६ वैशाख २०८१ बिहीबार
खेल

प्रशिक्षकसँग राम्रो सम्बन्धको चाहना

मुम्बई- भारतीय क्रिकेट कप्तान विराट कोहलीले खराब सम्बन्धका कारण यसअघिका प्रशिक्षक अनिल कुम्बलेले टिम छोडेको प्रसंग सम्भि्कँदै नयाँ प्रशिक्षक रवि शास्त्रीसँग आफूले राम्रो कामकाजी सम्बन्ध चाहेको बताएका छन्।

शास्त्रीसँग राम्रो सम्बन्ध बनाउँदै काम गर्ने विश्वास व्यक्त गर्दै कोहलीले भारतीय जनताले राष्ट्रिय क्रिकेट टोलीसँग राखेको अपेक्षा आफूलाई जानकारी भएको बताए। श्रीलंका भ्रमणमा निस्कने क्रममा कोहलीले भने, 'हामीबाट के अपेक्षा गरिएको छ र हामीले के गर्नुपर्छ भन्ने मलाई थाहा छ।'

गत महिना महान् स्पिनर कुम्बलेले कोहलीसँगको खराब सम्बन्धका कारण आफू प्रशिक्षकका रूपमा भारतीय टिममा रहन नसक्ने बताउँदै राजीनामा दिएपछि कोहलीमाथि औंला उठेका थिए। तर कोहलीले नयाँ प्रशिक्षक नियुक्त नभएसम्म यस विषयमा कुनै खास प्रतिक्रिया जनाएका थिएनन्। २०१४ देखि १०१६ सम्म टिममा निर्देशकको भूमिकामा रहेका शास्त्रीलाई भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेपछि कोहलीले पहिलो पटक यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘हामीले तीन वर्ष सँगै काम गरेका छांै। मलाई उनका बारेका अन्य कुरा बुझ्न बाँकी छ जस्तो लाग्दैन,’ शास्त्रीसँगै सञ्चारकर्मीमाझ उपस्थित भएका कोहलीले भने, ‘मेरो र प्रशिक्षको सम्बन्धका बारेमा धरै अड्कलबाजी काटिएको छ । म मेरो क्षमताअनुसारको प्रदर्शन गर्दै टोलीलाई सुखद नतिजा दिलाउने प्रयास गर्नेछु।’

बिसिसिआईले शास्त्रीलाई सन् २०१९ को विश्वकपसम्म टोलीको प्रशिक्षणको जिम्मा दिएको थियो।

‘मेले जहाँबाट छोडेको थिएँ त्यहीँबाट सुरुआत गर्दै छु। मेरो प्रमुख जिम्मेवारी भनेको टोलीलाई राम्रो नतिजा दिलाउनु हो,’ पूर्वअलराउन्डरसमेत रहेका ५५ वर्षे शास्त्रीले भने।

शास्त्रीले प्रशिक्षक बन्ने दौडमा भारतीय पूर्वब्याट्सम्यान वीरेन्द्र सेवाग र पूर्वम्यानेजर लालचन्द राजपुत, अस्ट्रेलियाका टम मडी र इ्ङल्यान्डका रिचार्ड पेवसलाई पछि पारेका हुन्।

तर शास्त्रीले टोलीमा प्रशिक्षक आउने जाने भैरहने भन्दै सफलताको श्रेय खेलाडी र समग्र टोलीले पाउनुपर्ने बताए।

‘टोलीले पछिल्लो ३ वर्षमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ र खेलाडीहरूलाई यसको श्रेय जान्छ। रवि शास्त्री र अनिल कुम्बलेजस्ता प्रशिक्षक आउँछन् जान्छन् ,’ शास्त्रीले भने, ‘भारतीय टोलीको लयले निरन्तरता पाउनेछ र सधैँ राम्रो प्रदर्शनको श्रेय खेलाडी र समग्र टोलीलाई दिनुपर्छ, कुनै एक प्रशिक्षकलाई मात्र होइन।’

भारतले श्रीलंकासँग ३ टेस्ट म्याचको शंृखला, पाँच एकदिवसीय शंखला र एक ट्वान्टी–२० खेल खेल्नेछ। पहिलो टेस्ट जुलाई २६ बाट गेलमा सुरु हुँदै छ।

प्रकाशित: ६ श्रावण २०७४ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App