७ वैशाख २०८१ शुक्रबार
कला

भिसेन्टको चित्रमा मनिषाको मन

काठमाडौं- 'कार्यक्रम सकियो हैन, एकचोटि सबै चित्र हेरौं न?'

'कार्यक्रम सकिने बित्तिकै हेरिहाल्ने।'

यो सवाल–जवाफ हो अभिनेत्री मनिषा कोइराला र कला समीक्षक रमेश खनालबीचको। गत साता एक चित्रकला प्रदर्शनीको उद्घाटनमा पुगेकी मनिषा औपचारिक कार्यक्रम नसकिँदै चित्र हेर्न हतारिएपछि खनालले उनलाई थुमथुम्याइरहेका थिए। कार्यक्रम सकिएपछि मनिषा ग्यालरी घुम्न थालिन्।

गत साता अरुपण आर्ट ग्यालरी लाजिम्पाटमा फ्रान्सेली कलाकार भिसेन्ट ग्रेबीको कला प्रदर्शनीको उद्घाटन मात्र गरिनन् सबै चित्रको जानकारी लिइन्। हलमा मान्छेको भिड थियो। गर्मी उस्तै। हाते पंखाले गर्मी भगाउँदै मनिषाले चित्र हेरिन्। हरेक चित्र कसरी बने भन्ने जिज्ञासा उनले कलाकारसँग राखिन्। कलाकार भिसेन्ट ग्रेबीले चित्रका बारेमा बताए।

बुबा प्रकाश कोइरालाले मनिषा पनि सानोमा चित्रकार रहेको बताए। 'जब मनिषा चञ्चले उमरेकी थिइन् तब उनी खुब चित्र कोर्न रुचाउँथिन्,’ मनिषासँगै साथै आएका पिता प्रकाश कोइरालाले भने, ‘रंगहरूसँग खेल्थिन्।’ मनिषाले ती बेला बुद्धका, महिलाका र प्रकृतिका चित्र बनाएकि थिइन्। उनले बनाएका धेरै चित्र अहिले पनि उनको घरमा सुरक्षित छन्। ‘क्यान्सर भएपछि चिकित्सकले आराम  गर्न दिएको समय उनले चित्र बनाएर कटाइन्,’ उनले मनिषाले अहिले पनि चित्र बनाउने गरेको बताए।

बुबाको कुरामा मनिषाले सही थापिन्। 'मेरो रुचि  चित्रकलामा पनि थियो। अभिनयमा व्यस्त भएपछि छुटेकोे थियो। आजभोलि फुर्सदमा कोर्छु' उनले भनिन्। उनलाई विश्वप्रसिद्ध कलाकार म्यानगग र मोनेका चित्र मनपर्छन्। प्रदर्शनीमा उनले एउटा चित्र पनि खरिद गरिन्।

फ्रान्समा जन्मिएका भिसेन्ट नेपालमा बसेर कलाकारिता अगाडि बढाइरहेका छन्। फ्रेन्चमा 'आत्रुई'शीर्षकमा बुधबार सुरु भएको प्रदर्शनी भिसेन्टको नेपालमा चौथों एकल प्रदर्शनी हो। उनले नेपाल र विदेशका विभिन्न स्थानमा दर्जनौ कला प्रदर्शनी गरिसकेका छन्।

सातवर्षदेखि नेपालमा आउजाउ गरिरहेका भिसेन्टलाई यहाँका मानिस, कला संस्कृती निकै मनपर्छ।

विश्वप्रसिद्ध कलाकारका कला र कलाकारको जमघटले एकअर्काको कला प्रविधि साट्ने एउटा अवसरका रूपमा यो प्रदर्शनी रहेको उनले सुनाइन्। प्रदर्शनीमा १२ चित्र रहेका छन्। प्रदर्शनी दुईसाता सम्म चल्ने छ।

प्रकाशित: २ श्रावण २०७४ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App