७ वैशाख २०८१ शुक्रबार
समाज

पाँच महिना बित्दा समेत किशोरी हत्या रहस्यमै

खोटाङ– पाँच महिना बित्दा समेत खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । लामो समयसम्म दोषी पत्ता नलाग्दा किशोरी हत्या रहस्यमय बनेको छ । 

गत २०७३ साल माघ २६ गते बुधबार छिमेकी गाविस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रिताको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङ र रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोलीले घटनास्थल एवंं शंकास्पद व्यक्तिमाथि अनुसन्धान गर्दा समेत दोषी पत्ता लाग्न नसकेको हो । लामो समयसम्म रिता हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा मृतकका परिवार थप पीडित भएको स्थानीय रमेश गाउँलेले बताए । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सईको नेतृत्वको टोली र डिएसपी नबिनकिशोर प्रधानको छुट्टाछुट्टै टोली फरक–फरक समयमा घटनास्थल पुगेर अनुसन्धान गर्दा पनि दोषी पत्ता नलागेपछि रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोली बोलाइएको थियो । आरआइटीको टोलीले फागुन २६ गतेदेखि केही दिन अनुसन्धान गरे पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । युवती हत्याका दोषी पत्ता लगाउनमा स्थानीयको असहयोग भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रधानले गुनासो गरे । किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अनुसन्धानकालागि घटनास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगले सुक्ष्म अनुसन्धानका लागि विशेषज्ञ टोली पठाउन पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेको केही दिनमै रिजनल इन्भेस्टीगेसन टिम आएको हो । हालसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोली पठाइदिन सगरमाथा अञ्चल प्रहरी कार्यालय राजबिराजलाई आग्रह गरेको थियो ।

सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिइन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुसार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो । अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक असरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए ।

किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अन्तरपार्टी सञ्जालले फागुन १७ गते मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको थियो । सञ्जालको ध्यानाकर्षणपछि घटनास्थल पुगेको आयोगको टोलीले फागुन २२ गतेदेखि केही दिन अनुसन्धान गरेर फर्किएको थियाे। 

प्रकाशित: ५ श्रावण २०७४ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App