७ वैशाख २०८१ शुक्रबार
खेल

स्पोर्ट्स अवार्ड भदौको अन्तिममा

काठमाडौं- हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समाजमा नकारात्मक भावना हटाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।

बुधबार पल्सर स्पोर्ट्स अवार्डको मिति घोषणा कार्यक्रममा मुख्य प्रायोजकका तर्फबाट बोल्दै गोल्छाले समाजलाई एकताको सूत्रमा बाँध्न खेलकुदले सहयोग गर्ने भएकाले वर्तमान अवस्थामा नेपालमा यसको महŒव विशेष रहेको बताए। 'राजनीतिक गतिविधिले जनतामा विभाजन गराइरहेको बेला खेलकुदले सबैलाई जोड्ने काम गरेको छ,' गोल्छाले भने, 'खेलकुद अवार्डले खेलक्षेत्रमा लागेको व्यक्तिको हौसला बढाउन सहयोग गरेको छ। त्यसैले यो अवार्डसँग जोडिन पाउँदा खुसी छौं।'

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्डको १४औं संस्करण भदौ २६ गते हुँदै छ। अवार्डमा गत वर्ष हासिल गरेको उपलब्धिका आधारमा खेलाडी, प्रशिक्षक र खेलकर्मी सम्मानित हुनेछन्। आठ विधामा हुने अवार्डमा यसपालिबाट चार विधाका विजेताले पल्सर मोटरसाइकल पाउने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। अघिल्ला संस्करणमा तीन विधाका विजेताले मात्र मोटरसाइकल पाउँथे। बाँकी पाँच विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ दिइन्थ्यो। 'यसपालि चार विधाका विजेताले मोटरसाइकल पाउनेछन्। बाँकी चार विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ,' आयोजक मञ्चका अध्यक्ष महेश आचार्यले भने, 'अर्को वर्षबाट पाँच विधाका विजेतालाई मोटरसाइल दिन हामी प्रयास गर्नेछौं।'

अवार्डमा समावेशमध्ये वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी र पिपल्स च्वाइस विधाका विजेतालाई मोटरसाइकल दिइने गरेको थियो। उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी, विशेष पुरस्कार र लाइफटाइम एचिभमेन्ट अवार्ड पाउनेलाई जनही ५० हजार रुपैयाँ दिइन्थ्यो। यसपाली एउटा मोटरसाइकल थपे पनि कुन विधाको विजेतालाई दिने भन्ने अझै निर्णय गरिनसकेको मञ्चका महासचिव प्रकाश तिमल्सिनाले बताए।

मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक गोल्छाले पल्सर स्पोर्ट्स अवार्ड नेपालको नम्बर एक स्टेज कार्यक्रम भएकाले यसमा सहकार्यलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइरहने बताए। उनले भने, 'हामीलाई थाहा छ स्पोर्ट्स अवार्डको महŒव। व्यवस्थापकीय र निष्पक्षताका आधारमा स्पोटर््स अवार्ड नेपालको नम्बर एक कार्यक्रम हो। त्यसमा हामी जोडिनु खुसीको कुरा हो। आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दछु।'

मुख्य प्रायोजक भएवापत हंसराज हुलासचन्द एन्ड कम्पनीले आयोजक नेपाल खेलकुद पत्रकार मञ्चलाई मोटरसाइकल र नगद गरी १८ लाख ९० हजार प्रदान गर्नेछ।

उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधामा मञ्चको छनोट समितिले पाँच/पाँच जनाको मनोनयन सार्वजनिक गर्नेछ। पिपल्स च्वाइस विधाको विजेता चयन खेलप्रेमीको एसएमएस मतबाट गरिनेछ भने अन्य चार विधामा छनोट समितिले नै विजेता छान्नेछ। बाँकी तीन विधामा सोझै एक जना विजेताको चयन गरिने कार्यक्रम रहेको मञ्चका अध्यक्ष आचार्यले जानकारी गराए। सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा पाँच विधाको मनोनयन सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

जेठमा गर्ने योजना भए पनि दुई चरणका स्थानीय निकाय निर्वाचनका कारण यसपाली अवार्ड भदौको अन्त्यमा गर्न लागेको महासचिव तिमल्सिनाले बताए।

अवार्डको १३औं संस्करणमा फुटबलका नवयुग श्रेष्ठ पुरुष तथा जुडोकी फुपुल्हामु खत्री वर्षको उत्कृष्ट महिला खेलाडीबाट पुरस्कृत भएका थिए। फुटबलका अन्जन विष्ट युवा विधाको विजेता बन्दा टेबल टेनिसकी नविता श्रेष्ठले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन्। तेक्वान्दोकी सीता भण्डारी पारा एथलिट र फुटबलका श्रीराम रञ्जितकार लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए। यसै गरी फुटबलका ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेसल अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फुटबल टोलीले टिम अफ दी इयरको पुरस्कार पाएको थियो।

प्रकाशित: ५ श्रावण २०७४ ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App