७ वैशाख २०८१ शुक्रबार
समाज

बेवारिसे बिरामी : 'वीरलाई थेग्नै गाह्रो'

काठमाडौं- पाँच दिनअघि वीर अस्पतालको आकस्मिक कक्षमा मात्र पाँचजना बिरामी थिए। उनीहरू आ–आफ्नै तरिकाले बाहिरिए। पाँच दिन नबित्दै फेरि वीरमा तीन जना बिरामी आइपुगे। उनीहरू सबै बेवारिसे हुन्।

जसमध्ये एक जना हुन् झापा भद्रपुरकी ३५ वर्षीया पूजा गिरी। उनी एउटा खुट्टा नचलेकाले अस्पताल आइपुगेकी हुन्। पतिको मृत्यु भएपछि काठमडौंको स्वयम्भूमा एक्लै बस्दै आएकी थिइन्। बिरामी परेपछि एक साताअघि छिमेकीले उनलाई अस्पताल ल्याए। 'खुट्टाले हिँड्न सक्दिनँ घिसि्रँदै शौचालय जान्छु,' उनले बुधबार नागरिकसँग भनिन्।

दुई बच्चा माइतमै आमाले हेरचाह गर्दै आएको, आमा बुढी भएको र भएको भाइको पनि मृत्यु भइसकेकाले उनको हेरचाहको लागि आउन सक्ने कोही नभएको उनले बताइन्। 'म यतै काम गर्दै बस्थें, कसैलाई केही थाहा छैन,' उनले भनिन्।

आकस्मिक  कक्षकै शौचालय नजिक छन् दुई  पुरुष बिरामी। ती मध्ये एक जना हुन्, करिब ३४ बर्षका पे्रम लामा। उनलाई प्रहरीले एक साताअघि प्रहरीले काठमडौंको हाँडीगाउँबाट लिएर छोडेको हो। उनी मानसिक बिरामी भएकाले सामान्य व्यवहार गर्न सक्दैनन्। उनको शरीरभरि साना–ठूला घाउका दाग छन् र आँखा पनि पाकेजस्ता देखिन्थे।

सोही कक्षको अर्को कुनामा छन्, नुवाकोट थर्पुका भक्तबहादुर लामा। उनलाई प्रहरीले बुधवार दिउँसो काठमाडौं बसन्तपुरको हिलोमा सुतिरहेको अवस्थामा उद्धार गरी  ल्याएको हो।

ती सबै बेवारिसे बिरामीको उपचार अस्पतालको सामाजिक सेवा एकाइको सहयोगमा भइरहेको एकाइका कर्मचारी दुर्गाप्रसाद अर्यालले बताए। 'अस्पतालको तर्फबाट उपचारको काम गरिराखेका छौं,' उनले भने। अस्पतालमा मासिक औसत ६० जना बेवारिसे बिरामी आउने र ती सबैलाई हेर्ने एक जना मात्र कुरुवा भएकाले पूर्ण उपचार पाउन नसकेको आकस्मिक कक्षका उप–प्रमुख डा. न्हुच्छेमान डंगोलले बताए। उनका अनुसार कुरुवा अभावमा वार्डमा भर्ना हुन नहुने र पूर्ण उपचार पाउन सक्ने अवस्था हुँदैन। अस्पतालमा आउने आधाजसो बेवारिसे बिरामीको आकस्मिक कक्षमै मृत्यु हुने गर्छ।

डा.डंगोलका अनुसार कुरुवा अभावकै कारण  बेवारिसे बिरामीहरू वार्डमा भर्ना भएर पूर्ण उपचार पाउन सक्दैनन् र कतिपयको कक्षमै मृत्यु हुन्छ। 'कति बेवारिसे बिरामी अपे्रशन गर्नुपर्ने अवस्थाका हुन्छन्,' उनले भने, 'कुरुवा अभावमा तीनको थप उपचार हुनै सक्दैन।'

सामाजिक सेवा एकाइले खटाएको एक जना कुरुवाले सबैलाई पूर्ण हेरचाह गर्न कठिन हुन्छ। अन्य अस्पतालले बेवारिसे बिरामी नराख्ने हुँदा पनि वीरमा त्यस्ता बिरामीको भीड भएको हो।

'अस्ति सिभिलले बिरामीले पैसा तिर्न नसकेको भन्दै बेवारिसे बिरामी यता पठायो, यस्ता बिरामीको उपचार गर्ने दायित्व सबै अस्पतालको हो,' उनले भने।

अस्पताल र सरकार मिलेर यस्ता बिरामीको व्यवस्थापन गरिएमा बेवारिसे बिरामीले उपचार पाउने अधिकार पूरा हुने डा. डंगोलले बताए। 'यस्ता बिरामीको लागि चार जना कुरुवा कर्मचारीको व्यवस्था गर्न पटक–पटक माग गरेका छौं तर सुुनुवाइ भएको छैन,' उनले भने।

प्रकाशित: ८ श्रावण २०७४ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App