४ वैशाख २०८१ मंगलबार
कला

चित्रकलासँगै कोडिङ र रोबोटिङ सिक्दै बालबालिका

काठमाडौं- बालबालिकाको शिक्षा र विकासमा नकारात्मक असर पर्ने भन्दै अभिभावकहरू उनीहरूलाई मोबाइल र ग्याजेटबाट टाढै राख्छन्। नेपालमा भने यही मोबाइल र ग्याजेटको प्रयोग गरेर बालबालिकालाई स्मार्ट बनाउने लर्निङ ल्याब सुरु गरिएको छ। ल्याबमा बालबालिकाहरूले आइप्याडको प्रयोगबाट डकुमेन्ट्री, रोवटिक र कोडिङ तयार गरिरहेका छन्।

'चिल्ड्रेन्स् आर्ट म्युजियम अफ नेपाल'ले आइप्याड र प्रविधिको प्रयोगबाट बालबालिकाहरूमा २१ औं शताब्दीको शिक्षा प्रदान गर्ने हेतुले ल्याब सञ्चालनमा ल्याएको हो। 'संस्थाले कला सिक्न चाहने बालबालिकालाई सुविधा दिएर आफ्नै शैलीमा चित्रकला कोर्न प्रोत्साहन गर्छ। गत महिनाबाट सञ्चालनमा आएको ल्याबले २१ औं शताब्दीको सिपको विकास गरेर सिर्जनशिल बनाउने कार्य थालेको छ,' संस्थाकी निर्देशक कल्पनाप्रिया श्रेष्ठले भनिन्।

गत महिनाबाट सञ्चालनमा ल्याएको ल्याबमा ५ देखि १० वर्षका बालबालिका सहभागी छन्। ल्याबमा 'डकुमेन्ट्री एन्ड रिसर्च' कोर्स अन्तर्गत बालबालिकाले आइप्याडबाट भिडियो खिचेर वृत्तचित्र तयार पारेका छन्। 'बालबालिका मोबाइल र आइप्याडमा विभिन्न गेम र कार्टुन हेर्न व्यस्त हुन्छन्। उनीहरूका कलिलो दिमागमा यसले प्रत्यक्ष रूपमा नकारात्मक असर पार्न सक्छ। नकारात्मक असरलाई कम गरेर उनीहरूलाई विभिन्न एप्सको प्रयोग गरेर कथा प्रस्तुत गर्न सिकाइसकेका छौं,' उनी भन्छिन्, 'ल्याबको दोस्रो कोर्समा भने बालबालिकाहरुले रोबटलाई निर्देशन दिन 'कोडिङ र रोवोटिक्स' सिकाउनेछौं।'

हार्भड विश्वविद्यालय डिग्री गरेका विद्यार्थीले तयार गरेको ल्याब एमआइटी आबद्ध कार्यक्रम हो। सो कोर्स शनिबार र आइतबार सञ्चालन हुन्छन्। हार्भड इनोभेसन ल्याबले बालबालिकाको लागि डिजाइन गरेर 'कोडिङ र रोवोटिक्स्' कोर्स तयार गरेको हो। यस कोर्सअन्तर्गत बालबालिकाहरुले सिर्जनात्मक कथा प्रस्तुती, हिसाबसम्बन्धी ज्ञान, रोवर्टसम्बन्धी विभिन्न जानकारी प्राप्त गर्नेछन्।

'बालबालिकाका कलिलो दिमागमा रोवटको सफ्टवेयर र हाडवेयरबारे जानकारी लिँदा चाँडो सिक्ने गर्छन्,' संस्थाकी सह–निर्देशक निष्ठा श्रेष्ठले भनिन्। सन् २०१४ मा राजधानीको हात्तीसारमा सञ्चालनमा ल्याइएको चिल्ड्रेन्स् आर्ट म्युजियम अफ नेपालले सुरुवाती दिनमा बालबालिकाहरुको सिर्जनात्मक सोचलाई चित्रकलामार्फत प्रस्तुत गर्न क्यानभास र सामाग्री प्रदान गरेर प्रोत्साहित गरेको थियो। विश्वव्यापी रूपमा मनोरञ्जनको लागि मात्र लिइएको आइप्याड र मोबाइलमार्फत बालबालिकालाई सिर्जनात्मक बनाउन विश्वभर कमै गतिविधि हुने गरेको छ।

'भिडियो गेममा व्यस्त बालबालिकाले कोडिङ सिक्दै आफैं गेम तयार गर्न सकून् भनेर कोर्स तयार भएको हो। किताबी शिक्षालाई व्यवहारिक रूपमा सहज वातावरणमा रहेर सिकाइरहेका छौं,' सह–निर्देशक निष्ठाले भनिन्, 'एसियाली देशमा अभिभावकहरू छोराछोरी डाक्टर र इन्जिनियर बनून् भनेर इच्छा राख्छन्। हामीले त्यसको जग तयार गरिरहेका छौं।'

प्रकाशित: ५ श्रावण २०७४ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App