coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारततर्फको निकासी १९ दिनदेखि ठप्प, कुहिन थाल्यो अदुवा

निर्यात ढिलाइले गोदामकै कुहिएको अदुवा। तस्बिर : भीम

इलाम—इलामका व्यापारीले भारततर्फ अदुवा निकासी गर्न नसकेको बुधबार १९ दिन पुगेको छ। निकासीका लागि थुपारिएको अदुवा समयमै निकासी हुन नसक्दा कुहिन थालेको छ। केही दिनअघिसम्म भारत सरकारले भन्सार शुल्क हेरफेर गरेका कारण निर्यात असहज भएकामा अहिले व्यापारी र निर्यातकर्ताले पेश गर्नुपर्ने आयात–निर्यात अनुमति (एक्जिम कोड) नहुँदा निर्यात रोकिएको हो।

झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका अनुसार सरकारले यही साउन १ देखि सामान आयात र निर्यातमा एक्जिम कोर्ड अनिवार्य गरेको छ। यसअन्तर्गत व्यापारीले सामान निर्यात गरेर त्यसको आम्दानी नेपाल ल्याउँदा आफ्नो प्यान नम्बर भन्सारमा बुझाएर निर्यातको अनुमति लिनुपर्नेछ। त्यतिमात्र होइन, सामान बिक्री गरेर अब नोट ल्याउन पाइने छैन । बैंक खातामार्फत् ल्याउनुपर्नेछ।

बेला–बेला विभिन्न कारणले अदुवा निकासीमा भइरहेको अवरोधले किसान र व्यापारीलाई निकै समस्यामा पारेको बताए।

‘५ लाख रुपैयाँभन्दा माथिको कारोबारमा यो नियम साउन १ देखि लागू भएको छ,’ भन्सार अधिकृत दीपेन्द्रकुमार झाले भने, ‘अब पहिलाजस्तो व्यापारीले आफ्नो सामान भारत लैजाने अनि नोट नै लिएर आउने गर्न पाउने छैनन्।’ उनले व्यवसायको प्यान नम्बर दर्ता गरेर कुनैपनि बैंकको खातामार्फत मात्रै रकम ल्याउने व्यवस्था लागू भएको बताए। आयात–निर्यातको रेकर्ड चुस्त बनाउन सरकारले यो नियम ल्याएको उनको भनाइ छ।

सामान आयात गर्दा भने व्यापारीले बैंक जमानतसमेत राख्नुपर्ने भन्सारको नियम लागू भएको छ । अब कुनै पनि व्यापारीले ३ लाख रुपैयाँभन्दा माथिको सामान आयात गर्दा भन्सारमा बैंक ग्यारेन्टीसमेत देखाउनुपर्नेछ। ‘सामान आयात गर्दा पनि प्यान नम्बर भन्सारमा देखाउनुपर्छ, अनुमति र बैंक ग्यारेन्टी चाहिने भएको छ,’ उनले भने, ‘दुवैखाने अनुमतिका लागि प्यान नम्बर, उद्योग दर्ताको प्रमाणपत्र, सम्बन्धित स्थानीय तहको सिफारिसलगायतका कागजात आवश्यक हुन्छ ।’ उनले व्यापारीले कागजात पुर्‍याएपछि भन्सारले तोकिएको फाराम भरेर अनुमति प्रदान गर्ने पनि जानकारी दिए।

पूर्वी पहाडका व्यापारीले अहिलेसम्म अदुवा, कुचो, अलैंचीलगायत निकासी गर्दा आफू सोझै र भन्सार एजेन्टमार्फत् कारोबार गर्दैछन्। धेरैजसो अदुवा व्यापारी भन्सार एजेन्टमै भर परेको र एजेन्टले तत्काल आयात–निर्यातको अनुमतिलगायत प्रावधान नपुर्‍याउँदा अदुवा निकासी रोकिएको स्वयं व्यापारी नै बताउन थालेका छन्। बिब्ल्याँटे बजारका अदुवा व्यापारी कृष्ण पौडेलले अलि दिनअघिसम्म भारतका कारण रोकिएको अदुवा निकासी अहिले एजेन्ट र व्यापारी स्वयंकै कारण निकासीमा ढिलाइ भइरहेको बताए।

‘निकासीको काम लर्निङ बाई डुइङ नै भइरहेको छ,’ उनले भने, ‘अब व्यापारी पनि एजेन्टको मात्र भर नपरी आफैं प्रावधान पुर्‍याएर निकासी–पैठारीमा लाग्नुपर्छ।’ पौडेलले आफूजस्ता व्यापारीका दर्जनौं अदुवा भरिएका ट्रक यतिबेला इलाम र झापाका राजमार्गमा निकासी कुरेर बसेको बताए। ‘अलि दिनअघिसम्म भारतकै कारण निकासी अलमल भएको पनि साँचो हो,’ उनले भने, ‘अब चाहिँ हामी व्यापारीले नै जति छिटो प्रावधान पुर्‍यायो, उति नै छिटो निकासी खुल्नेछ ।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलले व्यापारीहरू अदुवा निकासीमा आतुर भए पनि प्रक्रियाको अलमलले निकासी ढिलो भइरहेको बताए। ‘अब अदुवाको निकासी भारतले रोक्यो मात्रै भनेर पनि हुँदैन, व्यापारी आफैंले तोकिएको प्रावधान पुर्‍याउन ढिलो गर्नुहुँदैन।’ उनले बेला–बेला विभिन्न कारणले अदुवा निकासीमा भइरहेको अवरोधले किसान र व्यापारीलाई निकै समस्यामा पारेको बताए।

भारतले भर्खरै कृषिजन्य वस्तुको आयातमा लाग्ने भन्सारदर बढाएपछि अदुवाको मुख्य सिजनमा निकासी अवरोध भएको थियो । भन्सारदर समायोजनमा समय लागेका कारण करिब ३ सातादेखि अदुवाको माउ भारत निकासी बन्द हुँदा पूर्वी पहाडका किसान र व्यापारी तनावमा थिए। ‘अब भोलि–पर्सिसम्ममा अदुवा निकासी खुलाउन व्यापारीहरू सफल हुनेछन् भन्ने अनुमान छ,’ अध्यक्ष कट्टेलले भने ।

असारदेखि भदौसम्म अदुवाको माउ निकाल्ने मुख्य सिजन हो। पूर्वी पहाडको महत्वपूर्ण आम्दानीको स्रोत अदुवाको माउ निकाल्ने र बेच्ने बेला निकासी रोकिएकाले किसान र व्यापारीलाई आर्थिक समस्या परिरहेको छ। नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन्। अहिले इलामको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, पश्चिमी मंगलबारे, पूर्वी फिक्कललगायत बजारमा सयौं क्विन्टल अदुवा थन्किएको छ।

नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वको छ। आर्थिक वर्ष २०७२/०७३ मा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार ९ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। त्यस आवमा जिल्लाका किसानले अदुवा बेचेर २ अर्ब २० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ। बिब्ल्याँटे, मंगलबारे, फिक्कल, नयाँबजारलगायतका बजारमा अदुवाको किनबेच हुने गरेको छ । किसानले असारदेखि भदौमा माउ र कात्तिक–मंसीरमा अदुवाको नयाँ उत्पादन खनेर बेच्छन्। मेची राजमार्गले छोएका कोल्बुङ, हर्कटे, तीनघरे, इलाम, राँकेलगायत बजारमा अदुवाको बिक्री हुने गरेको छ।

पाँचथरका यासोक, रानीगाउँ, स्याम्बरुम्बा, माङ्जाबुङलगायत गाविसमा वैकल्पिक खेतीका रूपमा अदुवा लगाइएको छ। ताप्लेजुुङका किसान पनि अदुवा खेती लागेका छन्। जिल्लाका साब्लाखुु, सिनाम, नाङखोल्याङ, थेचम्बु र सादेवा गाविसका किसान अदुवा खेतीमा छन्।

प्रकाशित: ४ श्रावण २०७४ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App