१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

साउने व्रतले बढ्ला ग्यास्ट्रिक

हिन्दू धर्मावलम्बीमाझ साउनभरि भगवान् शिवको आराधना गर्ने एवं विवाहित स्त्रीले आफ्ना पतिको दीर्घायु तथा अविवाहितले असल पति पाउन प्रत्येक सोमबार व्रत लिने चलन छँदै थियो। त्यसमाथि त्यस्तै आठ–दश वर्षदेखि नेपालमा भित्रिएको बोलबमको चलनले साउनभर थप व्यस्तता बनाएको छ। विभिन्न आयोजक तथा धार्मिक संस्था बोलबमको यात्रा कहाँ गर्ने, कसलाई सहभागी गराउने? भनेर योजना बनाउन व्यस्त छन्।

धार्मिक आस्था राख्नुपर्छ, यसमा कसैको पनि दुई मत छैन होला। तर, दिनभरको टन्टलापुर घाम वा झरी, खाली पेटका कारण आफ्नो स्वास्थ्यमा पर्न जाने नकारात्मक असरप्रति उत्तिकै ध्यान पुर्‍याउन जरुरी छ।

धार्मिक आस्था राख्नुपर्छ, यसमा कसैको पनि दुई मत छैन होला। तर, दिनभरको टन्टलापुर घाम वा झरी, खाली पेटका कारण आफ्नो स्वास्थ्यमा पर्न जाने नकारात्मक असरप्रति उत्तिकै ध्यान पुर्‍याउन जरुरी छ। पहिलेजस्तो खाली खुट्टा लामो बाटो हिँड्ने हाम्रो बानी छुटिसकेको छ, त्यस्तोमा पिच, ग्राबेल अनि हिलाम्य सडकले खाली खुट्टालाई राम्रो गर्दैन। दिनभरिको पसिना अनि आवश्यक लवणयुक्त पानीको अभावका कारण त्यस दिन बेलुका कतिको पिँडुलाको मासु फर्कन सक्छ। कतिको पैताला खुइलिई भतभती पोल्न सक्छ। घामको पोलाईले कतिलाई 'सन बर्न' हुन सक्छ? भनी साध्य छैन। तर, बोलबममा सहभागीले प्रशस्त जीवनजल वा नुन, चिनी, पानी पिउनुपर्छ। चर्को घामबाट बच्न 'सन क्रिम' लगाउनुपर्छ। वर्षात्को रुझाइले रुघाखोकी, ज्वरो अनि जिउ दुख्ने समस्याबाट बच्ने उपाय अपनाउनुपर्छ।

ग्यास्ट्राइटिस, पेटको अल्सर अनि भोको पेटका कारण टाउको दुख्ने समस्या (माइग्रेन खालको टाउको दुखाई) हुने अनि मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मानसिकजस्ता जीर्ण प्रकारका रोग लागेकाहरूले बोलबममा सहभागिता जनाउनुअगाडि धेरै विचार पुर्‍याउनुपर्छ। त्यसैगरी युरिक एसिड, बाथका कारण जोर्नी दुख्ने समस्या भएकाले पनि औषधि खान छुटाउने तथा खाली खुट्टा हिँड्नु स्वस्थ्यकर हँुदैन।

दिनभर भोकै यी कार्यमा लाग्नुभन्दा विकल्पको रूपमा फलफूल खाने, साकाहारी खाना खाने, प्रशस्त मात्रा झोलिलो खानेकुरा खानेतर्फ पनि जोड दिनुपर्छ। चकलेट, ग्लुकोज पानी, सर्वतले तुरुन्त शक्ति प्रदान गर्ने हुनाले बोलबम यात्रामा सहभागीमध्ये कसैको शरीरमा ग्लुकोजको अभावमा चक्कर लाग्ने, बेहोस हुने, कम्पन छुट्ने भएमा तुरुन्त शक्तिप्रदायक झोल पदार्थ खुवाउनुपर्छ। बोलबम यात्रा दौरान बाटोमा चटपटे, पानी पुरी खाने, चाउचाउ कुरकुरेलगायत जंकी खानेकुरा खानु हुँदैन।

विगतको सशस्त्र द्वन्द्वका कारण सिर्जित चरम असन्तुष्टि अनि आजकलको अस्थिर राजनीतिक परिस्थितिले गर्दा पनि मानिसमा छिटै चिडचिडाहटपन (इरिटेसन) आउने गरेको छ। त्यसैले पनि आजकल नेपाली छिटै उत्तेजनामा आउँछन्। सबैजसोले मानसिक शान्ति नै चाहेका छन्। यसैका लागि पनि मानिस विभिन्न किसिमका धार्मिक कार्य अनि वैकल्पिक उपायमा लागिरहेका छन्। यस्तैमध्ये बोलबम एक हो। आफूलाई इच्छा छ भने मनको शान्तिका लागि पनि बोलबममा लाग्न सकिन्छ।

बोलबम, योग, साई, आध्यात्मिक चिन्तन, विपश्यनाले कसैकसैलाई समय क्रममा फाइदा हुँदै गयो होला, तर सबैलाई राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन। साँचो कुरा के पनि हो भने यी क्रियाकलापले तत्क्षण स्वास्थ्य समस्यामा कुनै चामत्कारिक सुधार देखिँदैन। हृदयाघात, बेहोस, मस्तिष्काघात, दीर्घ तथा जीर्ण रोग र शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य समस्याका लागि एलोपेथिक उपचार बाहेकलेे खासै काम गर्दैन। त्यसैले विभिन्न जीर्ण प्रकारका रोगका लागि नियमित औषधि खाइरहेकाले चिकित्सकको सल्लाहबिना एक्कासि औषधि छोड्नुहुँदैन।

तर बोलबमको पछिल्लो अभियानले आन्तरिक पर्यटनमा थोरै भए पनि सघाउ पुगिरहेको छ। बोलबम यात्राको मजा लिनुस् तर यस क्रममा आफ्नो स्वास्थ्यको ख्याल राख्नुस्।

प्रकाशित: ७ श्रावण २०७४ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App