८ वैशाख २०८१ शनिबार
समाज

कुलो फर्काउन गएका उनी फर्किएनन्

(खिम्ती) रामेछाप- शनिबार रातको ११ बज्नै लाग्दा आकाश बेजोडले गर्जेर आयो। मुसलधारे वर्षात सुरु भएसँगै उनको निन्द्रा खुल्यो। उठेर बिजुलीको स्वीच थिची हेरे, बत्ती गएछ। बाहिर चकमन्न थियो।

परिवारका सदस्यलाई नियाले। श्रीमती कृष्णा पल्लो छेउमा निदाइरहेकी थिईन्। माइली छोरी मनिला र पाँच बर्ष मुनिका साना छोरीहरू सुनिता र लालमाई एउटै ओछ्यानमा मस्त निन्द्रामा थिए। छोरो पल्लो खाटमा सुतिरहेको थियो।

वर्षात अझ बढ्दै जान थाल्यो। खिम्ती खोलाको आवाज यसरी बढ्दै गयो कि सायद भेल उर्लेर  बाढी आउने संकेत थियो। उनको घरको माथिबाट सिचाँइका लागि लगेको कुलोमा पानी बढेको छनक पाए उनले।

 'यो कुलोबाट भल बाढी पस्यो भने बजार र हामी सबैलाई बगाउँछ, कुलो फर्काउनै पर्छ,' उनले श्रीमती कृष्णालाई उठाए। श्रीमतीले नजान कर गरिन्। उनी मानेनन्। माइली छोरी मनिलालाई जर्बजस्ती उठाए। 'बाबा जान्न' भन्दै मनिला कराउन थालिन्। कुलो काट्न साथी जानु पर्‍यो, मसँग हिंड भन्दै छोरीलाई टर्च बोक्न लगाएर 'घुम' ओडेर आफू खिम्ती खोलातिर लागे, कुलो फर्काउन।

...

खिम्ती बजारस्थित पुलबाट बायाँ मोडिएर रस्नालु बेताली जाने सडकको मुखबाट माथिल्लो लहरको पल्लो छेउमा छ विमान तामाङको घर। गरिबीले गाउँमा छाक टार्नै समस्या भएपछि फर्पु गाउँका ४५ बर्षीय उनी सुखको सपना बोकेर परिवारसहित १८ वर्षअघि खिम्ती बजार झरेका थिए। 

बनिबुतो गरेर एउटा सानो छाप्रो जोडे तामाङ दम्पतीले। विमान ज्याला मजदुरी गर्न थाले। उनिहरुको गुजारा खिम्ती खोला किनाराको यही बजारमा चल्न थाल्यो।

चार छोरी र एक छोराका बाबु बने विमान। परिवार सदस्य संख्या थपिदै जान थालेपछि तामाङ दम्पतीले बेसीकै एउटा खेत बन्धकीमा लिने निधो गरे। साहुको खेत दुई लाख रुपैयाँ तिरेर कमाइ खानेगरी दुई बर्षका लागि लिए। ऋण तिरेपछि उक्त खेतमा बाली उब्जाउन र कमाइ खान पाउने चलनलाई स्थानीय भाषामा बन्धकी भनिन्छ।

विमान घर बनाउने, गाह्रो लगाउन

लगायत ज्यामी काम गर्न थाले। भरथेग परिवार चल्दै थियो। जेठी छोरीको विवाह गरिदिए। पढाएर छोरोलाई १२ कक्षा उकालिसकेका थिए। साना काखका दुई छोरी र अरु दुई पाँच कक्षामा कक्षामा पढ्दै थिए।

श्रीमतीलाई पेटको रोग लागेपछि स्थानीय डाक्टरको सल्लाह अनुसार उनको उपचार गर्न शनिबार बिहान लोग्ने स्वास्नी सल्लाह गर्दै थिए। 'अलिकति धान बेचेको पैसा छ, अरु ऋण काढेर तिम्रो उपचारमा जाउँ।' 

...

बजारमा बाढी पस्ने डरले छोरीलाई साथी लिएर कुलो फर्काउन गएका विमानले घरबाट निस्केको १० मिनेटपछि छोरालाई फोन गरे। 'खोलामा बाढी आइरहेको छ, बहिनी र म ठूलो छालमा फस्याँै, यो छाल त्यता आउला जस्तो छ, आमालाई उठाएर बहिनीहरू सबैलाई त्यहाँबाट भगाएर बचा है छोरा,' फोन काटियो।

परिवारका सबै सदस्य उठे। बाहिर खिम्ती खोला गर्जेर जमिन हल्लाउँदै थियो। ठूला–ठूला ढुङ्गा पड्केको आवाज आइरहेको थियो। एकै छिनमा खोलामा ठूलो बाढी आयो।

पारी छतेउनी गाउँबाट छिमेकीलाई फोन आयो। 'छतेउनी खोलामा ठूलो बाढी आयो, यहाँका दुई घर बगाइसके, खिम्ती खोलो बढेको आवाज सुनिन्छ, जोगिनु।'

खिम्ती बजारको खोला किनारका स्थानीय उठेर सुरक्षित स्थानतर्फ जान खोजे। छोरा विकासले बाबुलाई सम्पर्क गर्न थाले। मोबाइल सम्पर्क भएन। बाहिर निस्केर हेरे, केही देखेनन्। घरमा रुवाबासी चल्न थाल्यो। 

रोएरै रात काटे तामाङ परिवारले। कुलो फर्काउन गएका श्रीमान् बेपत्ता भए। न त उनी फर्किए। न छोरी नै। कुलो फर्काउने ठाउँ बिहान बगर बनिसकेको थियो। उनलाई त्यही बगर बनेर बहुलाएको खिम्ती खोलाको बाढीले निलिसकेको थियो।

सिङ्गो साहरा गुमायो यो परिवारले।

श्रीमान् कुलो काट्न गएको ठाउँ बगर बनिसकेको छ। त्यही नजिकै रहेको लहरेनीको एउटा घरको नामोनिसान छैन। जहाँ ५८ बर्षकी देवकुकारी केसी र उनको बारी जोत्न गेलुबाट दुई दिन अघि आएर बसेका बासु कार्की बगे।

..

जीवनको साहरा गुमाएपछि तामाङ परिवार शोकमा डुबेको छ। उनलाई श्रीमान् र छोरी वेपत्ता भएको सपना झैं लागिरहेको छ। 'मैले नजानुस् भन्दा गए, सायद अब फर्केर आउन्नन् होला' गहभरी आँशु झार्दै उनले भनिन्, 'भगवान जस्तो श्रीमान्लाई दैवले हरेर लग्यो, आफंै बिरामी छु, मैले यी केटाकेटी कसरी हुर्काउनु।' लुगा धुन र भात पकाउन बाहेक कृष्णा अरु काम जान्दिनन्।

'जग्गा जमिन प्रशस्त भएको भए, गाउँमै बस्थ्यौ होला' उनले रुदै भनिन – 'छोराछोरी हुर्काउँला बढाउँला भनेर गुजारा गर्न यो खोला किनारमा आको, यही खोलाले श्रीमान र छोरी निलिदियो'।

काखका छोरीहरु बाबा खोजिरहेका छन्। उनले बाबा कुलो फर्काउन गएका छन् भन्ने रुँदै जवाफ दिइरहेकी छिन्।

प्रकाशित: २ श्रावण २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App