अलगयात्री

आइएनजीओको जागिर छाडेर कवाडीवाली!

सोमबार, ०२ साउन २०७४, १३ : १२ खिलक बुढाथोकी  | @KhilakB


परिवारको चाहनाले हुन्थ्यो भने आयुसी केसी यतिबेला कुनै कार्यालयमा काम गरिहेकी हुन्थिन्। उनको अभिभावकको चाहना थियो, आयुसीले पढेर कुनै कार्यालयमा जागिर गरून्।

आयुसीले जागिर नखाएकी पनि होइनन्, मात्र रमाउन नसकेकी हुन्। कहिले उद्योग वाणिज्य महासंघमा काम गरिन्, कहिले गोर्खा ब्रुअरीमा। पछिल्लो समय उनी युएसएडको प्रोजेक्टमा काम गरिरहेकी थिइन्। तैपनि उनी रमाउन सकिनन्। जागिरले उनलाई आनन्द नै दिन सकेन। यसको एउटै कारण थियो– उनी आफैँ केही गर्न चाहन्थिन्।

‘मेरो कामले समाज, समुदाय तथा देशलाई पनि केही योगदान दियोस् भन्ने लाग्थ्यो,’ आयुसी भन्छिन्, ‘जहाँ काम गरे पनि त्यस्तो अनुभव गर्न सकिनँ।'

सिनामंगलकी स्थानीय आयुसीले शुभतारा स्कुलबाट एसएलसी, रातो बंगालाबाट प्लस टु र काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिएमा स्नातक गरिन्। बिबिए पढ्ने बेलै साथीहरूसँग मिलेर उनले कलेजमै क्यानटिन चलाएकी थिइन्। क्यान्टिनमा पनि आयुसी रमाउन सकिनन्।

‘मेरो कामले समाज, समुदाय तथा देशलाई पनि केही योगदान दियोस् भन्ने लाग्थ्यो,’ आयुसी भन्छिन्, ‘जहाँ काम गरे पनि त्यस्तो अनुभव गर्न सकिनँ।'

उनले विद्यालय पढ्दैदेखि बाटोतिर फोहोर देखिरहेकी हुन्थिन्। त्यतिबेलै उनी सोच्थिन्, ‘कुनै दिन यस्तै फोहोर व्यवस्थापनको कार्य गर्नेछु।’

अघिल्लो वर्ष विवाह गरेकी २७ वर्षीया आयुसीले कवाडी संकलन गर्नेबारे घरमा सुनाइन्। ‘पहिलोपटक त सबै हाँसे,’ उनी भन्छिन्, ‘कन्भिन्स गर्दै गएपछि भने सबैले सहयोग गर्ने आश्वासन दिनुभयो।’

त्यसपछि उनले कम्पनी दर्ता गरिन्। कम्पनी रजिस्टरको कार्यालमा त पुगिन् तर उनको कामबारे कर्मचारी नै अलमल परे। आयुसीले कम्पनीको जुन उद्देश्य राखेकी थिइन्, त्यो सरकारी नियमबमोजिम कुनै उद्योगमा पनि मिलेन। अन्ततः उनको कम्पनी कवाड उद्योगमा दर्ता भयो। कम्पनीको नाम रह्यो, खाली सिसी म्यानेजमेन्ट प्रालि। उनले कवाडवाला भनेर प्रमाणपत्र पाइन्।

‘कवाडवाला लेखेको प्रमाणपत्र घरमा देखाउँदा सबैजना हासेँ,’ उनले सुनाइन्, ‘घरमा हाँसेर त केही थिएन, छरछिमेक वरपरकाले फलानाकी छोरी वा बुहारी बौलाही भन्ने हुन् कि भन्ने डर बढी भयो।’

यद्यपि आयुसी आफ्नो उद्देश्यमा अडिग रहिन्। उनले वेबसाइट पनि खोलिन्, खाली सिसी डट कम। अनलाइनमै पुनः प्रयोग हुने सामग्रीको अर्डर लिन थालिन्। सम्पर्कमा आएको सामग्री उठाउन उनले 'खाली सिसी, पुराना कागज, फलाम बन्दै' टोलटोलमा साइकल लिएर डुल्ने दाजुभाइको सहयोग लिइन्।

‘कवाडीका सामान उठाउने दाइहरू दिनभरि साइकल डोर्‍याएर हिँड्नुहुन्छ। कहिले रित्तै फर्किनुहुन्छ त कहिले सामग्री लिएर,’ आयुसी भन्छिन्, ‘अनलाइनबाट सम्पर्कमा आएको कवाडी सामान उठाउन तिनै दाइहरूको सहयोग लिएँ।’

कवाडी सामान उठाउन झन्डै एक सयजना अहिले आयुसीको सम्पर्कमा छन्। ‘उहाँहरुले नियमित आफ्नो काम पनि गरिरहनुभएको छ,’ उनले भनिन्, ‘मैले दिएको काम उहाँहरूलाई एक्स्ट्रा रोजगार भएको छ।’ आयुसीको कम्पनीमार्फत काम गर्दा भने साइकल डोर्‍याएर टोलटोलमा घुम्नुपदर्ैैन। बोलाइएको ठाउँमा गएर सामान ल्याउने हो।

आयुसी भन्छिन्, ‘यसरी जानेले मेरो कम्पनीको कार्ड भिरेका हुन्छन्। मेरो कम्पनीमा काम गर्ने दाइहरू निकै खुसी हुनुहुन्छ।’

आयुसीको सम्पर्कमा आएको सामान उठाउन जाँदा भने उनीहरूलाई १५ प्रतिशत बढी पर्न जान्छ। उनीहरू जति मूल्य बराबरको सामान उठाउँछन्, त्यसको १५ प्रतिशत आयुसीको कम्पनीलाई दिनुपर्ने हुन्छ।

उठाएको सामान बेच्ने पनि कवाडीमै हो। अहिले कम्पनीले आफ्नै कवाडी सञ्चालन गरेको छैन। सञ्चालन गर्ने योजनाअनुसार अहिले अनुसन्धान भइरहेको आयुसीले बताइन्।

आयुसीको कम्पनीलाई कवाडी सामान दिँदा मूल्य लिएर वा दानस्वरूप पनि दिन सकिन्छ। वेबसाइटमै मूल्य वा दान भनेर खुलाउन मिल्छ। 'कसैले दान गरेको सामान छ भने त्यसलाई कवाडी सामान उठाउने दाइहरूले बेच्न सक्नुहुन्छ,' उनले भनिन्, ‘वातावरण जोगाउन उहाँहरूको ठूलो योगदान छ। तर हाम्रो समाजमा उहाँहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन।'

आयुसीको योजना छ, कवाडी सामान उठाउनेलाई सम्मान दिलाउने। पुनः प्रयोग हुने फोहोर डम्पिङ साइटमा नपुगोस् भन्ने उनको चाहना हो। विभिन्न तथ्यांक अनुसार पुनः प्रयोग हुने करिब ७० हजार टन फोहोर वार्षिक रुपमा डम्पिङ साइटमा जाने गर्छ।

करिब ६ महिनाअघि सुरु गरेको आयुसीको कम्पनीमा अहिले दैनिक दर्जनौँ ठाउँबाट पुनः प्रयोग हुने कवाडी सामान उठाउन बोलाउँछन्। ‘हामीमा अझै पनि फोहोर संकलनको संस्कृति बसिसकेको छैन,’ उनले भनिन्, ‘पुनः प्रयोग हुने फोहोर संकलनको संस्कृति बसाउने पनि प्रयास हो मेरो।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...