८ वैशाख २०८१ शनिबार
कला

धरानमा दार्जिलिङका दुई कवि

धरान- बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै

बजिया आँखाहरु

सिधा हेर्नुको अभियोगमा दर्ता

मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा ।

कसले देख्नु भनेको थियो ?

घनटाउके प्रश्न झैं

घनटाउके मान्छेहरु ? घनटाउके सपनाहरु ?

दार्जिलिङका कवि भुपेन्द्र सुब्बाले आफ्नो कृति ‘बजिया आँखाहरु’को शिर्षक कविता वाचन गर्दा पर्र ताली बज्यो । उनले वाचन गरेका हरेक कविताले वाहवाही र ताली पायो । धरान ९ स्थित होटल रत्न इनमा कलरव धरान र कवि विमल गुरुङ स्मृति पुस्तकालयले दार्जिलिङका कवि सुब्बा र सुधिर क्षेत्रीलाई साहित्यनुरागीमाझ उभ्याएको थियो । निरन्तरको बर्षालाई पनि वेवास्ता गर्दै साहित्यका पारखीहरु दुवैलाई सुन्न पुगेका थिए । दुवैले साहित्य पारखीहरुलाई निराश बनाएनन् । सुब्बापछि माइला र युद्ध शिर्षकको कवितामा यसरी कड्किए अर्का कवि सुधिर क्षेत्री,

युद्धको बान्ता सोहोरेको उसले

युगौंँ ।

त्यसैले उसको आङबाट निस्कन्छ

विखालु पाण्डुलिलिपको दुर्गन्ध,

उसको घाँटीबाट फुस्कन्छ सन्धि चिच्याएको क्रन्दन,

उसको जुँगामा गनाउँछ ताजा बोफोर्सको गन्ध ।

माइला देशका निम्ति टाइमपास हो ।

सन् १८१६ को सुगौली सन्धीपछि नेपालको सीमा मेचीमा खुम्चिए पछि दार्जिलिङ र त्यहाँका नेपालीहरु पनि भारतीय हुन पुगे । तर, उनीहरुको मन सधै नेपाली रहिरह्यो । पहाडकी रानी(दार्जिलिङ)मा नेपाली भाषा, साहित्यमा कलम चलाउने थुप्रै साहित्यकारहरु जन्मिए । ति मध्येका समकालीन युवा कवि हुन्, भुपेन्द्र र सुधिर । मेची पारिको भारतीय नेपाली बाहुल्य क्षेत्रमा दुवै कविको चर्चा छ । त्यता दुवै सुनिन्छन्, पढिन्छन् । शनिबार भने दुवै कविलाई धरानमा नेपाली साहित्यकार र पाठकहरुले प्रत्यक्ष सुन्ने, पढ्ने अवसर पाए ।

कवि सुब्बाको पछिल्लो कविता संग्रह हो ‘बजिया आँखाहरु’ । क्षेत्रीको संग्रह हो, ‘फेरी अर्को अनुष्टुप’ । कार्यक्रममा कविद्धयले संग्रहका कविताहरु सुनाए । साहित्यकारहरुले कृतिमाथि चर्चा गरे । कवि सुब्बाको कृति ‘बजिया आँखाहरु’माथि चर्चा गर्दै कवि वम देवानले सुगौली सन्धीले जर्बजस्ती टुक्रिएको भुमिलाई प्रवास र त्यहाँका भारतीय नेपालीलाई प्रवासी भन्न नसकिने धारणा राखे । ‘राजनैतिक कारणबाट सुगौली सन्धी भएर टुक्रिएको नेपाली भुमि हो, बाध्यताले टुक्रिएको भुभाग र त्यहाँका नेपालीलाई प्रवासी सम्झदैनौं, मान्दैनौं’–कवि देवानले भने–‘उहाँहरु दुवै कवि भारतीय नेपाली साहित्यलाई उचाईमा पुर्याउने उच्चस्तरको कवि हुनुहुन्छ ।’ आँखा सुन्दर, मायालु हुने तर्क गर्दै कवि सुब्बाले बजिया भनेर गाली गरेपनि त्यो ब्यङ्ग्य भएको देवानको धारणा थियो । ‘जे देखेको छ, त्यो सिधै भन्न सक्ने स्थिति नभएपछि घुमाउरो पारामा यो बजिया आँखा नै उस्तो भन्दै कविले लेखेका छन् । मेटाफोरकोरुपमा कविताहरु आएको छ’–देवानले भने ।

साहित्यकार कुन्ता शर्माले क्षेत्रीको फेरी अर्को अनुष्टुपमाथि चर्चा गर्दै कवितामा दिनानुदिन भोगिरहेको समस्याहरु उठान भएको बताइन् । उत्तरअनुनिकतावाद र राजनीति, शासकप्रति ब्यङ्ग्य भरिएको कविताहरु पनि रहेको शर्माको भनाई थियो । ‘विश्वमा अहिले दिनहु आतंकवादको नाममा त्रस्त हुनुपरिरहेको छ, उहाँको कविताहरुमा पनि युद्धको भय छ, त्रासदी छ’–कवि शर्माले भनिन् । कार्यक्रममा सुब्बाले एक दर्जन कविता वाचन गरेका थिए भने क्षेत्रीले ८ वटा कविता वाचन गरे । ‘कविताबारे शब्द, कला, शैली हुनुपर्छ कि विचार भन्ने युवाहरु छौं, हामी त्यो बीचबाट कविता लेखिरहेका छौं’–कवि क्षेत्रीले मेची परिको साहित्य माहौलबारे थोरै टिप्पणी गरे । कार्यक्रम विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक पुर्णबहादुर गुरुङको अध्यक्षतामा भएको थियो।

प्रकाशित: ८ श्रावण २०७३ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App