coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डाक्टरको लापरबाहीले बालकको मृत्यु

छोराको मृत्युपछि बेहोस भएकी जितेन्द्रकी आमा (बीच) लाई सम्हाल्दै आफन्त। र, मृतकका बाबु कैलाश मण्डल। तस्बिर : सुरेश यादव/

जनकपुर- निमोनियाले ग्रस्त १३ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएपछि बिहीबार दिनभर जनकपुर अञ्चल अस्पताल क्षेत्र तनावमय रह्यो। उपचार गराउन ल्याइएका बालकको डाक्टरको लाहपर्वाहीले मृत्यु भएको र प्रहरीले उल्टै मृतककै बाबुलाई पक्राउ गरी थुनेको भन्दै मृतक पक्षले दिनभर प्रदर्शन गरेको छ।

धनुषा, मिथिलाबिहारी गाउँपालिका–१०, ठेरा घर भएका कैलाश मण्डलका छोरा १३ वर्षीय जितेन्द्रलाई निमोनिया भएपछि बुधबार दिउँसो उनकी आमाले जनकपुर अञ्चल अस्पतालको ओपिडिमा जाँच गराएकी थिइन्।

चिकित्सकले तत्काल स्लाइन दिनुपर्ने भन्दै भर्ना गर्न सल्लाह दिए। तर, अस्पतालकी नर्सले बच्चा वार्डमा वेड खाली नभहेको भन्दै गाउँमै गएर स्लाइन लगाएपनि हुने र निको नभए अर्कोदिन (बिहीबार) अस्पताल आउन सुझाइन्। नर्सले दिएको सुझावअनुसार बालककी आमाले जितेन्द्रलाई घर लगिन्। तर, गाउँमा स्वास्थ्यकर्मीले जाँच गराएकै ठाउँमा स्लाइन लगाउनुपर्ने भन्दै बेवास्ता गरिदिएपछि उनी घरेलु उपचारकै भर परिन्।

छोराको मृत्युपछि मर्माहत भएकी जितेन्द्रकी आमाले छोराको उपचार क्रममा भोग्नु परेको चिकित्सकको लाहपर्वाहीबारे नागरिकसँग भनिन्, 'साँझको समय थियो, दिउँसै अस्पतालमा ल्याएको जितेन्द्रको उपचार पुरा नहुँदै घर फर्केर फेरि अस्पताल आउँदा पनि डाक्टरले गम्भीरता देखाएनन्। छोराको अवस्था गम्भीर हुँदै गइरहेको थियो, जितेन्द्रको बुवाले छिटो उपचार गर्न भनेपछि स्लाइन लगाइदिए। सुई र केही औषधि पनि दिए। त्यसपछि बच्चा वार्डमा लगेर भर्ना गरिदिए।'

अस्पतालमा डाक्टर र नर्सले बिरामीप्रति खासै वास्ता नदेखाएपनि छोराको गम्भीर अवस्थाले त्यहाँ उपचार गराउनुको कुनै विकल्प पनि नरहेको सुनाउँदै उनले भनिन्, 'बिहान करिब अढाई बजेतिर जितेन्द्रको हातमा लगाइएको स्लाइनको पाइपमा रगत आयो। हामीले नर्सलाई भन्यौैं। नर्सले सुनुवाई गरिनन्। धेरै कराएपछि आएर हेरेजस्तो गरे। तर, छोराको अवस्थामा खासै सुधार भइरहेको थिएन। झन् शरीरको चाल घट्न थालेपछि हामी आत्तिएका थियौं। एकैछिनपछि छोराको सास बन्द भएको भनियो। म त बेहोस जस्तै भएँ। उहाँ (जितेन्द्रको बुवा) ले जितेन्द्रलाई बोकेर तल इमर्जेन्सीतिर दौडिनुभो। त्यतिकैमा लाहपर्वाहीकै कारण बालकको मृत्यु भएको भन्दै अस्पतालमा कोकोहोलो मचिसकेको थियो। कसले के गर्‍यो थाहा भएन। यता इमर्जेन्सी वार्डको अगाडिमा रुँदै उभिरहेका उहाँलाई नै प्रहरीले पक्रेर लग्यो।'

कैलाशले उपचारको क्रममा डाक्टर र नर्सले आवश्यक ध्यान नदिएकै कारण आफ्नो छोराको ज्यान अनाहकमै गएको भन्दै स्वभाविक आक्रोसित अवस्थामा रोइकराइ रहेको बेला प्रहरीले आफूलाई पक्रेको बताए।

'एकतिर उपचारको लागि ल्याएको छोराको उपचार अभावमै मृत्यु भएको पीडाले छट्पटाहटमा थिएँ। फेरि प्रहरीले मलाई नै पक्रेर लग्यो। जिल्ला प्रहरी कार्यालयमा पनि नर्सलाई कुटेको भन्दै लाती र मुक्काले हान्दै भित्र लगेर थुनिदियो। करिब ६ बजेतिर गाउँले आएपछि थुनाबाट निकालेर अस्पतालमा ल्याएको हो,' कैलाशले नागरिकसँग भने।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादवले भने जितेन्द्रलाई उपचारका लागि अञ्चल अस्पतालमा ल्याएर भर्ना गरिएको स्वीकारे पनि उसको मृत्यु अस्पताल बाहिर भएको दावी गरेका छन्। दिउँसो जाँच गराउन ल्याएको बेला भर्ना गर्नुपर्नेमा के कारणले फर्काएर लगिएको हो भन्नेबारे छानबिन  गरिरहेको बताउँदै उनले भने, 'राति जितेन्द्रको स्वास्थ्य अवस्था निकै गम्भीर अवस्थामा पुगेपछि इमर्जेन्सीमा ल्याइएको थियो। त्यहाँ प्राथमिक उपचार गरेपछि बच्चा वार्डमा भर्ना गरियो। त्यसक्रममा उसको मुखमा लगाइएको अक्सिजनको पाइप निकालेर फाल्ने गर्थ्यो। नर्सले उक्त पाइप मुखमै लगाएर केहीवेरसम्म राख्नुपर्ने दबाव दिएपनि उसले निकालेर फालिहाल्थ्यो। तैपनि राति १२ बजेसम्म उसको स्वास्थ्य खतरामुक्त नै थियो।'

राति करिब एकबजेको समयमा कैलाशले छोरालाई उठाएर अस्पताल बाहिर लगेको र बाहिरै मृत्यु भएपछि पुनः अस्पतालको इमर्जेन्सी कक्षमा ल्याएर राखिदिएको आरोप डाक्टर यादवको छ।

'बिहान करिब अढाइ बजेको समयमा मृत अवस्थामा जितेन्द्रलाई ल्याएर खाली वेडमा राखिदिएपछि तत्कालीन समयमा इमर्जेन्सी वार्डमा ड्युटीमा रहेका डा. केडी दासले कहाँबाट बच्चालाई ल्याएको हो भनी सोध्दै गर्दा उसको मृत्यु भइसकेको बताएका थिए। त्यतिकैमा कैलाशले बच्चा वार्डमा गएर त्यहाँ ड्युटीमै रहेकी स्टाफनर्स कविता चौरसियालाई लाठीले हाने, चौरसियाको हातमा चोट छँदैछ,' उनले भने, 'अस्पतालमा ड्युटी गरिरहेका स्वास्थ्यकर्मी उपर आक्रमण भएपछि प्रहरीले कैलाशलाई नियन्त्रणमा लिएको हो।'

यसैबीच, जितेन्द्रको मृत्यु घटनाको रहस्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनापछि पीडित र अस्पताल व्यवस्थापन पक्षबीच छलफलपछि अस्पताल विकास समितिका सदस्य रामप्रबोध महतोको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जनाए।

अस्पतालका डाक्टर रामनरेश पण्डित, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, मृतकको पक्षबाट लेखापढी व्यवसायी संघका पूर्व अध्यक्ष रामनारायण पुर्वे र राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दीप यादव छानबिन समितिका सदस्य छन्। उक्त समितिले १५ दिनभित्र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सिफारिस सहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ।

प्रकाशित: ६ श्रावण २०७४ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App