७ वैशाख २०८१ शुक्रबार
कला

पराइ बन्दै पप गीत

काठमाडौं – ९० को दशकमा ‘क्रसरोड’ ब्यान्डबाट नेपाली पप गायनमा उदाएका सञ्जय श्रेष्ठ सात वर्ष पछि ब्यान्डको छैटौं एल्बम ‘थ्यांक गड इट्स फ्राइडे’ ल्याउने तयारीमा छन् । सात वर्षसम्म व्यक्तिगत र व्यावसायिक कारणले सांगीतिक क्षेत्रमा नदेखिए पनि उनले नेपाली पप गीतको अवस्थालाई राम्ररी नियालेका छन् । आफ्नो समयको जस्तो पप गीतको क्रेज अहिलेको पुस्तामा नदेखिएको सञ्जयको बुझाइ छ ।

विश्वविख्यात गायक माइकल ज्याक्सनको नृत्य शैली पछ्याएर चर्चित बनेका गायक धिरज राई अहिले अंग्रेजी एल्बमसँगै २६ देश घुम्दाको संस्मरण ‘मेरो विश्व यात्रा नेपाली पपसँगै’ पुस्तक बजारमा ल्याउँदैछन् । पप गीत कम बजेको गुनासो सुन्ने गरेका धिरज त्यो गुनासोलाई विश्वास गर्दैनन् ।

सञ्जय र धिरज एकताका नेपाली पप संगीतका चर्चित अनुहार हुन् । केही वर्षदेखि आफ्नै काममा सक्रिय उनीहरूको आ–आफ्नो गुनासोलाई सुन्दा पप गीतको अवस्थाबारे थाहा पाउन सकिन्छ । एकसमय रेडियो र टेलिभिजनमा पपगीत बजेसँगै पप सम्बन्धी कार्यक्रम प्रशस्तै हेरिन्थे, सुनिन्थे । तर अहिले अवस्था फरक छ । प्रविधिको विकाससँगै गायकगायिकाहरू एल्बमभन्दा सिंगल ट्रयाक र गुणस्तरका लागिभन्दा युट्युब भ्युजका लागि गीत गाउन थालेपछि पप गीत बजारबाट हराउँदै जान थालेका छन् । फिल्म, आधुनिक र लोकदोहोरी गीतको चापले गर्दा पनि पप गीतमा मानिसमा चासो कम हुन थालेको छ ।

नयाँ पुस्ताको आगमनबाट खुशी बनेका गायक सञ्जय आफ्नो समयको जस्तो पपको क्रेज नदेख्दा उत्तिकै दुःखी पनि छन् । ‘हाम्रो पालाको जस्तो पपगीतको अवस्था छैन । त्यो कुरामा मलाई दुःख लाग्छ,’ सञ्जयले नागरिकसँग भने, ‘गायकगायिकाहरूले आफ्नो लेभल के हो थाहा पाउन सकेनन् । उनीहरूले सस्तोमा गाइदिए । यसले गर्दा पनि पप गीतको भ्यालु घट्यो ।’ ‘माया मेरी माया’, ‘टाढा नजाइ देऊ तिमी’, ‘एउटा गाउँ थियो’ लगायतका गीतका स्रष्टा सञ्जय र उनको समूह दुई महिनापछि नयाँ एल्बम ‘थ्यांक गड इट्स फ्राइडे’ बजारमा ल्याउँदैछन् ।

सन् ९० ताकाकै समयमा ‘रहरै रहर’ एल्बमबाट गायनमा डेब्यु गरेका गायक नविन के भट्टराईलाई डेब्यु एल्बमकै गीत ‘आँखामा तिमीलाई’ ले चर्चामा ल्यायो । पप गायनमा आफ्नै फ्लेबर दिएर अग्रजको आलोचनासमेत खेपेका नविन दशैं अगाडिसम्म चौधौं एल्बम ल्याउँदैछन् । तर, उनलाई पनि पप गीतको क्रेज कम हुँदै गएको अनुभव छ । नविन भन्छन् ‘अहिले पपभन्दा पनि समग्र संगीतको अवस्था देखेर चिन्तित छु । पहिले–पहिले क्यासेट सिडीको व्यापक बिक्री हुन्थ्यो । अहिले त युट्युबले गर्दा पहिलोका जस्तो वातावरण नै रहेन । सबैको ध्यान युट्युबमा छ । त्यसकारण पनि पप गीतको मात्रा कम भएको हो कि भन्ने आभाष हुन्छ ।’

अहिले सिंगल गीत मात्र निकालेर भिडियो बनाइरहेका नविन गीत रेकर्डको सबै काम सकिएपछि एल्बमको नाम जुराउने ध्याउन्नमा छन् ।

तर, गायक धिरज राई सिंगल ट्रयाक निकालेर भिडियो बनाउनुलाई अस्वभाविक मान्दैनन् । ‘नेपाली पप गीत नबजेको गुनासो सुन्छु । मलाई लाग्छ त्यो बुझाइ गलत हो । किनभने हामीले नेपाली पपलाई एउटा अध्यायसम्म पु¥याइसकेका छौं । जुन ठाउँबाट पप गीत कहिल्यै मेटिँदैन,’ उनको दाबी छ ।

गायिका आस्था राउत मौलाएको युट्युब संस्कृतिले पप गीतको एल्बम बजारमा आउन गाह्रो भएको दाबी गर्छिन् । सिंगल ट्रयाकका गीत र त्यसको भिडियो बनाउने चलनले पप गीत कम सुनिन थालेको बताउने उनले आफूले स्रोताको मागका कारण एल्बम निकालेको बताइन् । ‘मैले बजारको हिसाबले कहिल्यै एल्बम निकालिन । आफ्नै संघर्षले एल्बम गरें । अहिले स्रोताले खै तपाईंको गति र एल्बम भनेर सोध्छन्,’ उनले भनिन्, ‘फिल्मको गीतभन्दा पनि दर्शक एल्बमको गीत खोजिरहेका छन् ।’ परिवर्तित समय र युट्युब लक्षित दर्शकका कारण पनि पप गीतको संख्यामा कमी आएको हुनसक्ने आस्थाको बुझाइ छ ।

एक वर्षअघि सोलो एल्बम ‘प्राश्ना’ बजारमा ल्याएकी गायिका प्राश्ना शाक्य अहिले धमाधम सिंगल ट्रयाकका गीत निकालिरहेकी छन् । ‘अहिले बजारमा सिंगल ट्रयाक नै चलिरहेको छ । एल्बमको गीत चल्यो भने १ देखि २ वटासम्म मात्र चल्छ । तर  सिंगल चाहिँ ती गीतभन्दा बढी चल्छ,’ प्राश्नाले भनिन्, ‘पहिला सबै किसिमका गीत सुन्ने श्रोताहरू अहिले कसैले पप, कसैले लोक वा आधुनिक मात्र सुन्न थालेका छन् ।’

आधुनिक गीत हिट हुँदा आधुनिक गीतको बाढी र आइटम गीत हिट हुँदा आइटम गीतको बाढीले पनि अन्य गीत कम सुनिएको उनको दाबी छ ।

एल्बम उत्पादक एसियन म्युजिक कम्पनीले हालसम्म आधुनिकसँगै पप एल्बम पनि निकालिरहेको छ । तर पप एल्बम उत्पादनको मात्रा कम छ । कम्पनीका प्रमुख ईश्वर गुरुङका अनुसार सिंगल ट्रयाकका गीत निकालेर भिडियो बनाउने चलनले पनि पहिलाको जस्तो पप गीतको क्रेज छैन । ‘प्रविधिले गर्दा स्रष्टाको सिर्जना नै हरायो । युट्युबले गुणस्तरीय गीत भन्दा पनि कसले कति छिटो गीत गाउने र भिडियो बनाउने संस्कार बसालिदिएको छ,’ ईश्वर भन्छन्, ‘यस्तो कामले नकारात्मक सन्देश दिने खालका गीतले प्रश्रय पाएका छन् । कसले कस्तो गीत निकाल्यो भन्दा पनि कसको भिडियो कति जनाले हेरे भन्नेमा सबैको ध्यान छ । पैसा लगानी गरेर दर्शक बढाउने चलनले पनि अग्र्यानिक दर्शक कमै मात्र पाइएको छ ।’ भिडियो बनाउने चलन बढ्नु र पप एल्बम कम उत्पादन हुनुले पनि एफएममा कमै मात्र पप गीत बज्ने गरेको उनको बुझाइ छ ।

प्रकाशित: ४ श्रावण २०७४ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App