coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हलेसी र बराहपोखरीमा बोलबम मेलाको भीड

दर्शनका लागि हलेसीको महादेवगुफाभित्र प्रवेश गरेका दर्शनार्थी । तस्बिर : दमन राई

खोटाङ – ‘बोलबम’ मेलाको अवसरमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र बराहपोखरीमा दर्शनार्थीको भीड लागेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवशरमा जिल्लाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल हलेसी र बराहपोखरीमा आइतबार बिहानदेखि दर्शनार्थीको बाक्लो भीड लागेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिकस्थल हलेसीमा सुरु भएको बोलबम मेलाको अवशरमा पैदल तथा यातायातका सवारी साधनमार्फत आएका दर्शनार्थीको बाक्लो घुइँचो लागेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले बताए । यस्तै, बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पैदल यात्रामार्फत आएका दर्शनार्थीको भीड लागेको छ । हलेसी र बराहपोखरीमा साउनभरी हरेक सोमबारका दिन ठूलो मेला लाग्ने गरेको छ । 

बोलबम मेलाको अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट गेरु वस्त्रधारी दर्शनार्थी आउने गरेका छन् । हलेसीमा घुमफिर गर्दै सामुहिकरुपमा उच्चारण गरिएको ‘बोलबम’ शब्दले हलेसी गुञ्जयमान बनेको छ । संख्या पनि उत्तिकै देखिन्छ । हलेसी मन्दिर व्यवस्थापन समितिका अनुशार अहिले दैनिक हजारदेखि दुई हजार दर्शनार्थीले हलेसीमा दर्शन गर्ने गरिरहेका छन् । साउनको सुरुवातसँगै उदयपुरको कटारी–घुर्मी–हलेसी सडक खण्डमा भारतीय नम्बर प्लेटका जीप र मोटरबाईकको बाक्लो आवत–जावत भइरहेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रतेक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । 

हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् । हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो  मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ । ‘विशेषगरी हिमालतर्फ फर्केको श्रोतको शुद्ध पानी चढाउँदा चिताएको पुग्ने जनविश्वास छ,’ हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक भुजेलले भने, ‘हलेसीमा सोही अनुसारको पानी चढाउने गरेको देखिन्छ ।’ 

बोलबमको अवशरमा हलेसी आएका दर्शनार्थीका कारण हलेसीका साना तथा ठूला होटलहरु भरिएका छन् । ‘अहिले हलेसीको सबै होटलहरु भरिभराउ छन्,’ नाछिरिङ होटल हलेसीका सञ्चालन खगेन्द्र राईले भने, ‘बोलबम मेला पनि जिल्लाको आन्तरिक आयश्रोतको माध्यम बन्दै गएको छ ।’ साउन लागेयता हलेसी र बराहपोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुषको चहलपहल हुने गरेको छ । स्थानीयका अनुसार हलेसी र बराहपोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने केही वर्षअघि देखि मात्र सुरु भएको हो । तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी महादेव विकास समितिले जनाएको छ। 

तराईबाट सिधै कटारी–घुर्मी–जयरामहुँदै हलेसीसम्मको यातायात सेवा विस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको संख्या वर्षेनी बढ्दो रहेको छ । 

 

प्रकाशित: २ श्रावण २०७४ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App