८ वैशाख २०८१ शनिबार
अर्थ

दर्जन उत्पादनलाई गुणस्तर चिह्न दिइँदै

काठमाडौं- भारतका एक दर्जनभन्दा धेरै उद्योगका उत्पादनलाई नेपाल गुणस्तर (एनएस) चिह्न दिइने भएको छ। मुलुकभित्र गुणस्तर चिह्न अनिवार्य गरिएका विदेशी वस्तुले पनि एनएस चिह्न लिनै पर्ने व्यवस्था लागू भएपछि उनीहरुको प्रक्रिया अघि बढेको हो।

नेपाल गुणस्तर तथा नापतौल विभागले भारतका १२ वटा उत्पादनलाई एनएस चिह्न दिने प्रक्रिया अगाडि बढाएको हो। 'भारतका १२ वटा उद्योगका उत्पादनलाई गुणस्तर चिह्न दिने विषयमा अध्ययन सुरु गरिएको छ,' विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नागरिकसँग भने, 'चाँडै नै तिनीहरूको अनुगमनमा जादैछौं।' उनका अनुसार भदौ महिनाभित्र ती उद्योगका उत्पादनलाई गुणस्तर चिह्न दिने प्रक्रिया पूरा हुनेछ।  

गुणस्तर लिने प्रक्रियामा रहेका भारतीय उत्पादनमा फलामे डन्डी, सिमेन्ट, कम्पोजर र एलपिजी सिलिन्डर, ब्याट्री लगायत छन्। भारतस्थित उद्योगमै गएर अनुगमन गरी एनएस चिह्न दिइने पुडासैनीले बताए। 

सरकारले जेठ अन्तिम साता स्वदेशमा गुणस्तर चिह्न अनिवार्य गरिएका ११ वटा वस्तु विदेशबाट ल्याउनु परेमा अनिवार्य उक्त चिह्न लिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णययता भारतका दुई र चीनको एक उत्पादनलाई एनएस चिह्न प्रदान गरिसकेको महानिर्देशक पुडासैनीले जानकारी गराए। गुणस्तर ऐनले स्वदेशका विभिन्न ११ उत्पादनलाई एनएस चिह्न अनिवार्य गरेको छ। विदेशबाट भने ती वस्तु गुणस्तर चिह्नबिनै आयात गर्न पाइन्थ्यो।

एनएस चिह्न अनिवार्य गरिएका वस्तुमा पिपिसी, ओपिसी र पिएससी तीन प्रकारका सिमेन्ट, आइरन बार, पिभिसी केबल, माइल्ड स्टिल वायर, जिआई सिट, एलपिजी रेगुलेटर, एलपिजी सिलिन्डर, एलपिजी भल्व फिटिङ र ड्राई सेल ब्याट्री छन्। अब यी वस्तु विदेशबाट आयात गर्दा स्वदेशी जस्तै अनिवार्य रुपमा एनएस चिह्न लिनुपर्छ। जनसाधारणको सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले संवेदनशील भएकाले यी वस्तुमा एनएस चिह्न अनिवार्य गरिएको हो।

स्वदेशी वस्तुलाई एनएस अनिवार्य गरिएको सन्दर्भमा सबैलाई समान व्यवहार गर्न यो नियम ल्याइएको पुडासैनीले बताए। उद्योगी, व्यवसायीले विदेशी वस्तुलाई समेत गुणस्तर चिह्न अनिवार्य गर्न आवाज उठाइरहेका थिए। स्वदेशी उत्पादनलाई विश्वास नगर्ने सरकारले विदेशीलाई आँखा चिम्लिएको भन्दै उद्योगी, व्यवसायीले समान व्यवहार गर्न आग्रह गरेका हुन्।

उद्योग मन्त्रालयले सुरक्षा र स्वास्थ्यका दृष्टिले संवेदनशील विदेशी वस्तुलाई एनएस चिह्न अनिवार्य गरेको हो।

विदेशी उत्पादनलाई एनएस चिह्न दिने काम उनीहरूका नेपाल प्रतिनिधिमार्फत हुन्छ। नेपालमा रहेका व्यावसायिक प्रतिनिधि वा उद्योगले तोकेको व्यक्ति वा कार्यालयमार्फत विदेशी उत्पादनलाई गुणस्तर चिह्न दिने प्रक्रिया अघि बढ्ने पुडासैनीले बताए।

नेपालमा विशेष गरी भारत र चीनबाट बढी सामान आयात हुने भएकाले हाललाई ती देशबाट आउने वस्तुमा एनएस चिह्न लगाउने काम गरिने छ।

हालसम्म दुई सयभन्दा धेरै स्वदेशी उद्योगले एनएस चिह्न लिएका छन्। एनएस चिह्नको इजाजतपत्र पाउने वस्तुको संख्या तीन सय १० पुगेको छ।

विभागसँग एक हजार उत्पादनलाई एनएस चिह्न दिन सक्ने क्षमता छ। नेपालमा ५६ प्रकारका उत्पादनले गुणस्तर चिह्न प्रयोग गरिसकेका छन्। अहिलेसम्म सिमेन्टले सबैभन्दा धेरै एनएस चिह्न लिएका छन्। विभागका अनुसार अनिवार्य गरिएका वस्तुहरूकै लागि धेरै एनएस चिह्न लिइएको छ।

सरकारले ११ वटा वस्तुबाहेक अन्यलाई गुणस्तर चिह्न अनिवार्य गरेको छैन। कानुनमा तोकिएका ११ वस्तुबाहेक अरुले स्वेच्छाले गुणस्तर चिह्न लिने गरेका छन्। आफ्नो उत्पादनलाई विश्वसनीय बनाउन एनएस चिह्न लिएका हुन्।

एनएस चिह्न पाएपछि पहिलोपटक तीन वर्षमा र त्यसपछि हरेक वर्ष नवीकरण गर्नुपर्छ। विभागले बेलाबेलामा एनएस चिह्न लिएका उत्पादनको बजार अनुगमन गर्छ। जनसाधारणबाट गुनासो आयो भने पनि विभागले अनुगमन गर्छ।   

प्रकाशित: ६ श्रावण २०७४ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App