१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘जिंगलले बनाइदियो हामीलाई मिंगल’

– अनिल यादव

‘यहाँनेर हिसाब मिलेनछ,’ जेठ महिनाको मध्यतिर काठमाडौंको त्रिपुरेश्वरमा भेट्न पुग्दा गायिका रजिना रिमाल श्रीमान् विनोद श्रेष्ठलाई कम्प्युटरमा हिसाब किताब देखाउँदै थिइन् ।  बिनोद त्यहाँ श्रेष्ठ टेलरिङ चलाउँछन् जहाँ रजिना अकाउन्ट हेर्न सघाउँछिन् । त्यसो त रजिनालाई गायनमा सक्रिय राख्न बिनोद पनि हौसला दिइरहन्छन् । दुईवर्षअघि विवाह बन्धनमा बाधिएको यो जोडीको प्रेम र सहकार्य लोभलाग्दो छ ।

‘तिमी नै मेरो साँझ बिहानी
 तिमी नै मेरो आधा कहानी...’

रजिनाले ‘झोले’ फिल्मका लागि गाएको यो गीत बिनोदलाई आफ्नै लागि गाइदिएजस्तो लाग्छ । त्यसो त रजिना र विनोद दुवै संगीतका ठूला पारखी हुन् । विनोदलाई भेट्नुअघि रजिनालाई आफूजस्तो चौबिसै घण्टा कानमा इयरफोन लाएर गीत सुनिरहने कोही नहोला भन्ने लाग्थ्यो । ‘तर विनोद त म भन्दा ठूलो म्युजिक लभर हुनुहुँदोरहेछ,’ कुराकानीको सुरुआतमै रजिनाले सुनाइन्, ‘उहाँ जतिखेर पनि गीत सुनिरहनुहुन्छ । कहिलेकाँही त हाम्रो गफै संगीतमय हुन्छ । उहाँलाई डेडिकेट गरेर म कहिलेकाँही गीत गाइदिने गर्छु, उहाँ पनि मेरा लागि गुनगुनाउनुहुन्छ ।’

त्यो संयोगपूर्ण भेट
०७० सालको कुरा हो । रजिना एनसेलको सांगितिक यात्राका क्रममा पोखरा पुगेकी थिइन् । विनोद एउटा होटलसँग ‘युनिफर्म’को डिल गर्न त्यहाँ पुगेका थिए । एक्लै पुगेका विनोदको टुर म्यानेजमेन्ट टिमका केही सदस्यसँग चिनजान थियो । त्यसैले एक्लै ‘बोर’ लागेपछि उनी त्यही कार्यक्रमको व्यवस्थापनसँग घुलमिल भए । ‘रजिना र म बसेको होटल एउटै थियो,’ विनोदले सम्झिए, ‘त्यतिवेला उनको ‘नाई नभन्नु ल’, ‘सयौं जुनी’ बोलका गीतहरू हिट थिए । म उनका गीतहरू खुब सुन्थे । तर उनलाई देखेको थिइन । उनलाई हेर्ने मेरो चाहना त्यँही पूरा भएको हो ।’ त्यो संयोगपूर्ण भेटमा उनीहरूबीच धेरै कुराकानी भएन– सामान्य हाइहेलो बाहेक ।

पहिलो बिजनेस डेटिङ
पोखरामा देखेको दुई महिनापछि काठमाडौंमा रजिना–विनोदको डेटिङ फिक्स्ड भयो– त्रिपुरेश्वर, वल्र्ड ट्रेड सेन्टरको ‘डि भ्याली क्याफे’मा । त्यसअघि रजिनाले विनोदलाई खासै नोटिस गरेकी थिइनन् । ‘त्यो डेटिङ पनि विशुद्ध बिजनेससँग सम्बन्धित थियो,’ रजिनाले भनिन्, ‘उहाँले मलाई उहाँको टेलरिङको जिंगल गाइदिनलाई अप्रोच गर्नुभएको थियो । हाम्रो गफ त्यँही विषयमा केन्द्रित भयो, लभको कुरै भएन । ’

‘जब उहाँ जिंगलका लागि कुरा गर्न आउनुभएको थियो, त्यतिवेला उहाँले ‘हाई’ भन्दै जुन मुस्कान छाड्नुभयो, त्यसले नै मलाई लोभ्याएको थियो । ’

रजिनाकै कुरामा विनोदले सहमति जनाए, ‘हो, त्यतिबेला हामीबीच आधा घण्टाजति मात्र कुरा भएको थियो । उसको स्वरको म फ्यान भएकाले मैले उसलाई जिंगलका लागि अप्रोच गरेको थिए । त्यही जिंगलको इस्युले हामीलाई जोडिदियो । त्यँही जिंगलले बनाईदियो हामीलाई आज मिंगल ।’

फिल्मी स्टाइलमा प्रस्ताव
भेट भएको आठ महिनापछि विनोदले रजिनालाई बिहेको प्रस्ताव गर्न आँटेका रहेछन् । त्यसअघि दुवैलाई आफू एक–अर्काको प्रेममा परेको अनुभूत चाँही भइसकेको थियो । ‘हामी धेरैजसो च्याटमा कुरा गथ्यौं । उसँग च्याट नभएको दिन के–के नपुगेजस्तो महसुस हुन्थ्यो,’ रजिनाले सम्झिइन् । विनोदले रजिनालाई बिहे प्रस्ताव राखेको कथा कम रोचक छैन । ‘अलि यादगार होस् भनेर फिल्मी स्टाइलमा प्रस्ताव राखेको थिए,’ विनोदले त्यो क्षणलाई सम्झिए, ‘ऊ कार्यक्रमका लागि पोखरा पुगेको थियो । मेरो पनि त्यतै जानुपर्ने काम भयो । साथीहरूको सल्लाहमा एउटा औँठी किनियो । र होटलको कौसीमा घुँडा टेकेर एक हातले औँठी टक्राउँदै प्रस्ताव राखियो ।’ के भनेर प्रस्ताव राख्नुभएको थियो त ? छेउमै रहेकी रजिना मुस्कुराउँदै बोलिन्, ‘म तिमीलाई एकदमै खुशी राख्न चाहान्छु । धेरै माया गर्छु । हामी दुईजना मिलेर धेरै कुरा गर्न सक्छौ । विल यू म्यारी मि ? यस्तै यस्तै भन्नुभएको थियो । सायद  पूरै तयारीसाथ आउनुभएको थियो ।’ अकस्मात् आएको प्रस्तावका कारण रजिनाले आफू एकछिन अकमक्क भएको र पछि मौन समर्थन जनाएको बताइन् । तर उनीहरूको बिहेचाँही प्रस्ताव राखेको डेढवर्षपछि मात्र भयो ।

वर्षमा दुईपटक एनिभर्सरी
०७२ साल वैशाख १७ गते । यो मितिमा उनीहरूको बिहे तय भएको थियो । तयारी धुमधाम थियो । बिहेको कार्यक्रम भव्यसँग गर्ने दुवैतिरको परिवारको चाहाना थियो । तर बिडम्बना वैशाख १२ गते देशमा महाभूकम्प आयो । महाभूकम्पले सयौंको घरजस्तै उनीहरूको चाहना पनि भत्काइदियो । ‘त्यसपछि एकैचोटी माघ–फागुनमा मात्र राम्रो साइत छ भनेपछि त्यँही दिन बिहे गर्नुपर्ने आपत आइलाग्यो,’ विनोदले , ‘देश शोकमा डुबेको बेला धुमधामसाथ बिहे गर्ने कुरै भएन । सबैको सल्लाह अनुसार मैतिदेवीको मन्दिरमा गएर भागेर बिहे गरेको नाटक गर्नुप¥यो ।   त्यसको ठिक एक महिनापछि जेठ १७ गते नजिकका आफन्तमात्र बोलाएर फेरि भोजसहित बिहे गरियो ।’ यता रजिनाले दुबैपल्ट बिहे गरेकाले एनिभर्सरी पनि दुईपल्ट मनाउने गरेको बताइन् । ‘यसको पनि मज्जै छुट्टै,’ उनले भनिन् ।

रजिनाको स्वर, विनोदको मुस्कान
रजिनाको के कुराले विनोदलाई लोभ्याएको हो ? प्रश्नमा भुईंमा खस्न नपाउँदै विनोद जवाफ दिन हतारिए, ‘सुरुमा त उनको स्वर नै हो । त्यसपछि त उनको साधारण शैलीले नै हो मलाई लोभ्याएको । सेलिब्रिटी भएपनि घमण्ड अलिकति पनि नभएको ।’ यता रजिनालाई पहिलो भेटमै उनको मुस्कानले लोभ्याएको रहेछ । ‘जब उहाँ जिंगलका लागि कुरा गर्न आउनुभएको थियो, त्यतिबेला उहाँले ‘हाई’ भन्दै जुन मुस्कान छाड्नुभयो, त्यसले नै मलाई लोभ्याएको थियो,’ रजिनाले भनिन्, ‘त्यसपछि त हाम्रो विचार मिल्ने भएकाले नै हामी नजिकियौं । मैले कहिल्यै यसरी अन्जान व्यक्तिसँग मेरो प्रेम होला, बिहे होला भन्ने सोचेको थिइन् । तर थाहै नपाई भयो । ’

लोभलाग्दो सहकार्य  
रजिना र विनोदको सहकार्य गजबको छ । उनीहरू एक–अर्काको काममा सधैं सघाइरहेका हुन्छन् । तर बिहेपछि रजिनाको सक्रियता कम भयो भन्ने बाहिरी अफवाहप्रति विनोदको ठूलो दुःख मनाउ छ । ‘म सधैं उसलाई तिम्रो काममा केन्द्रित हौ भनिरहेको हुन्छु,’ विनोदले भने, ‘तर बाहिर त मैले कामै गर्न नदिएको जस्तो चर्चा पनि हुँदो रहेछ । त्यस्तो सुन्दा चाँही दुःख लाग्छ । म त उसलाई नयाँ एल्बम निकाल्न झकझकाइरहेको छु । त्यत्तिकै आइडल नबस भनिरहेको हुन्छु ।’ विनोदले यसो भनिरहँदा रजिना एक्कासी भावुक भइन् । ‘हो, उहाँ मेरो ड्याडजस्तै अहिले ब्याकसपोर्ट हुनुभएको छ,’ श्रीमान्तर्फ संकेत गर्दै उनले भनिन्, ‘मैले एकदिन रियाज गरिन भने पनि गाली गर्नुहुन्छ र त्यँही निहुँमा झगडा हुन्छ । मैले कतै स्टेज कार्यक्रम क्यान्सिल गरे भने ‘किन गरेको ?’ भनेर गाली गर्नुहुन्छ । नयाँ गीत गर्नुअघि त्यसको शब्द र संगीत म उहाँलाई सुनाउँछु । उहाँले एकदमै निष्पक्ष भएर कमेन्ट गर्नुहुन्छ । उहाँजस्तो सहयोगी श्रीमान् पाउँदा म आफूलाई भाग्यमानी ठान्छु ।’  

यता विनोदलाई पनि रजिनाका कारण व्यवसायमा धेरै राहत भएको  छ । ‘रजिना एमबीएको विद्यार्थी हुन्,’ उनले भने, ‘त्यसैले अहिले मलाई अकाउन्ट हेर्न सघाइरहेकी छन् । मेरो जीन्दगीमा उनी आएपछि धेरै राहत मिलेको छ । हाम्रो जोडी सहकार्यमा अघि बढिरहेको छ ।’

मिहेनती रजिना, केयरिङ विनोद
एक–अर्काको प्रिय लाग्ने स्वभावबारे पनि रजिना र विनोदले खुलेर कुरा गरे । ‘एकदमै मिहेनत गरेर काम गर्छिन् रजिना, ’ विनोद भन्छन्, ‘उनको सधैँ हाँसिरहने, समयमा काम गर्ने, नयाँ–नयाँ कुरा सिक्ने चाहने मलाई साह्रै मनपर्छ ।’ आफ्नो तारिफ सुनेपछि रजिनालाई विनोदको मनपर्ने बानी सोध्दा रजिनाले उनको केयरिङ स्वभव आफूलाई मनपर्ने बताइन् । ‘एकदमै सहयोगी हुनुहुन्छ उहाँ,’ उनले भनिन्, ‘डाउन टु अर्थ हुनुहुन्छ । घमण्ड फिटिक्कै छैन । बोलीले लठ्ठै पारिदिनुहुन्छ । मेरा साथीहरू भेट्न आउँदा म भन्दा बढी उहाँसँग कुरा गर्छन् ।’

दुवैको मननपर्ने बानी पनि त होला ? भन्ने प्रश्नमा रजिना ठट्यौली शैलीमा प्रस्तुत भइन्, ‘धेरै छ, कुन भनुम् ?’ छेउमै रहेका विनोदले हाँस्दैहाँस्दै भने, ‘जे–जे छ सबै भन्देउ ।’ त्यसपछि रजिना बोल्न थालिन्, ‘मलाई उहाँ एकदमै धेरै केयरिङ भएको मनपर्दैन । उहाँको सबैको केयर गर्नुहुन्छ, जसले उहाँलाई वास्ता गर्दैन त्यसको पनि गर्नुहुन्छ । त्यसमा पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ । अनि रिस असाध्यै कडा छ , त्यो पनि मन पर्दैन ।’ यता विनोदलाई चाँही रजिनाले थोरै खाना खाँदा या समयमा नखाइदिँदा रिस उठ्छ । ‘यो बानीचाँही सुधारिदिए हुने भन्ने लाग्छ,’ विनोदले भने, ‘अनि उसको पनि रिस कडा छ है, फकाउनै निकै मुस्किल पर्छ ।’ दुवैको रिस कडा भएपछि गाह्रो हुन्न र ? भन्ने प्रश्नमा दुवै एकै स्वरमा सुनिए, ‘एकैपल्टमा हामी दुवै रिसाउदैनौं नि त । ’

पोखराको संयोग
यो जोडीको पोखरासँग गजबको नाता रहेछ । त्यसैले उनीहरु बेला–बेलामा पोखरा गइरहने बताउँछन् । ‘हाम्रो त पहिलो भेट पनि पोखरामै भयो, बिहेको प्रस्ताव पनि पोखरामै राखियो, बिहेपछि हनिमुन पनि पोखरामै मनाइयो,’ विनोदले भने, ‘त्यसैले पोखरा हामीलाई हाम्रो जस्तो लाग्छ । हामी फुर्सद हुँदा गइरहन्छौं ।’

‘हाम्रो त पहिलो भेट पनि पोखरामै भयो, बिहेको प्रस्ताव पनि पोखरामै राखियो, बिहेपछि हनिमुन पनि पोखरामै मनाइयो । त्यसैले पोखरा हामीलाई हाम्रो जस्तो लाग्छ । हामी फुर्सद हुँदा गइरहन्छौं ।’

गड–गिफ्टेड जोडी
सम्बन्धलाई बलियो बनाउन के आवश्यक पर्दो रहेछ ? ‘समझदारी सबैभन्दा ठूलो आवश्यकता हो,’ रजिना भन्छिन्, ‘एक–अर्काको कमजोरीलाई बुझ्न सक्नुपर्छ । मान्छेको रिसाउनु त मानवीय स्वभाव नै हो । तर यसलाई ठूलो इस्यु बनाउनुहुँदैन ।’ रजिना र विनोद दुवै आफूहरुको जोडीलाई भगवानले जुराइदिएको जोडी ठान्छन् । ‘हामी दुवैको जात फरक–फरक भए पनि हामीले एक–अर्काको संस्कारलाई स्वीकारेका छौं,’ विनोद भन्छन्, ‘त्यसैले मलाई लाग्छ हाम्रो जोडी एउटा बुझक्की जोडी हो ।’ उता रजिनाले कुराकानी टुग्यांइन, ‘हाम्रो जोडी गड गिफ्टेड हो । दुई फरक जात, फरक पेशा र फरक वातावरणमा हुर्किएका हामीलाई भगवानले नजुराएको भए कसरी भेट हुन्थ्यो होला र ?’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: ५ श्रावण २०७४ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App