coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन विधेयक तत्काल टुंगो लगाऊ : राजपा

काठमाडौं- संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान लिएको राजपाले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको तत्काल टुङ्गो लगाउन सरकारलाई दबाब दिने नीति बनाउने भएको छ।

संशोधन विधेयकको टुङ्गो तत्काल लागेमा चुनावबारे रणनीति तयार गर्ने पार्टीका नेताहरूले जनाएका छन्। संशोधन विधेयकको टुङ्गो लगाउनुअघि सरकारले प्रतिबद्धता जनाएका मुद्दा फिर्ता लिने, सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने र बन्दी रिहा गर्ने काम सरकारले एक/दुई दिनभित्रै गर्नुपर्ने राजपाका नेताहरूले माग राखेका छन्। सरकार र राजपाका नेताहरूबीच बुधबार भएको वार्तामा राजपाका नेताहरूले संशोधन विधेयकको तत्काल टुङ्गो लगाउन सरकारसँग माग राखेका थिए। वार्तामा सरकारले क्षतिपूर्ति दिने, बन्दी रिहा गर्ने, सहिद घोषणा गर्ने, मुद्दा फिर्ता लिने प्रतिबद्धता जनाएको थियो।

राजपाका वरिष्ठ नेता रामनरेश राय यादवले सरकारले तत्काल संशोधन विधेयकको टुङ्गो लगाउनुपर्ने भन्दै संशोधन विधेयक थाती राखेर सरकारले नै बल्झाइरहेको आरोप लगाए। ‘सरकारले संशोधन विधेयकलाई तत्काल मतदानमा लगेर यसको टुङ्गो लगाउनुपर्छ।' यादवले भने, ‘तर सरकारले नै संशोधन विधेयकको पक्षमा दुई तिहाइ पुग्दैन भन्दै विधेयकलाई थाती राख्ने काम गरिरहेको छ।'

मधेसकेन्द्रित दललाई चुनावमा ल्याउन सरकारले गत मंसिर महिनामा संसद्मा संशोधन विधेयक दर्ता गरेको थियो। मधेसकेन्द्रित दलहरूसँगको वार्तापछि सरकारले पहिले दर्ता गरेको संशोधन विधेयक फिर्ता लिई गत चैत महिनामा अर्को संशोधन विधेयक दर्ता गराएको थियो। त्यसयता प्रधानमन्त्री फेरिएका छन् तर संशोधन विधेयकको टुङ्गो लाग्न सकेको छैन। सरकारले संशोधन विधेयकको पक्षमा दुई तिहाइ नपुगेको भन्दै विधेयकलाई मतदानमा लैजान मानेको छैन।

राजपाका महासचिव मनीष सुमनले दुई तिहाइबाट संविधान संशोधन हुनेगरी सरकारले संशोधन विधेयकलाई मतदानमा लैजानुपर्ने बताए। ‘विधेयक पास हुनेगरी विधेयकलाई मतदानमा लैजानुपर्छ। विधेयकको पक्षमा संख्या पुर्‍याउने काम सरकारको हो', सुमनले भने।

यसैगरी राजपाका अर्का नेता केशव झाले संशोधन विधेयक पास गर्नुअघि सरकारले मुद्दा फिर्ता लिने, बन्दी रिहा गर्ने, सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिनेजस्ता काम गर्नुपर्ने बताए।

सरकार र राजपाका नेताहरूबीच भएको वार्ताबारे समीक्षा गर्न तथा आगामी रणनीति बनाउन राजपा अध्यक्ष मण्डलको बैठक बिहीबार बस्दैछ।

प्रकाशित: ५ श्रावण २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App