coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अफगानिस्तानविरुद्ध जित मात्र विकल्प

काठमाडौं- एसिसी यु–१९ विश्वकप क्रिकेटको एसियाली छनोटका लागि सिंगापुरमा रहेको नेपालले बिहीबार प्रतियोगिताकै सबैभन्दा बलियो अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ। सिंगापुर र मलेसियाविरुद्धको पहिलो दुई खेलमा विजयी नतिजा निकालेको नेपालका लागि न्युजिल्यान्डको टिकट पक्का गर्न अफगानिस्तानलाई पनि पराजित गर्नै पर्ने हुन्छ। डबल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगताको शीर्ष टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछ। त्यसैले नेपालसामु जितको विकल्प छैन।

अघिल्लो दुई खेलमा नेपालका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याट्सम्यानहरूले अझै लय भेट्टाउन सकेका छैनन्। सिंगापुरविरुद्ध ७४ रनको लक्ष्य पूरा गर्न नेपालले ६  विकेट खेर फालेको थियो भने मलेसियाविरुद्ध ५९ रनको लक्ष्य पूरा गर्न ५ विकेट गुमायो। ओपनरमा सन्दीप सुनार (दुई खेलमा ७ रन)चल्न सकेका छैनन् भने पहिलो खेलमा ४ रन बनाएका आसिफ शेखले दोस्रो खेलमा २३ रन बनाएका छन्। मध्यक्रममा आश गरिएका दीपेन्द्रसिंह ऐरीले दुई खेलमा ६ रन मात्र जोडेका छन्। प्रनित थापामगरले नेपालको इनिङ धानेका छन्। सिंगापुरविरुद्ध २३ रन जोडेका प्रनित मलेसियाविरुद्ध १८ रनमा अविजित रहे। नेपालका प्रशिक्षक प्रशिक्षक विनोद दासले अफगानिस्तानविरुद्ध डराउनुपर्ने कारण नरहेको बताए।

'अफगानिस्तान राम्रो टोली हो। हाम्रो बलिङ आक्रमण राम्रो छ। फिल्डिङ पनि राम्रो छ। ब्याटिङमा सुधार गर्न सक्यौं भने उनीहरूमाथि दबाब सिर्जना गर्न सक्छौं। तर, हामीले भोलि राम्रो क्रिकेट खेल्नु आवश्यक छ,' मलेसियाविरुद्ध प्रकाश केसीको स्थानमा एडिन खानलाई मौका दिएका प्रशिक्षक दासले सम्भावित टोली परिवर्तनबारे भने, 'अहिले नै केही भन्न सकिँदैन। भोलिसम्म पिचको कन्डिसन कस्तो हुन्छ, त्यसपछि मात्र टोलीबारे निर्णय लिनेछौं।'

नेपालका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले १६.५  ओभरमा ३ मेडन राख्दै ३८ रन दिएर १० विकेट लिइसकेका छन्। त्यस्तै साहब आलम, पवन सर्राफ र किशोर महतोले सामन ३/३ विकेट लिएका छन्।

अफगानिस्तानका पनि युसुफ जाजाईले १२ ओभरमा ३३ रन दिएर ९ विकेट लिइसकेका छन्। त्यस्तै जाहिर खानको नाममा ४ विकेट छ। नेपालका ओपनर चल्न सकेका छैनन्। ठीक विपरीत अफगानिस्तानका ओपनर नाभिद आबेदले ४८ रन बनाइसकेका छन् भने दरविश रसुलीले ३२, इमरान मोहमदीले २७ तथा तरिक स्टनिकजाईले २५ रन बनाएका छन्। अफगानिस्तानले मलेसियालाई ८ तथा सिंगापुरलाई ७ विकेटले हराएको थियो।

अघिल्लो संकरणको छनोट प्रतियोगिता मानिएको एसिसी यु–१९ प्रिमियर लिगमा अफगानिस्तानसँग पराजित भएपछि नेपालले दोस्रो स्थानमा चित्त बुझाएको थियो। तर पछि आइसिसीले ग्लोबल क्वालिफायर खेलाएपछि नेपालले बंगलादेशमा सम्पन्न विश्वकपमा स्थान पक्का गर्न सक्षम भएको थियो। अफगानिस्तान यसपलि पनि बलियो प्रतिद्वन्द्वी भएको स्वीकार गरेका प्रशिक्षक दासले बिहीबार नेपालले बिनादबाब खेल्ने प्रतिक्रिया दिए।

'अफगानिस्तान राम्रो टोली हो। उनीहरूजस्तै नेपाल पनि अलराउन्ड टोली हो,' प्रशिक्षक दासले थपे, 'एक टोलीका रूपमा हामी जुनसकै टोलीलाई पनि हराउन सक्छौं। हामी बिनादबाब सक्दो राम्रो क्रिकेट खेल्नेछौं। आशा गरौं नतिजा हाम्रो पक्षमा आउनेछ।'

प्रकाशित: ५ श्रावण २०७४ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App