८ वैशाख २०८१ शनिबार
अर्थ

१९ दिनदेखि भारतले रोकेको अदुवा निर्यात खुला, ढुक्क हुने अवस्था नरहेको व्यापारीको भनाइ

भारतले निर्यात रोकेपछि इलाममा कुहिएको अदुवा। तस्विरः भीम चपागाईं

पानीट्यांकी (भारत)— अनेकौं बहाना गर्दै मुख्य सिजनमा १९ दिन अदुवा आयात रोकेपछि भारतले बुधबारदेखि अवरोध हटाएको छ। बुधबार साँझसम्ममा ५० वटा अदुवा बोकेका ट्रक भारतको पानीट्यांकी आइपुगेका छन्। नेपाली भूमिमा रहेका थप ट्रकहरु आउने क्रम जारी छ।

यसपटकदेखि नेपाली अदुवा भारतमा महँगो करको दायरामा परेको छ। पहिले भन्साररहित सुविधामा भारत भित्रिरहेको अदुवामा अब पाँच प्रतिशत कर लाग्ने निश्चित भएको छ। सँगै जुनसुकै बेला यस्तै अवरोध हुने सम्भावना पनि जिवितै भएका कारण नेपालको प्रमुख निर्यातजन्य कृषि वस्तु अदुवाको अन्तर्राष्ट्रिय बजार चाहिँ अझै पनि खतरामुक्त भइसकेको छैन।

‘मेरो त ट्रकमा भएको सबै अदुवा गन्हाइरहेको छ’, ट्रक चालक बलदेव राईले भने ‘१७ दिन नाकामा रोकिनुपर्यो । यत्रो दिनसम्म गुम्सिएर बसेको अदुवा सद्दे छैन होला ।’ पानीट्यांकी आइपुग्दा ठूलै सफलता पाए जस्तो अनुभवमा रहेका उनले सुनाए ‘अब अनलोड गरेपछि थाहा हुन्छ, सबै कुहिएको रहेछ भने साहु त मरे पनि हुने भयो ।’

‘यसै त नेपाली अदुवालाई भारतमा प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको थियो’, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भने ‘अब पाँच प्रतिशत महँगो कर लाग्न थालेको छ। साथै यस्तै बहानाहरुमा कहिले निर्यात रोकिने कुनै टुंगो छैन। नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अब पूरै खतरामा परेको छ।’

यद्यपि भारतीय सरकारी अधिकारीहरुले भने यस्तो आशंका नगर्न नेपाली पक्षलाई भनेका छन्। ‘हाम्रो सर्भरमा समस्या भएकै कारण र जीएसटी कोडमा समस्या भएका कारण अदुवा पास गर्न समस्या भएको थियो’, पानीट्यांकी भन्सारका अधिकारी हरे रामले भने ‘तर, अब त्यस्तो हुँदैन।

नियमपूर्वक आएपछि हामी रोक्दैनौं ।’ उनी लगायत अन्य अधिकारीहरुले यस्तो बताए पनि बजार लैजान ठिक्क पारेको माउ अदुवाको आयात रोक्ने भारतीय नियत प्रष्टै देखिन्छ । किनभने, नेपालबाट  भारत भित्रिरहेका अलैँची, चिया लगायतका कृषि वस्तु तथा अन्य सामानका कुनै अवरोध छैन । एउटै प्रविधिबाट भन्सार जाँचपास हुने भए पनि भारतीय भन्सारले अदुवा चाहिँ १९ दिनसम्म रोकेको थियो ।

जुलाई १ देखि वस्तु तथा सेवा कर लागेको बहाना गर्दै भारतले नेपाली अदुवाको आयात रोकेको थियो। कहिले जीएसटी कोड आइनपुगेको अनि कहिले सर्भर बिग्रिएको कारण देखाउँदै अदुवा आयात रोक्दा नेपाली पक्ष अवरोध खुलाउन हारगुहार गरिरहेको थियो। त्यसक्रममा धेरै परिमाणको  अदुवा कुहिएको नेपाली व्यवसायीले बताएका छन्।

‘मेरो त ट्रकमा भएको सबै अदुवा गन्हाइरहेको छ’, ट्रक चालक बलदेव राईले भने ‘१७ दिन नाकामा रोकिनुपर्यो । यत्रो दिनसम्म गुम्सिएर बसेको अदुवा सद्दे छैन होला ।’ पानीट्यांकी आइपुग्दा ठूलै सफलता पाए जस्तो अनुभवमा रहेका उनले सुनाए ‘अब अनलोड गरेपछि थाहा हुन्छ, सबै कुहिएको रहेछ भने साहु त मरे पनि हुने भयो ।’

नेपालमा अत्यधिक उत्पादन हुने अदुवाको एक मात्र अन्तर्राष्ट्रिय बजार भारत स्वयम् अदुवा आयातमा सधैँ अनुदार बन्ने समस्याले हरेक वर्ष ठूलै समस्या खडा गरिरहे पनि नेपाल सरकारले बजारको विकल्प खोज्न भने पूरै उदासिनता देखाइरहेको छ ।  गत वर्ष यही सिजनमा दुई महिनासम्म भारतले अदुवा रोकेको थियो । विषादी मिसिएको र चिनियाँ अदुवा मिलावट भएको आरोप लगाएको भारतले उक्त आरोप वैज्ञानिक रुपमा भने पुष्टि गर्न सकेन । यसपटक पनि अवरोधका लागि जीएसटीलाई बहाना बनाइयो । तर, यसको भित्री रहस्य भने अर्कै छ ।

जानकारहरुका अनुसार भारतीय सरकारी अधिकारीहरुलाई स्थानीय अदुवा उत्पादक तथा  व्यापारीहरुको चर्को दबाब छ । नेपाली उत्पादन भारतमा भित्रिँदा स्थानीय उत्पादनको एकाधिकार नहुने भन्दै नेपालबाट अदुवा आयात रोक्न उनीहरुले दबाब दिने गरेका छन् । ‘यहाँको ब्यूरोक्रेसी आफ्ना किसान र व्यापारीहरुको हित अनुकूल चल्छ, त्यही भएर हरेक पटक मुख्य सिजनमा यस्तो अवरोध हुँदै आएको छ’,  बुधबार पानीट्यांकी भन्सार परिसरमा भेटिएका नेपालका अदुवा निर्यातकर्ता विष्णु राईले भने ‘आफ्नो उत्पादनको बजार सुरक्षित गर्न भारतीय पक्षले यस्तो झमेला सधैँ लादिरहेको छ।’

उनका अनुसार भारतीय उत्पादनको किनबेच सकिने बेला भएपछि भारतले नेपाली अदुवा आयात खोल्ने गरेको छ । ‘भारतले पटक–पटक अदुवा रोकेर नेपाललाई अदुवा यता नल्याउन प्रष्ट भनिसकेको छ’, उनले भने ‘तर, हाम्रो विकल्प छैन । कुहाएर भए पनि महँगो कर तिरेर भए पनि यता नल्याई धर छैन । सरकारले अर्को बजारको व्यवस्था गरिदिने हो भने यो दादागिरी हट्न सक्छ ।’

तर, खुला सीमा, सहज स्थलमार्गको पहुँच र नेपाली उत्पादनको गुणस्तरका कारण तत्कालै अर्को बजार फेला पर्ने कुरा भने ज्यादै चुनौतिपूर्ण छ । सहज स्थलमार्ग उपलब्ध नह्ुने, बारीबाट खन्ने बित्तिकै अर्को बजार पठाउन नमिल्ने लगायतका कारणले यो चुनौतिपूर्ण हुने व्यापारीहरु नै बताउँछन् । अघिल्लो वर्षको अदुवा अवरोधका बेला सरकारलाई विज्ञहरुले नेपालमै प्रशोधन गरेर अदुवाका विभिन्न परिकार तयार गर्न र तेस्रो देशमा पठाउने व्यवस्था गर्न सुझाव दिएका थिए । तर, अवरोध खुल्नासाथ त्यसअघिको सकस भुलिहाल्ने कारणले समस्या आइरहेको छ।

‘अदुवाको उत्पादनलाई विविधीकरण गर्न सकिन्छ’, पूर्व कृषि अधिकारी रामचन्द्र कार्की  भन्छन् ‘विभिन्न आइटम बनाउने र विश्वका विभिन्न बजार पठाउने गर्न सकिन्छ । तर, सरकारले यतातर्फ ध्यान दिएको छैन । यसो नगरेसम्म हरेक वर्ष अवरोध झेल्न र लगानी जोखिममा पार्न तयार भएर बस्नुको विकल्प देखिन्न ।’

प्रकाशित: ४ श्रावण २०७४ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App