम आउँदा बजारमा त्यस कृतिले जुन तहल्का मच्चाउँथ्यो, अब त्यस्तो रहेन,' मदन पुरस्कार जितिसकेका साहित्यकार युवराज नयाँघरेले भने, 'पहिलेको पुरस्कार घोषणाले एउटा साहित्यकार पूरै सेलिब्रिटी बन्थ्यो भने अब अवस्था त्यस्तो नरहन सक्छ।'

पाण्डे भने यसरी सूचीसहित पुरस्कारका लागि योग्य कृति बाहिर निकाल्नु विश्वसनीय बनाउने वातावरणतर्फको पाइला बताउँछन्। 'मदन पुरस्कारले छोटो सूची निकाल्यो, यो राम्रो प्रक्रिया हो,' उनी भन्छन्, 'यसले नामांकित कृतिको व्यवसाय बढाउँछ, लेखकले पनि हौसला पाउँछ।' संसारकै उदाहरणमा पनि पुरस्कार कसलाई दिइँदैछ, किन दिइँदैछ, दिनुअघिका कृतिहरूको मूल्यांकनजस्ता आधार बनाइन्छ। बुकरको सूची त प्रतीक्षाकै विषय बन्ने गरेको छ। 

मदन पुरस्कार गुठीले पुरस्कार पाउन सम्भावित सात वटा पुस्तकको सूची निकाल्नु भनेको उदार दिलको नमूना रहेको गिरी बताउँछन्। 'हामी पनि पाँच वटा पुस्तकको सूची निकाल्दैछौँ। यसो भयो भने पुरस्कारका लागि दबाब दिनेहरूको धपेडी कम होला भन्ने लागेको छ,' उनी भन्छन्, 'नत्र त पुरस्कार मलाई दिनुपर्‍यो भनेर जीवा लामिछाने (पद्मश्रीका अध्यक्ष) र मलाई पनि हैरान पार्छन्।'

मदन तथा पद्मश्री दुवै पुरस्कार लगभग एउटै समयको छेको पारेर दिइने हुनाले प्रतिस्पर्धा गरेको जस्तो केहीले महसुस गरेको हुन सक्ने गिरी बताउँछन्। 'दुवै पुरस्कार एउटै कृतिले नपाओस् भन्नेमा हामी सचेत छौँ,' उनी भन्छन्।

• राम्रो पुरस्कारले राम्रो आधार बनाएर पुरस्कार दिँदा पुरस्कृत व्यक्तिको व्यक्तित्व उज्यालिने मात्र होइन, पठन संस्कृति बढ्न गई असल समाज निर्माणमा भूमिकासमेत खेल्छ। नारायण ढकाल

• सीमित तथा आफ्नै वरिपरिका व्यक्तिलाई दिने र चयनका निम्ति कुनै वैज्ञानिक आधार नअपनाइने हुनाले पनि पछिल्लो समय पुरस्कारको प्रतिष्ठा बढ्न सकेको छैन। नयनराज पाण्डे

• आसेपासेलाई खुसी पार्न नभई सही कृति र व्यक्तिलाई दिँदा पुरस्कारको प्रतिष्ठा बढ्छ। तर, हाम्रो देशमा पुरस्कार दिने आधार नै छैन। अविनाश श्रेष्ठ

• पुरस्कारको शक्ति यस्तो होस् कि त्यसले बिक्री बढाओस्, लेख्नेको हौसला बुलन्द पारोस्। कुन आधारमा पुरस्कार दिइयो, त्यसले पुरस्कारको नियत प्रष्टिन्छ। 

प्रकाशित: ८ श्रावण २०७३ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App