७ वैशाख २०८१ शुक्रबार
समाज

साउदी अरबमा अलपत्र परेका १२ युवा स्वदेश फर्किए

अलपत्र परेपछि उद्धार गरिएका १२ युवा स्वदेश फर्कने क्रममा साउदी अरब विमानस्थलमा । तस्बिर : गजेन्द्र खालिङको फेसबुक

खोटाङ – साउदी अरवमा अलपत्र परेका १२ युवा स्वदेश फर्किएका छन् । कार्यरत समी इब्राहिम आबु अल्सामत कन्ट्र्याक्टिङ इस्ट कम्पनीले ४ महिनासम्म तलव, खाने र बस्ने सुविधा समेत नदिइ राखेपछि अलपत्र परेका १५ जनामध्ये १२ युवा आइतबार राती स्वदेश फर्किएका हुन् । मेनपावरसँग गरिएको सम्झौता विपरित रोजगारदाता कम्पनीले अर्कै काममा लगाएको, तलव नदिएको, खान बस्ने व्यवस्था नमिलाएको पाइएपछि नेपाली दुतावासको शरणमा ३ महिनासम्म बसेका युवा स्वदेश फर्किएका हुन् । 

धन कमाउने सपनामा उल्टै अलपत्र परेर फर्कनेमा उदयपुरका तारा कार्की र काजी कार्की, चितवनका जीवन महतो, कपिल स्याङतान, अशोक लामा र भक्ती चौधरी, झापाका जीतबहादुर थापा र दिपबहादुर थापा, सिन्धुलीका थिरबहादुर थापा, मोरङका सुसन खड्का, रौतहटका बिजुली मुखिया र भक्तपुरका बालहरि परियार रहेको साउदीअरवबाट खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिए। 

स्वदेश फर्कनेक्रममा १२ युवालाई आइतबार साउदीस्थित एयरपोर्टसम्म पुर्‍याएर बिदाइ गरिएको राईले जनाए । ‘अलपत्र परेपछि तीन महिनासम्म नेपाली दुतावासको आश्रयमा बसेका युवालाई एयरपोर्टसम्म पुर्‍याएर बिदाइ गर्‍यौँ,’ राईले भने, ‘उहाँहरू आइतबार राती ८–९ बजे काठ्माण्डौं ओर्लिनु भयो होला ।’ १५ जना युवा सेल्समेन र मेकानिकल कामका लागि ७ महिनाअघि मेनपावर कम्पनी एच गल्फ ग्रुपमार्फत साउदीअरब पुगेका हुन् । उनीहरुलाई नेपाल फर्कने टिकट र त्यसक्रममा लाग्ने खाना खर्च स्वयं मेनपावर कम्पनीले तिर्नुपर्ने चर्को दवाव दिइएपछि मेनपावर कम्पनीकै खर्चमा स्वदेश फर्काइएको हो । 

कम्पनी मालिकले तलव दिनुको सट्टा धम्की दिने, हातपात गर्ने समेत गरेको पाइएपछि एनआरएन लगायतका विभिन्न संघसंस्थाको पहलमा अलपत्र युवालाई दुतावाससम्म ल्याइएको थियो । दुतावासको शरणमा ल्याइएका उनीहरुलाई नेपालीद्वारा सञ्चालित संघसंस्थाले खानेवस्ने व्यवस्था मिलाएको राईको भनाई छ । कम्पनीले उनीहरुलाई सम्झौता विपरित लटरी (कपडा धुने), आइरन लगाउने काममा लगाएको थियो । काम गर्ने सिलसिलामा परिचयपत्र समेत नदिइ अवैध बनाएर राखेको पीडितको गुनासो छ । श्रम शोषण गरेर दुःख दिइरहेको थाहा भएपछि उद्धारका लागि विभिन्न संघसंस्थामार्फत नेपाली दुतावासमा खबर पुगेपछि दुतावास र तिनै संघसंस्थाको पहलमा उनीहरुलाई दुतावासको सेल्टरमा ल्याइएको राईले बताए । 

अलपत्र परेकामध्ये पर्वतका देवबहादुर राना, महोत्तरीका जोककुमार राई दनुवार र ईलामका प्रेमराज लिम्बूको पनि स्वदेश फिर्तीका लागि प्रकृया अघि बढेको छ । उनीहरु केही समयपछि स्वदेश फर्कने जनाइएको छ। 

 

प्रकाशित: २ श्रावण २०७४ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App