coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट विवाद समाधानतर्फ

काठमाडौं- लामो समयदेखि नेपाली क्रिकेटमा रहेको विवाद समाधानतिर उन्मुख भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का उपाध्यक्ष इमरान ख्वाजा र आइसिसीको विकास विभाग हेर्ने कर्मचारी अमर शेखको उपस्थितिमा शनिबार काठमाडौंमा बसेको सल्लाहकार समितिको बैठक सहमतिनजिक पुगेको समितिका प्रवक्ता रोहित दाहालले जानकारी दिए।

‘लामो छलफलपछि आज हामी सहमतिनजिक पुगेका छौं,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का समेत प्रेस सल्लाहकार रहेका दाहलले भने, ‘हामीले नयाँ विधान बनाएर आइसिसीलाई बुझाएका थियौं। विधानमा चतुरबहादुर (चन्द) जीहरूले राख्नुभएको भिन्न बुँदालाई पनि राखेर पठाएका थियौं। त्यसै विषयमा छलफल गर्न आज आइसिसी प्रतिनिधि र सल्लाहकार समितको बैठक बसेको थियो। लामो छलफलपछि सबैलाई मान्य हुने निर्णय भएको छ।’

लामो समयदेखि विभिन्न विवाद झेल्दै आएको नेपाली क्रिकेटमा राखेपले गत वर्ष पुसमा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति बनाएपछि समस्या थपिएको थियो। त्यसैलाई बहाना बनाउँदै विश्व क्रिकेटको सर्वोच्च नियमनकारी निकाय आइसिसीले वैशाख १३ गते नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नयाँ विधान बनाएर चुनाव गराउने अख्तियारीसहित विनयराज पाण्डे र वसन्त चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो। चतुरबहादुर चन्द समूहले सुरुमा अस्वीकार गरे पनि पछि चन्द र अशोकनाथ प्याकुरेल सो सल्लाहकार समितिमा बसेका थिए। चन्द समूहले साधारण सभामा ३८ जिल्लाबाट १/१ प्रतिनिधि हुनुपर्ने माग गरेको थियो। साथै नयाँ चुनाव नभएकाले निर्वाचित समिति (जसलाई राखेपले मान्यता दिएको छैन) बाट विधान पारित गर्नुपर्ने माग राख्दै आएका थिए।

‘उहाँहरूले दुई बुँदामा असहमति राख्दै आउनुभएको थियो। जसलाई विधानमा छुट्टै बुँदा बनाएर हामीले आइसिसीमा पठाएका थियौं,’ सल्लाहकार समितिका प्रवक्ता दाहालले भने, ‘त्यो विषयमा लगभग टुंगो लागेको छ।’

तर निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले छलफल जारी रहेको बताए। बैठक सकरात्मक दिशामा गएकाले भोलि (आइतबार)सम्ममा निर्णय आउन सक्ने जानकारी दिए।

‘बैठक जारी छ। यो भोलिसम्मै चल्न पनि सक्छ,’ प्याकुरेलले भने, ‘हामीले साधारण सभामा सबै जिल्लाको प्रतिनिधि हुनुपर्ने तथा हाम्रो निर्वाचित कार्यसमितिको सहभागिता हुनुपर्ने माग राखेका थियौं। हामी नेगोसिएसनमै छौं। बैठक सकारात्मक भइरहेको छ। भोलिसम्म आइसिसीले केही निर्णय गर्ला।’

शनिबारको बैठकमा वसन्त चौधरीबाहेक सबै सदस्य सहभागी थिए।

प्रकाशित: ८ श्रावण २०७४ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App