७ वैशाख २०८१ शुक्रबार
अर्थ

वित्तीय संस्थाका मुख्यालय राजधानी ताक्दै

पोखरा- केही वर्षअघिसम्म दर्जनभन्दा बढी विकास बैंक र केही फाइनान्स कम्पनीका पोखरा न्युरोडमा मुख्य कार्यालय थिए। अधिकांश वित्तीय संस्थाले न्युरोडमा मुख्यालय र आसपासमा शाखा कार्यालय राखेर कारोबार गरिरहेका थिए। बैंक तथा वित्तीय संस्थाको भीडले पोखराको न्युरोड 'बैंकरोड'को नामले समेत चिनिएको थियो।

विकास बैंक र फाइनान्स कम्पनी सहित 'क' वर्गको माछापुच्छ्रे बैंकको समेत पोखरामा मुख्य कार्यालय थियो। तर, पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाले पोखरामा रहेका मुख्य कार्यालय धमाधम राजधानी काठमाडौं सारिरहेका छन्। पोखरामा मुख्य कार्यालय रहेको माछापुच्छ्रे बैंकले समेत राजधानीमा 'कर्पाेरेट' कार्यालय खोलेको छ। माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित सबैजसो वरिष्ठ कर्मचारी कर्पाेरेट कार्यालयमा रहेर काम गर्छन्।

राष्ट्रियस्तरको बैंक बनेपछि मुख्यालयलाई राजधानी केन्द्रित गर्न बाध्य हुनुपरेको बैंकरहरु बताउँछन्। डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रथम उपाध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द ढकाल व्यापारिक दृष्टिकोणभन्दा पनि दैनिक उपस्थितिका लागि मुख्यालय राजधानी सार्नुपर्ने आवश्यकता रहेको बताउँछन्। गरिमाले हालैमात्र पोखराबाट राजधानीमा केन्द्रीय कार्यालय सारेको छ।

'अहिलेसम्म सबै काम काठमाडौंमै केन्द्रीत छ। बैंकका नीतिगत काम पनि राजधानीबाटै कार्यान्वयन हुन्छन्,' उनले भने, 'त्यसले पनि हामीलाई राजधानी ल्याएको हो।' पुँजी वृद्धि गरेर आर्थिक रुपमा केही बलिया रहेका बैंक मोफसलमा रहेर त्यो अनुसार कारोबार बढाउन नसक्ने उनले बताए। 'सबैजसो वित्तीय संस्थाको पुँजी अहिले निकै नै बढेको छ। त्यसैले त्यो तहको कारोबार पोखरामा बसेर बढाउन सम्भव रहेनछ,' उनले भने, 'त्यही भएर हामी राजधानी सर्‍यौं। अरुको पनि अवस्था त्यही हो।'

उपत्यकामा सबै क्षेत्रको आर्थिक कारोबार ठूलो रहेकोले पनि बैंक तथा वित्तीय संस्थाका मुख्यालय राजधानी आउन बाध्य भएको उनी बताउँछन्। 'हामीले यसअघि नै राजधानीमा शाखा खोलिसकेका थियौं। तर, अहिले मुख्यालय राजधानीमै सारेका छौं। हिजो शाखामात्र रहनु भन्दा अहिले मुख्यालय सार्दा त्यसको सकारात्मक प्रभाव परेको छ,' उनले भने, 'नीतिगत काम गर्दा पनि हामीलाई सहज भएको छ। जनसम्पर्क बढाउन पनि सघाएको छ।' बैंकर्सहरुका अनुसार राष्ट्रिस्तरको बैंक भए पनि मोफसलम रहँदा पहिचान लुक्ने गरेको छ। 'राष्ट्रियस्तरको बैंक भन्ने, तर, मुख्यालय मोफसलमा राख्दा कतिपय ठूला ग्राहकले विश्वास गर्ने रहेनछन्,' उनले भने।

राष्ट्रबैंकका अनुसार अहिले पोखरामा पोखरा फाइनान्स तथा गण्डकी र ओम डेभलपलमेन्ट बैंकका मात्र मुख्य कार्यालय रहेका छन्। यसअघि यहाँ दर्जन बढी वित्तीय संस्थाका मुख्यालय थिए। ती मध्ये एकअर्कासँग मर्ज भएपछि पनि संख्यात्मक रुपमा केही वित्तीय संस्था घटेका छन्। मर्जपछि अधिक वित्तीय संस्थाले वित्तीय रुपमा ठूलो आकार लिएको र त्यसले कारोबार बढाउन राजधानी तानिरहेको राष्ट्रबैंकको भनाइ छ।

ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारी राजधानीमा कर्पाेरेट डिपोजिट ठूलो आउने भएकाले वित्तीय संस्थाका मुख्यालय राजधानी केन्द्रीत हुने गरेको बताउँछन्। उनका अनुसार मुलुकको बैंकिङ कारोबारको ५९ प्रतिशत काठमाडौंमा हुन्छ। त्यसले काठमाडौंमा वित्तीय संस्थाको ध्यान तान्छ। 'विश्वनियताका लागि पनि बैंकले राजधानीमा मुख्यालय राख्न रुचाउँछन्,' उनले भने, 'मोफसलमै रहेर राष्ट्रियस्तरको बैंकको कारोकार गर्दा पनि अविश्वास गर्ने ग्राहक धेरै हुन्छन्।'

संघीयताका सबै पक्ष कार्यन्वयन भएमा मात्र वित्तीय संस्थाले मोफसलमै केन्द्रीय कार्यालय राख्ने उनले बताए। 'हामी पनि पर्ख र हेरौंको अवस्थामा छौं। संघीयतामा मुलुक प्रवेश गरेर सबै कार्यान्वयन भएमा राजधानी नै जानुपर्ने अवस्था रहेन,' उनले भने, 'नत्र ओमले पनि राजधानीमा मुख्यालय खोल्न सक्ने सम्भावना छ।'

अहिले सबैजसो वित्तीय संस्थाका पर्याप्त शाखा पोखरामा छन्। 'क' वर्गका एउटै वाणिज्य बैंकले समेत आधा दर्जनभन्दा बढीको संख्यामा पोखरामा शाखा खोलेका छन्। एकाध बाहेक धेरैजसो बैंकले पोखरामा एकभन्दा बढी संख्यामा शाखा खोलेका छन्। केही समय अघिसम्म पोखरामै मुख्य कार्यालय रहेका वित्तीय संस्थाका पनि पोखरामा पर्याप्त शाखा रहेका छन्।

राष्ट्रबैंक पदाधिकारी कुनै पनि वित्तीय संस्थालाई राजधानीमै केन्द्रीय कार्यालय खोज्न बाध्यकारी नरहेको बताउँछन्। १, ३ र १० जिल्ला कार्यक्षेत्र भएका वित्तीय संस्थाले कार्यक्षेत्रभित्रै र राष्ट्रियस्तरका बैंकले कुनै पनि जिल्लामा मुख्यालय राख्न सक्ने राष्ट्रबैंक पोखराका उपनिर्देशक वृहस्पति अधिकारी बताउँछन्। 'अहिले अधिकांश वित्तीय संस्था राष्ट्रियस्तरका बनेका छन्। त्यही भएर राजधानीमा केन्द्रीय कार्यालय खोलेका हुन्,' उनले भने, 'मोफसलमा मुख्यालय र राजधानीमा कर्पाेरेट अफिस राखेर पनि कारोबार गर्न सक्छन्। तर, सबैजसोले अहिले राजधानीमा मुख्यालय सारिरहेका छन्।'

राष्ट्रबैंककै अर्का उपनिर्देशक बसन्त थापा मोफसलमा मुख्य कार्यालय रहेका वित्तीय संस्था राजधानी सर्दा त्यसको प्रभाव स्थानीयस्तरमा पर्ने बताउँछन्। 'मोफसलमा शाखा कार्यालय राखेका त छन्, तर, सबै आकारको आर्थिक कारोबार गर्ने अधिकार स्थानीय शाखामा रहन्न,' उनले भने, 'त्यसको मार ठूलो आकारको आर्थिक कारोबार गर्ने ग्राहकलाई पर्नसक्छ।' मर्जरपछि अधिकांश वित्तीय संस्थाले राष्ट्रियस्तरको आकार लिएकाले पनि कारोबार बढाउनकै लागि राजधानीमा मुख्यालय राखेर केन्द्रित भएको हुनसक्ने उनले बताए।

प्रकाशित: २ श्रावण २०७४ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App