७ वैशाख २०८१ शुक्रबार
अन्य

खुम्चँदै टुँडिखेल

सन् १९८१ को टुँडिखेल । स्रोत : नापी विभाग

सायद
स्वामित्व हराएको खेतको आलीमा उभिएर
आफैँलाई नियालिरहेको कृषकझैँ
घाँटीमै अड्किएको क्रन्दनको हिक्का
अस्पष्ट शीत्कार र आँखाको डिलमा टल्किएको आँसु
निलेर मनका खोकिलाहरूमा
भक्कानिरहेछ टुँडिखेल ।

मणिराज सिंहले लेखेको कविताजस्तै हालत भोग्दै छ, वर्तमान टुँडिखेल । पहिले रानीपोखरीदेखि दशरथ रंगशालासम्म खुला चौरका रूपमा थियो टुँडिखेल । कुनैबेला यसको घेरा करिब साढ तीनदेखि चार किलोमिटर लामो र तीन सय मिटर चौडा भएको अनुमान छ । कतिपयले यसलाई एसियाकै ठूलो परेड मैदान समेत भन्थे । 

विभिन्न खाले भौतिक संरचना निर्माणसँगै पछिल्लो समय यसको क्षेत्रफल आधाभन्दा बढी खुम्चिसकेको छ । पहिलेको टुँडिखेलअन्तर्गत पर्ने खुलामञ्चको हाल लम्बाई दुई सय पाँच र चौडाइ एक सय ५५ मिटर रहेको काठमाडौं महानगरपालिकाको रेकर्डमा उल्लेख छ । खुलामञ्चको कुल क्षेत्रफल ५८ रोपनी छ । 

सैनिकमञ्चतर्फ तीन सय मिटर लम्बाइ र दुई सय ५० मिटर चौडाइ छ । सैनिकमञ्चतर्फको कुल क्षेत्रफल भने दुई सय ४० रोपनी छ । 

विगतमा टुँडिखेलको आकार अहिलेको भन्दा धेरै फराकिलो भएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः बताउँछन् । त्रिपुरेश्वरको दशरथ रंगशालादेखि जमल, रानीपोखरीसम्मको क्षेत्रलाई टुँडिखेल भनिने गरेको उनले बताए । 

अहिले त्रिपुरेश्वर दशरथ रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ । उत्तरतिरको रत्नपार्क र खुलामञ्च पनि टुँडिखेलबाट अलग्गिएको छ । खुलामञ्चमा त महानगरपालिकाले बसपार्क बनाइदिएको छ । सहरको बढ्दो जनसंख्यासँगै खुला स्थानको खोजी भइरहँदा नगरको बीचमा रहेको एउटै मात्र खुला स्थान नासिँदा सर्वसाधारण चिन्तित छन् । सरकारी निकायबीच नै एक–अर्कोमा समन्वय नहुँदा यसको उचित संरक्षण हुन सकेको छैन । 

काठमाडौं महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्की आफूहरू खुलास्थानको संरक्षणमा जुटेको दाबी गर्छन् । उनी केही क्षेत्रमा भने महानगरको पहुँच नपुग्ने बताउँछन् । 

‘हामीले खुला ठाउँ अतिक्रमण रोकेका छौँ,’ उनले भने, ‘कतिपय ठाउँ भने हाम्रो पहुँचभन्दा बाहिरको छ ।’ नेपाली सेनाले टुँडिखेलमा भौतिक संरचना निर्माण गर्दा नगरपालिकासँग अनुमति नमागिएको उनले बताए । ‘खुला ठाउँको संरक्षणका लागि हरेक निकाय जिम्मेवार हो,’ उनले भने, ‘सबै मिलेमा सहरमा खुला ठाउँ राख्ने अभियान पूरा हुन्छ ।’
नेपाली सेना र सरकारले नै विभिन्न भौतिक संरचना ठड्याउन थालेपछि टुँडिखेलको अस्तित्व संकटमा परेको हो । हालै मात्र पनि नेपाली सेनाले आर्मी अफिसर्स क्बल अगाडिको भागमा अग्ला भवनलगायत भौतिक संरचना बनाएको छ । 

पुरानो बसपार्कमा काठमाडौं भ्यु–टावर बनाउन लागेपछि महानगरपालिकाले खुलामञ्चमा सारेको बसपार्क तत्कालै हट्ने अवस्था छैन । 

गणतन्त्र प्राप्तिपछि टुँडिखेलको अस्तित्व अझै फेरिएको छ । सेनाले प्रयोग गर्दै आएको टुँडिखेलको भागमै अहिले विभिन्न जातजाति, धर्म र संस्कृतिका कार्यक्रम हुन थालेका छन् । दोस्रो जनआन्दोलनपछि राजनीतिक परिवर्तनसँगै टुँडिखेलमा सामान्य नागरिकले पनि प्रवेश पाउन थालेका छन् । घोडदौड र राजनीतिक भाषणका  लागि चिनिँदै आएको टुँडिखेल पछिल्लो समय जातजातिका महोत्सवले साझा फूलबारी बनेको छ । उत्सवसँगै आफ्ना माग समेत राख्न सकिने भएकाले टुँडिखेल ‘राज्यको आँगन’जस्तै रहेको उनीहरूको बुझाइ छ । 

‘भूकम्पको समयमा यो सबैको साझा आश्रयस्थल बन्न पुग्यो,’ कार्की थप्छन्, ‘हामीले यस्ता खुला ठाउँ कति आवश्यक रहेछ भन्ने सबैले बुझ्यौँ ।’ 

इतिहास 
लिच्छविकालमा प्रतिङ्गिरा देवी र वज्रभैरवले बज्रतुण्डी नामकी देवीलाई दाइजो दिएकाले टुँडिखेललाई तुण्डी क्षेत्र भनिन्थ्यो । यही तुण्डी शब्दबाट यसको नाम टुँडिखेल रहन गएको इतिहास भेटिन्छ । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि सैनिकहरूको परेड खेल्ने मैदान बन्यो, टुँडिखेल ।  

संस्कृतविद् जगमान गुरुङ राक्षसको थलो भनेर चिनिने टुँडिखेल पछिल्लो समय जातजातिको रमझमसँगै तीर्थस्थलको रूपमा परिचित हुँदै गएको सुनाउँछन् । ‘सामाजिक सद्भाव, प्रेम र भाइचारा बढाउने थलो भएको छ, टुँडिखेल,’ उनले भने, ‘एक प्रकारले यो पवित्र तीर्थस्थल बनेको छ ।’ टुँडिखेलमा चण्डीनाचदेखि झुमरा नृत्य समेत हुने गरेको बताए । 

कुनै समयमा नेवारमय हुने गरेको टुँडिखेल अहिले सबै जातिमय बन्दै गएको ग्वंग बताउँछन् । टुँडिखेलले जातजातिलाई जोड्ने काम गरेको उनले सुनाए । ‘यही टुँडिखेलमा २००८ फागुन ७ गते प्रजातन्त्र दिवसको कार्यक्रम मनाइएको थियो,’ उनले भने, ‘धर्ना, आन्दोलन विभिन्न राजनीतिक चरण पार गर्दै टुँडिखेल अहिले जातजातिको महोत्सव मनाउने साझा थलो बन्दै छ ।’

पछिल्लो समय महोत्सव मात्र होइन, टुँडिखेल अन्य ‘इभेन्ट’ सञ्चालन गर्ने केन्द्र समेत बन्दै गएको छ ।

 

प्रकाशित: ६ श्रावण २०७४ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App