८ वैशाख २०८१ शनिबार
समाज

'ठग' तिवारीलाई जापानबाट ल्याउँदै प्रहरी

ठगी अारोपमा प्रहरीले पक्राउ गरी नेपाल ल्याउँदै गरेका गोविन्द तिवारी

काठमाडौं- आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब २ करोड रुपैयाँ असुलेर जापान बस्दै आएका कास्की, पुरन्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई त्यहाँबाट डिपोर्ट गरी नेपाल ल्याउने प्रक्रिया नेपाल प्रहरीले थालेेको छ। प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोलले तीवारीलाई डिपोर्ट गरी नेपाल पठाउन कूटनीतिक च्यानलमार्फत जापान प्रहरीलाई पत्रचार गरेको छ।

आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट करिब २ करोड रुपैयाँ असुलेर जापान बस्दै आएका कास्की, पुरन्चौरका गोविन्दप्रसाद तिवारीलाई नेपाल ल्याउन कूटनीतिक च्यानलमार्फत पत्राचार।

'हामीले कूटनीतिक च्यानलमार्फत जापान प्रहरीलाई ठगीको आरोप लागेका गोविन्दप्रसाद तीवारीलाई डिपोर्ट गरी नेपाल पठाउन आग्रहसहितको पत्र पठाएका छौं,' नेपाल प्रहरी, अपराध अनुसन्धान विभाग इन्टरपोलकी प्रमुख एसपी किरण बज्राचार्यले नागरिकसँग भनिन्, 'गोविन्दले नेपाललमा कति रकम ठगी गरेका छन् पत्रमा सबै खुलाएर पठाएका छौं।'

चार वर्षदेखि जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै तिवारीले नाम परिवर्तन गर्दै थुप्रै जनासँग लाखौं रुपैयाँ ठगी गर्दै आएका थिए। डा. क्रिस, गोविन्द तिवारीलगायत नाम उनले ठगी गर्दा प्रयोग गरेको पीडितको भनाइ छ। जापानमा मासिक ३ लाख देखि ५ लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने भन्दै तिवारीले एकै व्यक्तिसँग करिब ४० लाख रुपैयाँसम्म उठाएको पाइएको छ।

'हामीले गोविन्दको नाममा डिभिजन नोटिससमेत जारी गरेका छौं। यही नोटिसका आधारमा अहिले उनी जापान प्रहरीको निगरानीमा छन्। उनको हरेक क्रियाकलाप जापान प्रहरीले नियालिरहेको छ,' बज्राचार्यले भनिन्। जापान छोडेर अन्यत्र भाग्न नसकुन् भनेर डिभिजन नोटिस जारी गरिएको हो।

नेपालमा ठगी गरेको समाचार सार्वजनिक भएपछि एक साताअघि मात्र जापानको टोकियामा रहेका नेपालीले तिवारीलाई पक्राउ गरी त्यहाँको प्रहरीलाई बुझाएका थिए। जापान प्रहरीले उनलाई ८ घन्टा हिरासतमा राखेपछि छोडिदिएको थियो। ठगी सम्बन्धमा आवश्यक कागजात नेपालबाट प्राप्त नहुँदासम्म कारबाही अघि बढाउन नसक्ने जनाउँदै जापान प्रहरीले तिवारीलाई छोडिदिएको हो।

पीडितसँग तिवारीले आफू जापानको टोकियोस्थित लुइस अस्पतालको वरिष्ठ डाक्टर भएको र १३ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएको पीडितलाई बताउँदै आएका थिए। त्यति मात्र होइन उनले आफू जापानस्थित एनजिएन इन्टरप्राइजेजको सिइओ भएको समेत बताएर पैसा असुलेका थिए। तिवारी अधिकांश समय जापानमै बस्छन्। पीडितहरूका अनुसार पछिल्लो दुई वर्षको अवधिमा तिवारीले १९ वटा मोबाइल नम्बर परिवर्तन गरेका छन्। 

अहिले २३ जना व्यक्ति तिवारीबाट ठगिएको भन्दै सहयोगका लागि नेपाल प्रहरीकहाँ पुगेका छन्। २३ जनाबाट तिवारीले १ करोड ९३ लाख ८७ हजार २ सय ३७ रुपैयाँ ठगी गरेको खुल्न आएको छ। तिवारीले पीडितमध्ये थोरै जनासँग मात्र सिधै पैसा बुझेका थिए। बाँकीसँग पैसा उठाउन उनले आफन्त प्रयोग गरेका थिए। उनले सम्पूर्ण तारतम्य मिलाएपछि काठमाडौं र पोखरामा रहेका आफ्नै परिवारका सदस्य र आफन्तलाई रकम बुझ्न लगाउने गरेको पाइएको छ।

पीडितमध्ये धेरैले प्रशान्त भट्टराई (बर्दिया) नाम गरेका व्यक्तिलाई तिवारीको निर्देशनमा पैसा बुझाएका थिए। भट्टराई तिवारीका भान्जा हुन्। प्रशान्तसको अतिरिक्त नेपालमा रहेर पैसा असुल्न तिवारीलाई सघाउनेमा तिलकराज सुवेदी (पोखरा), अमर घर्तीमगर, तिलक मल्ल (काठमाडौं), सुदर्शन मल्ल (काठमाडौं), कविता ढकाल (चितवन), सुशील पन्त (गोरखा), गीता शर्मा (बाग्लुङ), रेखा घिमिरे (तनहुँ), नरमाया पौडेल, रवीन्द्र पौडेल, खेमराज तिवारी र भेषविक्रम थापा छन्।

एक साताअघि पीडितले काठमाडौं सानो भर्‍याङस्थित तिलक मल्लको घरमा गएर धर्ना दिएका थिए। मल्ल लामो समयदेखि जापानमा बस्दै आएका छन्। पीडितले घरमा धर्ना दिएपछि मल्लले सुवास विक भन्ने व्यक्ति पठाई अलमल्याउने काम गर्दै आएका छन्। 'तिलक मल्लले सुवास विक भन्ने व्यक्ति लगाएर हामीलाई भुलाउने बहानाबाजी गर्दैछ। कहिले पैसा लिन आउनु भन्छ, कहिले गोबिन्दको कम्पनीमा काम लगाइदिने भन्छ,' पीडितमध्ये एक गोरखा सौरपानी–४ की अमृता ढकालले भनिन्।

तिवारीबाट ठगिनेको संख्या अझ ठूलो हुने इन्टरपोल प्रमुख बज्राचार्य बताउँछिन्। तिवारीलाई नेपाल ल्याएपछि पीडितका पक्षमा थप कारबाही अघि बढाइने उनले बताइन्।

प्रकाशित: २ श्रावण २०७४ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App