हाम्रा स्रष्टाको जीवन

शनिबार, ०७ साउन २०७४, १३ : १७ डा. तारानाथ शर्मा


थोरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायले लेखक बन्नेहरू पनि प्रशस्त छन् भने तिनकै हाराहारीमा धेरै प्रतिभा, धेरै अध्ययन र प्रशस्त अध्यवसायद्वारा बनेका लेखक भने कमै पाइन्छन्। प्रतिभा प्रशस्त भएर पनि अध्ययन र अध्यवसायतर्फ नलाग्ने अथवा प्रतिभा र अध्ययनको अभावमा हिरिक्किए पनि अध्यवसायमा मरिमेट्ने नै जाँगरिला भइदिनु राष्ट्रको दुर्भाग्य हो।

त्यसो भए साहित्यिक रचनाकारिता कुन चरीको नाउँ हो त भनेर तपाईं सोध्नुहोला। ठीकै सोध्नुभयो र रचनात्मकता त्यही चरीको नाउँ हो, जो कविका कलमसँग भुर्रभुर्र उड्दै लयमा चिर्बिराउँछ, कथा र उपन्यासका वेगमा हुइँकिँदै सिर्जनाको आकाशमा रकेटिन्छ र जीवनका नाटकको रेखांकन गर्दै निबन्धको राजपथमा सगर्व गुड्छ। हो, रचनात्मकता राष्ट्रको राजपथ हो र यसमा अनेकौँ सांस्कृतिक झाँकीयुक्त यान गुड्नुपर्छ।

जुन राष्ट्रमा साहित्य, कला र संगीतको बेवास्ता हुन्छ अथवा जहाँ सांस्कृतिक वैभव बाँदरका हातमा नरिवल हुन पुग्छ, त्यहाँ रचनात्मकताको विषय उक्काउनु नै पनि हास्यास्पद र अनुत्पादक मानिन्छ। यसो हुनाका पनि कारण छन्। समाजमा रचनाकारिता, रचनात्मकता र सांस्कृतिकताप्रति आदरको भाव नहुनु, शठ र अमर्यादित तŒवका हातमा माता लक्ष्मी रमाउनु र राज्यशक्ति कुकर्मी र अनैतिक व्यक्तिहरूले सञ्चालन गर्नुजस्ता राष्ट्रिय जोखिमको दुर्घटना आइपर्नु नै प्रमुख र एक मात्र कारण हो।

राष्ट्रिय दुर्घटनालाई विस्तृतीकरण गर्ने हो भने अर्को महाभारत लेख्नुपर्ने हुन्छ। त्यस्तो महाभारत लेख्ने व्यास नेपालमा फेरि पनि जन्मन सक्छन् वा जन्मिसकेको पनि छन् भन्ने कुरामा म विस्वस्त छु, तापनि त्यस्तो प्रतिभालाई थाम्ने वातावरण आज म कतै पनि यस मुलुकभित्र देख्तिनँ, यसोभन्दा तपाईं छक्क पर्नुहोला र ट्वाल्ल पर्दै मलाई मदन पुरस्कार, साझा पुरस्कार र त्रिभुवन प्रज्ञा पुरस्कारका पछिपछि वर्षमा च्याउ उम्रेझैँ उम्रेका पुरस्कारको झर्कोलाग्दो लाम देखाउनुहोला। यी नामले रचनात्मकताको अभिवृद्धिमा योगदान दिएका छन् कि नक्कललाई प्रोत्साहन दिएका छन् भनेर मैले सोधेँ भने तपाईं के उत्तर दिनुहोला? नाटीकुटी भष्म उठी भन्छन्। तपाईं पनि नाटाकुटी गर्न थाल्यो यसले भनेर मलाई भन्नुहोला र आफू पुरस्कार राख्न सक्दैन तर अर्काले राखेकामा वचन लगाउँदै दोषारोपण गर्छ भनेर आलोचना गर्नुहोला, कुरो त्यसो होइन। मैले नाटीकुटी गर्नुपर्ने कुनै आवश्यकता छैन इज्जत वा प्रतिष्ठाको कुरो गर्ने हो भने मदनपुरस्कारलाई उछिन्ने हाम्रो देशमा अरु कुनै छैन र त्यो पुरस्कार मैले उहिले पाइसकेको छु। पैसाको कुरो गर्ने हो भने मदन पुरस्कारभन्दा ठूलो भन्सारको सुब्बाङ्गी भएको छ।

हुन त अहिले नेपालको मन्त्रित्व र भन्सारको सुब्बाङ्गीमा कुनै ताŒिवक फरक म देख्दिनँ, तापनि जसरी वीरगन्ज भन्सारको सुब्बाले काठमाडौंस्थित मन्त्रीलाई र प्रधानमन्त्रीलाई समेत आफ्नो पैसा जोगाउने सिद्धान्त र व्यवहारको शिक्षा दियो र समस्त राज्यशक्तिले त्यस सैद्धान्तिक अभ्यासलाई रिट्ठो नबिराई अनुकरण गरेको छ। त्यसले गर्दा आधुनिक नेपालको विशेषता बालकृष्ण समले देखाएझैँ वेद र उपनिषद्को रचनाकारिता नभएर नक्कली मुजुर बन्ने तँछाडमछाड नै भएको प्रत्यक्ष छ।

भनाइको अर्थ के भने मदनपुरस्कार गुठीले केही रकम मुद्दती खातामा राखेर नेपाली भाषा र साहित्यका साधकलाई बर्सेनि पुरस्कार बाँड्ने जुन मौलिक बाटो देखायो, त्यो प्रतिष्ठित, प्रशंसित र प्रिय कार्य थियो। वास्तवमा त्यो मौलिक थियो र त्यसै हुनाले त्यो रचनात्मक पनि थियो। नक्कल गर्नु महान् प्राप्ति होइन, मौलिकताको अगाडि नक्कल सुगा हुन्छ, सुगा रटाइ हुन्छ। समाजमा आज नक्कली मुजुरको नाच सुगाको गोपीकृष्ण र सुब्बाहरूको फर्‍याकफुरुकले सगरमाथा जितेको छ।

मलाई यहाँनेर कागको मौलिकता र सुगाको साधनालाई सँगै राखेर रचनात्मकताको व्याख्या गर्न मन लागेको छ। कागको बोली कसैको नक्कल होइन मानिसको पहिलो र अन्तिम गुरु काग हो। काग जे बोल्छ, भित्रदेखि बोल्छ र आफ्नै बोली बोल्छ। मान्छेलाई त्यसले हठात् आइलाग्ने विपत्तिबाट सदा बचाउँदै आएको छ। त्यो मौलिकता सहयोगको र संस्कृतिको मौलिकता हो। रंगीन सुगाहरू विश्वविद्यालयभरि क्याउँक्याउँ भट्टयाइरहेका छन्। गुरुले जे बोल्यो, त्यही शब्द ती दोहोर्‍याउँछन्। मौलिकता र सिर्जनाको आत्मीयता सुगाको बथानमा चेप्टिएको छ। पुरस्कारको रकममा वृद्धि गरेर मदन पुरस्कारलाई उछिन्छ भन्नु र विश्वविद्यालयमा पैसा तिरेर प्रमाणपत्रका लागि सुगा रटाइ गर्नेलाई काम लाग्ने ठानेर पाण्डुलिपि तयार पारिदिनु एकले ढाँचा हुन्, नक्कल हुन्।

यस्ता भयावह स्थितिमा प्रतिभाले निसास्सिनु अस्वाभाविक पनि होइन। एकजना राज्य शक्तिको मातमा फुलेल नक्कली मुजुरले भने नेपालमा बुद्धिजीवीहरू सबै फटाहा र भ्रष्टाचारी रहेछन्। आफू बुद्धिजीवी नभएकाले उनले सबै अरु बुद्धिजीवीलाई इर्ष्यावश दोष लगाएका हुन् वा उनका करेसावरिपरि बिहान बेलुका शिर लतारेर हात जोड्दै धाउने पानी मरुवालाई मात्र देखेर उनी यस निष्कर्षमा पुगेका हुन् भोलि लेखाजोखा गरौँला।

एक प्रबुद्ध व्यक्तित्व भने पृथ्वीनारायण शाहको दिव्योपदेशको रचनापछि नेपालमा आजसम्म बौद्धिक कृति निक्लेकै छैन। भनेर छापा सिँगार्न पुगे। यस वाक्यको प्रकाशनद्वारा उक्त व्यक्तिले एउटा मट्यांग्राले दुई चरीको सिकार गर्ने मनोकांक्षा राखेका थिए। पहिलो आकांक्षा उनको आफ्नो पदलाई अल्झाइराख्न, अड्याइराख्न र चिरस्थायी गराइराख्न आफ्ना प्रभुको बन्दना थियो। अर्को चाहिँ समसामयिक नेपालको बिँडो थाम्दै उनले आफ्ना प्रभुको नक्कल गरेका थिए। नक्कल गर्दा केही फूलबुट्टा भर्नु मौलिकता होइन भन्ने कुराको हेक्का नराखेमा भने हामीले दुःख मान्नैपर्छ। यसरी उनी काग हुन मानेनन्, सुगा हुनैमा रमाए।

रचनात्मक व्यक्तिलाई काग भएर बाँच्ने वातावरण नेपालमा छैन। मौलिक रचनाको सिर्जना गरेर स्वास्नी, छोराछोरीको पेट पाल्न सक्ने कति नेपाली लेखकलाई तपाईंले भेट्नुभएको छ? सुगाहरूबाहेक अरु कसैलाई गोष्ठीमा भेट्नुभएको छ?

अनि त प्रतिभाहरू पनि कि त बिलाउँछन्, होइन भने भुसे दौडमा सम्मिलित हुन्छन्। एकजना मेरा कलाकार मित्र छन्। ती रचनात्मकताका अद्वितीय प्रतिभा हुन्। तिनलाई भेट्दा मेरो सारा नैराश्य हराउँछ। समग्र व्यथा बिलाउँछ। समस्त शंका मेटिएर जान्छन्। उनी सधैँ सिर्जनामा लागेका हुन्छन्। मभित्र भावनाको आगो दन्किरहेको छ। त्यसलाई म आफ्ना रचनामा जीवन्त तुल्याउँछु भनी उनी मलाई सधैँ भन्ने गर्छन्। समाजका विसंगति, विषमता र विकृतिका विरोधमा उनी शंकरको त्रिशूल लिएर झम्टिन्छन्। बुद्धको शान्ति, विष्णु र क्राइस्टको स्नेह र शंकरको ताण्डवनृत्य उनका हातले छुनेबित्तिकै विश्व व्यंग्यमा प्रस्तुत हुन्छ। सर्वथा मौलिक उनको कला संसारलाई हाँक दिन्छ। देवकोटाको साँढे भएर त्यो टुक्रिन्छ। लक्ष्मीप्रसादको हुरीको गीत भएर त्यो भुँवरी पर्छ र महाकविको पागल हुँदै त्यो दुवै दाँतका लहर कटकटाउँछ।

नेपालमा रचनात्मकता जीवितै छ, तर हेर्ने आँखा हुनुपर्छ र सम्मान गर्ने हृदय हुनुपर्छ। एकपल्ट समले भनेका थिए। तारानाथजी ग्रिस र नेपाल भौगोलिक रूपले ज्यादै साना मुलुक हुन् तर ग्रिसले पश्चिमाहरूलाई विज्ञान, ज्ञान, साहित्य र कलाको क्रान्तिकारी बाटो देखायो। आज समस्त पश्चिम सभ्यता ग्रिसले देखाएको राजपथमा हिँडेको छ। त्यसरी नै हाम्रो नेपालले त झन् विश्वलाई बुद्ध नै दियो। त्यति मात्र होइन, ऋषि दीर्घत्तमाको 'खं ब्रह्म' मन्त्र नै नेपालले उपलब्ध गरेको दार्शनिक सगरमाथा हो।

नेपालले संसारलाई आध्यात्मिक राजपथ निर्माण गरिदिएको थियो र अझै पनि गर्न सक्छ। एकातिर राष्ट्रको बौद्धिकता सर्वोच्च कोटिको छ र अर्कातिर रातोटोपी लगाएर हाम्रा नवयुक्ति बम्बईको छिपछिपे नाच नाच्न पाए फुरुंग पर्छन्। भन्सारको सुब्बा राष्ट्रको आदर्श प्रतीक भएपछि ती पनि के गरून्? कहाँबाट आमाको सपना पढून्?

म दार्जीलिङमा पढ्दै ताकाको कुरा हो। देवानन्द भन्ने हिन्दी अभिनेता अति सुन्दर मानिन्थे। उनी एकपल्ट दार्जीलिङ आएका थिए, त्यहाँका सबै राम्रा–राम्रा नवयुवती सिन्दुर लिएर उनलाई भेट्न आए। देवानन्दले एकपल्ट सिउँदोमा सिन्दुर लगाइदिए, जीवनभरि उनलाई पतिका रूपमा पूजा गर्दै उनको नाम जपेर बस्ने महŒवाकांक्षा ती युवतीको थियो। त्यस्तै–त्यस्तै स्थिति ऐश्वर्या राय आउँदा काठमाडौंमा पनि अस्ति भएको थियो। यसरी युवाहरू किन भाँडिएका होलान्? साँच्चै अहिले कालिदास, होमर, शेक्सपियर र देवकोटा नयाँ सडकमा हातेमालो गरेर हिँड्ने हो भने कसैले पनि मुन्टो उठाएर तिनलाई हेर्ने थिएनन्। दा भिन्ची र पिकासो, केशवी दुवाडी र वाङ्देल मिलेर कीर्तिपुर जाने हो भने हाम्रा कति स्नातकोत्तर छात्रछात्राले तिनलाई चिन्लान्? चिने भने पनि कत्तिको बु‰लान् र सम्मान गर्लान्?

रचनात्मकताले खान दिएको छैन। देवकोटा भोकभोकै मरे। हरिभक्त कटुवाल भोकभोकै सुके सुब्बाङ्गी भोकै मर्दैन। सुगालाई रंगीन जीवनको कमी छैन हाम्रा युवाहरू यही दृश्य रातदिन देखिरहेका छन्। बांगो औँला हर्पेमा छिराए मात्र घिउ आउन सक्छ। यही शिक्षा आजको राजनीतिले हामी लेखक र हाम्रा कलाकारलाई दिइरहेछ। तर, जसले जे गरोस्, हामी कलाकार र साहित्यकार उच्च शिर गरेर आफ्ना रचनाकारितामा गर्वसाथ लागिरहेका छौँ र बाँचुन्जेल लाग्ने पनि छौँ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

मुसहरबासीले धुर्मुस सुन्तलीको पुजा गर्दै लक्ष्मी भित्र्याए

धुर्मुस सुन्तलीले निर्माण गरेको एकिकृत नमूना मुसहर बस्तीमा बसिरहेका स्थानीयहरुले उनीहरुको तस्बिरमा पुजा गर्दै लक्ष्मी भित्र्याएका छन् । धुर्मुस सुन्तली...

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई कोसेली ‘रानी’ र ‘रुद्रप्रिया’

तिहारलाई लक्षित गर्दै बिहीबार अर्थात लक्ष्मीपूजाको दिनबाट दुई फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ प्रदर्शनमा आउँदैछन् । चाडबाडलाई लक्षित गरी फिल्म प्रदर्शन...

कार्यक्रमको सभापति नै आलु  !

कार्यक्रमको सभापति नै आलु !

कुनै पनि औपचारिक कार्यक्रममा उद्घोषकले विशिष्ट व्यक्तिलाई प्रमुख अतिथी वा सभापति राखेर कार्यक्रम सञ्चालन गर्छन् । तर, मंगलबार यस्तो परम्पराभन्दा...