७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले पूर्वी तराई अस्तव्यस्त, दुई हजार घर डुबानमा

विराटनगर- निरन्तरको वर्षाले खोलामा पानीको बहाव बढ्दा पूर्वी नेपालको जनजीवन अस्तव्यस्त छ। पूर्वी तराईमा बाढीले सयौं घर डुबानमा छन् भने पहाडमा पहिरोले सडक अवरूद्ध छन्। सुनसरी (बक्राहा) खोलाको पानी मोरङ, मधुमल्ला–५ स्थित बेतनी बस्तीनजिक पुगेको छ।

खोलामा पानी बहाव बढेेपछि प्रहरी र सेनाको टोलीले त्यहाँ बस्नेलाई सुरक्षित स्थानमा सारेको छ। महिनादिनअघि बाढीले बेतनीका सय घरपरिवार विस्थापित भएका थिए।

मोरङकै हसन्दह–३ मा बक्राहा खोलाले बाँध फोडेर पानी गाउँ पसेको छ। हसन्दहको ३ र ५ को सुगा बजारलगायत क्षेत्र जलमग्न छ। पानीको तीव्र बहावले बाँध फुटेको स्थानमा जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। बाढीले बाँध फुटेपछि हसन्दह, गोविन्दपुर अमरदहलगायत क्षेत्र जलमग्न हुँदा स्थानीयलाई खान, बस्न समस्या भएको छ। अहिलेसम्म मानवीय क्षति भने छैन।

 झापाको मेची खोलाको बाढीले भ›पुर–५ स्थित लक्ष्मण साहको एकतले घर बगाउन थालेपछि वडा प्रहरी कार्यालय, भ›पुर र सशस्त्र प्रहरीको टोलीले बालुवा र माटोका बोराले बाँध बाँधेर जोगाएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

भोजपुरका छुट्टाछुट्टै दुई स्थानमा पहिरोका कारण शनिबार बिहानदेखि कोसी राजमार्ग अवरुद्ध छ। लेगुवा–भोजपुर सडक खण्डअन्तर्गत तिवारीभञ्ज्याङ–५ र भोजपुर–२, भंैसीपङ्खामा पहिरो खस्दा राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

डुबानले बिजोग

सुनसरीमा धेरै ठाउँमा वर्षाको पानीले बस्ती डुबानमा पर्दा स्थानीयको बिजोग छ। तनमुना–२ की २८ वर्षीया सविना ऋषिदेवले शनिबार साँझ भनिन्, 'बिहानैदेखि खाना खान पाइएको छैन, राति कहाँ सुत्ने र बस्ने, टुंगो छैन।'

 बस्तीका सुत्केरी र गर्भवती बढी मारमा परेका छन्। 'हामीले काम गर्न नपाउँदा खानाकै चिन्ता हुन्छ। केही दिनदेखि निरन्तर पानी परेकाले काम गर्न जान पाइएको छैन,' आशादेवी ऋषिदेवले भनिन्।

बस्तीभन्दा पूर्वतर्फ ७ सय मिटर दुरीमा रहेको धनुषना खोला र बस्तीभन्दा उत्तरतर्फको बिर्ता पैनीको पानी बस्तीमा पस्दा तनमुना–२ र ३ का ४२ घरसमेत एक सय दुई घर डुबानमा परेका  छन्। ऋषिदेव बस्तीका सबै सदस्य सकुशल भए पनि खानेसुत्ने समस्या छ। 'पानीले पनि हामीजस्ता गरिबकै बस्तीमा असर गर्दोरहेछ,' बस्तीकी वृद्धा हरिदेवी ऋषिदेव भन्छिन्।

'बस्तीका आधाजसो घर अब काम लाग्दैनन्,' स्थानीय सजन ऋषिदेवले भने, 'आधा घरमा भने मर्मत गर्दा बस्न मिल्छ।'

शनिबार राति पनि पानी परे ऋषिदेव बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने छिटाहा प्रहरीचौकीका सई गोपाल राउतले बताए।

२ हजार घर डुबानमा

सप्तरीमा शुक्रबार मध्यरातिदेखिको वर्षाले सप्तरीको खाँडो, जिता, महुली, भलुवाहीलगायत खोलाको बाढी बस्तीमा पस्दा २ हजारभन्दा बढी घर डुबानमा छन्। सदरमुकाम राजविराजसहित दर्जन बढी गाविस वर्षाले प्रभावित छन्।

खाँडोको बाढीले तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, देउरीभरुवा, दिघवा, तोपा, कजौली लगायत गाउँको झन्डै १ हजार ५ सय जति घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ। शनिबार बिहानै खाँडो खोलामा आएको बाढी एक दशकयताकै ठूलो भनिएको छ। 'लामो समयपछि खाँडोमो यत्रो बहाव देखियो,' सकरपुरा–४ का उग्रकान्त झाले भने, 'छिटफुट बाढी बर्सेनि आए पनि गाउँ नै डुबानमा परेको लामो समयपछि हो।'

 बाढीका कारण सकरपुरा पूरै डुबानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट, तिलाठीले जनाएको छ। पोस्टका प्रमुख ज्ञानबहादुर श्रेष्ठले फोनमा भने, 'हामी अहिले सकरपुरामै छौं, सिंगो बस्ती नै डुबानमा छ।'

यता, तिलाठी र रम्पुरा मल्हनियाँको समेत झन्डै २ सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ। 'तिलाठीको ८ र ९ वडा डुबानमा छन्, हाम्रो बिओपीभित्र पनि बाढी पसेको छ,' उनले भने, 'तिलाठी–२, ३, ४ र रम्पुरा मल्हनियाँको समेत केही वडा डुबानमा छन्।’

बाढीले तिलाठी तथा भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गतको कुनौली ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा भारतले बनाएको बाँध तथा कब्रगाह कटान गरेको छ।

बाँध बनाउन भारतीयले बिहानैदेखि प्रयास थालेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए। उनले त्यहाँ केही पनि काम नगर्नु/गराउनु भनेर आफूले भारतीय सीमा सुरक्षा अधिकारीमार्फत जानकारी गराइसकेको श्रेष्ठले जनाए।

 खाँडोको कटानले तोपा गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका नायब प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। 'बाँध नाघेर पानी बस्तीमा पसिरहेको छ,’ उनले भने, 'बाँध कटानको खतरासमेत बढेको छ। स्थानीय करिब ५० परिवार घर छाडेका छन्।'

त्यस्तै, पातो र कजौलीका २ सय परिवार बाढीले विस्थापित छन्। दिघवा ७, ८ र ९ स्थित दलित बस्ती पनि बाढीको चपेटा परेको स्थानीय विष्णुदेव यादवले बताए।

 महुली नदीको बाढी पस्दा सप्तरीको भारदह र पोर्ता गाविसका ६ वटा वडाका ३ सय घर डुबानमा छन्। हजारौं बिघा खेतीयोग्य जग्गा डुबेको छ। जिता नदीको बाढीले महदेवा, भगवतपुर र बथनाहाका २ सयभन्दा बढी घर डुबेका छन्। भलुवाही नदीको पानी पस्दा राजविराज ६, ७, ८ र ९ वडाका सयभन्दा बढी घर डुबानमा परेको राजविराज नगरपालिकाले जनाएको छ।

उदयपुरमा पनि डुबान

उदयपुरमा पनि लगातारको वर्षाले जनजीवन असहज छ। जताततै डुबान हुँदा स्थानीय प्रभावित छन्। गाईघाट र आसपास क्षेत्र कतै डुबान र कतै कटान छ। कटारी, बेलटार बसाहा, दक्षिणी भेगका गाविस तथा पूर्वी नाका रामपुरमा पनि डुबान र कटानले स्थानीय त्रस्त छन्।

पानी जमेर गाईघाटका सबै सडक खोलाजस्ता भएका छन्। साना नालाबाट निकास सम्भव नभएपछि पानी सडकमा जमेको हो। मोतिगडा, असारी, देउरी, बगाहा, जलजले, मोहनपुर, चुहाडे, राजाबास, गहिरुन, बागचौकी, भान्टाबारी, चक्कलघाट, भुल्के, दमौटी, श्रीपुरलगायत क्षेत्र डुबानमा परेको त्रियुगा नगर प्रहरीले जनाएको छ।

नगरपालिकासँग सीमा जोडिएका जोगीदह, हडिया, सुन्दरपुर, तपेश्वरीलगायत गाविस डुबानमा छन्।

कटारी र रिस्कुको बीच भएर बग्ने तावा, वैद्यनाथ तथा ककरु खोला र उदयपुर सिन्धुलीबीचको कमला नदीमा बाढी बढेर आवागमनमा समस्या भएको छ।

कटारी–मिर्चया सडक खण्डमा पर्ने बेलसोत, गुराँस खोलाको बाढीले पनि यातायात अवरुद्ध भएको स्थानीय लक्ष्मण राईले बताए। उनका अनुसार ठाउँठाउँमा पहिरो खसेर कटारीदेखि घुर्मीसम्मको सडक गाडी चल्न सक्ने अवस्था छैन।

सप्तकोसीमा रातो बत्ती

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत रातो बत्ती बालिएको छ। पाँच दिनदेखि पानीको बहाव बढ्दो छ। शनिबार अपराह्न ४ बजेको मापनअनुसार नदीमा पानीको बहाव २ लाख ४२ हजार ७ सय २५ क्युसेक छ।

पहाडी जिल्लामा निरन्तर वर्षा भएकाले  कोसीमा बहाव बढ्दै गएको हो। पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा खोलिएको छ। ब्यारेजमा अहिले खतराको संकेत दुइटा रातो बत्ती बालिएका छन्।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाब हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। 

पानीको बहाव बढे पनि अहिलेसम्म कुनै खतरा नभएको स्थानीय प्रशासनले जनाएको छ। कोसी ब्यारेजको पानी भारवहन क्षमता नौं लाख ५० हजार क्युसेक छ।

(चुमन बस्नेत/विराटनगर, अमर खड्का/इटहरी, जितेन्द्रकुमार झा/सप्तरी र महेश्वर चामलिङ राई/उदयपुर)

प्रकाशित: ९ श्रावण २०७३ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App