७ वैशाख २०८१ शुक्रबार
अन्य

हरियो महिना

धापासीकी रेखा भुजेलले एक दर्जन चुरा आफ्ना लागि किनिन् । अर्को दर्जन आमाका लागि अनि थप दुई दर्जन दिदी र बहिनीका लागि। 

यसै साता असनमा भेटिएकी भुजेलको ब्याग हरियो चुराले भरियो । ‘साउनमा सधैँ हरियो चुरा लगाउँछु,’ उनले भनिन्, ‘यसबेला उपहार दिन पनि हरियो नै राम्रो हुन्छ भनेर आमा र दिदीबहिनीका लागि पनि किनेँ ।’

अघिल्ला वर्ष व्रत नबसे पनि यसपालि साउने सोमबार उनी व्रत बसेकी छन् । मन्दिर जाँदा सधैँ हरियो चुरा र पोते लगाउने गर्छिन् । 

चुरासँगै साउनमा हरियो पोते पनि धेरै बिक्ने गर्छ । विवाहित हिन्दू महिलाले गलामा पोते लगाउने चलन छ । अरू बेला रातो वा अन्य रङका पोते लगाउनेले साउनमा भने हरियो रङको पोते लगाउँछन् । 

भुजेलजस्तै साउनका हरियो चुरा लगाउने धेरै छन् । पसलमा अचेल हरियो चुरा किन्नेकै भीड लाग्ने गर्छ । विवाहित मात्र नभई अविवाहित महिलाले समेत हरिया चुरा लगाउने गरेको कलंकीकी कस्मेटिक व्यापारी दिलकुमारी महतले बताइन् । ‘कहिल्यै चुरा नलगाउने नानीहरू पनि हरियो चुरा खोज्दै आउँछन्,’ उनी भन्छिन्, ‘यो महिना नै हरियो लगाउने हो ।’

साउनमा बालिकादेखि वृद्धासम्मका नाडी हरिया चुराले सजिने गरेका छन् । हरियोसँगै पहेँलो र रातो चुरा मिसाएर लगाउने चलन पनि रहेको महत बताउँछिन् । साउनभर पसलमा आउनेलाई चुरा र मेहन्दी लगाइदिँदै उनको दिन बित्छ ।

चुरासँगै साउनमा हरियो पोते पनि धेरै बिक्ने गर्छ । विवाहित हिन्दू महिलाले गलामा पोते लगाउने चलन छ । अरूबेला रातो वा अन्य रङका पोते लगाउनेले साउनमा भने हरियो रङको पोते लगाउँछन् । हरियो पोतेको सिजन भएकाले असनमा पोते उन्ने युडी जुबेललाई कामको चटारो छ ।

१८ वर्षदेखि असनमा उनी ग्राहकको मागअनुसारको डिजाइनका पोते उन्दै आएका छन् । चार सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म ज्याला लिएर पोते उन्ने गरेको उनले बताए । अचेल दैनिक चारदेखि ६ वटासम्म पोते उन्ने गरेको उनले बताए ।

३२ वर्षदेखि असनमा सञ्चालन भइरहेको पोते पसल ‘बिड्स कर्नर’का सञ्चालक धर्मशंकरराज शाक्यका अनुसार पोतेको सबैभन्दा धेरै व्यापार साउनमै हुन्छ । उनको पसलमा बेचिने पोते केन्द्रीय कारागारका कैदीका मेहनत हुन् । हरियो, पहेँलो र रातो रङ मिसाएर डिजाइन गरिएको पोते धेरै बिक्री भइरहेको शाक्यले बताए ।

धेरै महिलाले साउनलाई रङमार्फत आफ्नो प्रेमी वा जीवनसाथीप्रति प्रेम र समर्पण जनाउने अवसरको रूपमा पनि उपयोग गरेका छन् । यसै महिनामा हरियो मेहन्दीले हातगोडा सजाएर कतिपयले आफ्नो प्रेमी र श्रीमान्को नाम समेत लेख्ने गरेका छन् । मेहन्दी रङको गाढापनको तुलना प्रेमी या श्रीमान्को प्रेमसँग गर्नेहरूको पनि कमी छैन । 

दक्षिण कोरियामा रहेका आफ्ना श्रीमान्को सुस्वास्थ्यको कामना गर्दै सातदोबाटो बस्ने जानुका राईले हातमा मेहन्दी लगाएकी छन् । उनले हाँस्दै भनिन्, ‘मेहन्दीको रङ गाढा भए माया नि गाढा हुन्छ रे, त्यही भएर लगाइहेरेकी ।’ सुस्वास्थ्यको कामना दिनदिनै गर्ने भए पनि साउनमा श्रीमान्को नाममा मेहन्दी लगाउँदा आफूलाई खुसी लागेको राई सुनाउँछिन् । 

मेहन्दीलाई हिन्दू महिलाले प्रयोग गर्ने रङसँग तुलना गर्न मिल्ने मेहन्दी आर्टिस्ट कुलदीपकुमार वाष्र्णेय बताउँछन् । ‘मेहन्दीको पातको लेदो हरियो हुन्छ, त्यो लगाएपछि गाढा राम्रो रङ हातमा बस्छ,’ उनले भने, ‘हरियो र रातो हिन्दू महिलाले प्रयोग गर्ने रङ हुन् ।’
 
कतिपय महिलाका लागि भने हरियो मेहन्दी लगाउनु, हरियो चुरा लगाउनु फेसन बदल्ने बहाना हो । अरु बेला जुनसुकै रङको पहिरन लगाए पनि कीर्तिपुरकी अनिता भट्ट साउनमा कुनै न कुनै चिज हरियो लगाउने गरेकी छन् । ‘कहिले चुरा त कहिले लुगा हरियो लगाउँछु,’ उनी भन्छिन्, ‘फेसन पनि फरिएको अनुभव हुन्छ ।’ उनका लागि हरियो लगाउनु मौसमको उत्सव मनाउनुजस्तै हो । साउनमा हरियो लगाउँदा प्रकृतिसँग निकटता अनुभव गरेको उनको तर्क छ । ‘साउनमा पूरै मौसम हरियाली हुन्छ,’ अनिता भन्छिन्, ‘हरियो मौसममा हरियो लगाउँदा मौसम सेलिब्रेट गरेजस्तो अनुभव गर्छु ।’ 

प्रकाशित: ६ श्रावण २०७४ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App