४ वैशाख २०८१ मंगलबार
विचार

साउन, शिव र ध्यान

साउन हरियालीको महिना । महिलाले भगवान शिवको आराधना गर्ने आध्यात्मिक महिना र महिलाका लागि शृंगारको महिना भनेर बुझ्न थालिएको छ । आजकल साउन महिनाको चहलपहल र रौनक अरु बढ्न थालेको छ । बजारमा हरिया चुरादेखि लिएर हरिया रङ्गका शृंगारका सामान प्रशस्त देख्न पाइन्छ भने कपडा पसलमा साउनमा व्रत बस्ने महिलाका लागि हरिया सारीको बिक्री पनि बढेको देखिन्छ । चोकचोकमा बसेर मेहन्दी लगाइदिनेहरू पनि ब्यस्त देखिन थालेका छन् । विवाहित महिलामात्र नभएर कलेज पढ्दै गरेका छात्रासमेत मेहन्दी लगाउने लाइनमा कुरेर बसेको देखिन्छ । 

छुट्टीको दिन कहीँ केही कार्यक्रम छन् भने भर्खरका कलेज पढ्ने युवतीसमेत साउनको शृंगारमा देख्न पाइन्छ । बिहानै शिव मन्दिर जानेहरूमा महिला, युवती सँगै देखिन्छन् । सके साउन महिनाभर, नसके साउनका प्रत्येक सोमबार भए पनि मन्दिर जाने र व्रत गर्नाले आफ्नो स्वभाव र संस्कारको परिचय मिल्छ । मन शान्त र सकारात्मक हुन्छ भन्ने विश्वास छ । अरुभन्दा पनि आजकल मानिसमा आफ्नो स्वास्थ्यप्रति ख्याल बढेको हुनाले बिहानै मन्दिर जाने÷आउने बहानाले पनि स्वास्थ्यलाई फाइदा पु¥याउँछ भन्ने हिसावले हेरिएकोसमेत पाइन्छ । साउन महिनाबारेमा संस्कृति र धर्म जोडेर आआफ्ना धारणा व्यक्त हुने भए पनि कल्याणकारी भगवान शिवसँगको महत्व जोडिएर आउनु प्रमुख पक्ष हो ।

भगवान शिवलाई दूध, फूल र बत्ती चढाएरमात्र वास्तविक आराधना हुँदैन । भगवान शिवको मुख्य देशना सबैमा शिवत्व अर्थात कल्याणकारी भावना प्रष्फुटन होस् भन्ने हो । उहाँले देवी पार्वतीलाई १०८ वटा ध्यान विधिमार्फत अन्तर्मुखी हुने कला सिकाउनुभएको थियो । जीवनमा गरिने कर्म या साधना जुन सत्य छ, सुन्दर छ र शिवम् (कल्याणकारी) छ त्यही नै जीवनको सार हो भन्ने सन्देश शिव आराधनाले दिन खोजेको हुनुपर्छ । बाहिरी शृंगार र बाहिरी आराधना अनि मन्दिर दर्शनले मात्र साउन महिनाको महत्व दर्शाउन खोज्नु संकीर्णता हुन जान्छ । शृंगार आफैंप्रतिको होस र प्रेम हो, त्यसैले शृंगार गर्नु नराम्रो पटक्कै होइन । शृंगारले सजिएको व्यक्ति देख्दा कसलाई राम्रो लाग्दैन र ? तर बाहिरी शृंगार आडम्बरपूर्ण भयो र भित्रको साधनाशून्य भयो भने त्यो शृंगारको कुनै महत्व हुँदैन । भित्री शृंगार खुलाउने र अन्तर्मुखी हुने कला सिकाउने माध्यम भनेकै ध्यान हो ।

शृंगार गर्नु, व्रत बस्नु, मन्दिर जानु सबै आफैँमा महत्वपूर्ण पक्ष छन् तर यी सबभित्रको सफाइका लागि तयारी पक्ष हुन् शृंगार गर्नु, व्रत बस्नु, मन्दिर जानु सबै खेत खनेर, झार उखेलेर जमिन तयार गरेजस्तै हो । सधैँ जमिन तयारमात्र गर्ने कि त्यो जमिनमा बीज रोपेर फसल पनि खाने ? ध्यान बीज हो, बीज नरोपिकन फल कसरी प्राप्त हुन्छ ? भित्र स्वयंको ख्याल, होस, आफ्नो स्वभावको पहिचान, आफ्नो भावदशा, आफ्ना कर्म र आफू हिँडेको मार्ग अनि अन्तर्मनको बोध ध्यानको अनुभवबाट मात्र थाहा लाग्छ । त्यसैले शिवको आराधनामा ध्यान छुट्यो भने त्यो अपूर्ण हुन जान्छ  । 

ध्यान गर्न गाह्रो छैन किनकि ध्यान कुनै क्रिया होइन । विचारका कोलाहलबाट विश्रान्ति लिएर शुद्ध र निर्मल मनको अनुभूतिमा जानु ध्यान हो । ध्यान केवल साधनमात्र नभई आफैँमा साध्य हो । इन्द्रियहरू मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरूप आत्मामा समाहित भएको अवस्था ध्यानपूर्ण अवस्था हो । जब हामी शरीरको, मनको एवं भावको तलबाट केही पनि गरिरहेका हुँदैनौं र केवल जागृति शेष रहन्छ त्यो अवस्थालाई ध्यान भनिन्छ । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न र भोग अनि योगमा समाहित हुने कला जानेमा जीवन प्रेमपूर्ण बन्छ भन्ने भगवान शिवको सन्देश हो । अनुभव गर्न लायक कुनै कुरा छ त त्यही हो प्रेम  जीवनका सम्पूर्ण आयाममा होस, जागरुकता र सजगता कायम छ भने त्यही हो प्रेम । 

साउनमा मन्दिर गएर, व्रत बसेर, शृंगार गरेर प्राप्त गर्न खोजेको कुरा जीवनमा आनन्द र प्रेम नै हुनुपर्छ । बाहिरी क्रियाकलापले मात्र भित्री आनन्द र प्रेम प्रष्फुटन हुन्छ कि हुन्न आफैँ थाहा पाउनु जरुरी छ । ध्यान गर्ने व्यक्ति नै प्रेमल र आनन्दित हुन सक्छ यसमा कुनै शंका नै छैन । ध्यान गर्ने व्यक्तिले बुझेको हुन्छ, जीवनमा अपनाउन लायक कुनै चिज छ त त्यो हो प्रेम । दिन लायक केही छ त त्यो प्रेमबाहेक अरु केही हुनै सक्दैन । आनन्द र निशब्द अनुभूति छ त प्रेममा नै छ । कसैमा देखिने सुन्दरता र अस्तित्वप्रतिको अहोभाव हो प्रेम । सुन्दरताबाट शब्द बन्दै भित्रबाट फुट्ने भावसहितको  काव्य हो प्रेम । शब्द र अलंकारले सिंगार्न नसकिने गहिराइको अनुभूति हो प्रेम जसले सधैँं रसास्वादन गराउँछ र हृदयदेखिको झन्कार उठाउँछ त्यही हो प्रेम । 

ध्यानसँगै प्राप्त भएका भौतिक सम्पदाको महत्व छ भने ध्यानबिनाको भौतिक सम्पदा अपूर्ण हुनेछ र साउनमा शिवको आराधना गर्ने सम्पूर्णमा ध्यानको कला प्रष्फुटन होस् । सत्यम्, शिवम्, सुन्दरम्का कर्महरूमा जीवन प्रेरित होस् । यो कला प्राप्त भएपछि साउन महिनामा मात्र होइन, वर्षैभर खुसियाली र जीवनभर हामीलाई शान्ति, प्रेम, आनन्द र करुणादायी स्वभाव प्राप्त हुनेछ । 

प्रकाशित: ९ श्रावण २०७४ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App