१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

साउनमा खाने खीर

मैतीदेवी बस्ने बबी मगरलाई हरेक वर्षको साउन विशेष लाग्छ । साउनसँग आउने वर्षा उनलाई सबैभन्दा मनपर्ने मौसम हो । वर्षा मात्र होइन, बबीलाई साउन मनपर्नुका कारण साउनमा पाक्ने खीर हो । 

बबीले भनिन्, ‘खीर यसै पनि मनपर्ने खाना हो । अझ झरी परेको दिन तातो खीर खान अति नै मन पर्छ ।’ अध्ययनका लागि काठमाडौं बसेकी बबीको घर धादिङ हो । साउनमा काठमाडौंमा खाइने खीरले गाउँको सम्झना दिलाउने गरेको उनी बताउँछिन् । त्यसैले साउनको एक दिन साथीभाइ र केही आफन्त कोठामा बोलाएर ‘खीर पार्टी’ गर्छिन् । उनले भनिन्, ‘काठमाडौंमा साउनको १५ गते खीर खाने भन्ने चलन रहेछ । गाउँमा त जुनसुकै बेला पनि खाइन्थ्यो ।’ अरु बेला खीर खाने मौका नपरे पनि साउनको बेला र तीजको दरमा भने उनी खीर खान मन पराउँछिन् ।

साउन महिनाले साथीभाइ जम्मा भई रमाइलो गर्ने र खीर खाने संस्कृतिलाई समेत निरन्तरता दिने अवसर दिएको उनको अनुभव छ । 
मीठो खानाको रूपमा खीर खाने चलन नेपाली संस्कृतिमा पुरानो हो । पूजाआजा र भोजमा समेत मिष्ठान्नको रूपमा खीर समावेश गरिन्छ । जुनसुकै मौसममा खान सकिने भए पनि विशेष गरी साउनमा खीर खाने चलन छ । तीजको दरमा पनि दूधका अन्य परिकारसँगै खीर समावेश गर्ने चलन छ । 

मीठो खानाको रूपमा खीर खाने चलन नेपाली संस्कृतिमा पुरानो हो । पूजाआजा र भोजमा समेत मिष्ठान्नको रूपमा खीर समावेश गरिन्छ । जुनसुकै मौसममा खान सकिने भए पनि विशेष गरी साउनमा खीर खाने चलन छ । तीजको दरमा पनि दूधका अन्य परिकारसँगै खीर समावेश गर्ने चलन छ । 

साधारणतः घरमै खीर पकाएर खाने नेपाली चलन भए पनि साउन र आउनै लागेको तीज दरलाई मध्यनजर गरी सहरका रेस्टुरेन्टले पनि खीरको प्लेट सर्भ गर्ने गरेका छन् । विशेष गरी साकाहारी र मिठाईका रेस्टुरेन्टले आफ्नो मेन्युमा खीरलाई साउन विशेष मेन्यु बनाएको देखिन्छ । 

त्रिपुरेश्वरमा ३५ वर्षअघि हरिबोल खत्रीले मिठाई पसल खोलेका थिए । केही वर्षपछि मिठाई पसलमा जेरी, पुरी, लालमोहन, रसबरीसँगै खीर पाक्न थाल्यो । सहरमा खीरले आश्चर्यजनक रूपमा लोकप्रियता पायो । उनको त्यो पसलले बागमती स्विट्सको नाममा खीरको व्यापार गरिरहेको छ ।

बागमती स्विट्स अहिले हरिबोल खत्रीका छोरा शिवराम खत्री र भीम शर्माले सञ्चालन गरिरहेका छन् । सञ्चालकमध्येका खत्रीले भने, ‘यो पसलमा खीर बन्न थालेको ३० वर्षजति भयो होला । त्यही बेलादेखि अहिलेसम्म बागमती स्विट्सको खीर सहरमा धेरैले चिनिरहेका छन् ।’ 

खीरका लागि प्रसिद्ध हुन थालेपछि विभिन्न संघ–संस्था तथा सरकारी कार्यालयका कार्यक्रममा पनि बागमती स्विट्सले खीर आपूर्ति गर्ने गरेको छ । पूजाका लागि पनि खीरको अर्डर लिने गरेको छ । खीरकै कारण अन्य मिठाई पसलभन्दा आफ्नो पहिचान फरक बनेको शर्माले बताए । उनले भने, ‘हामीकहाँ बाह्रै महिना खीरको माग आउँछ । अन्य मिठाईको उस्तै स्वाद भए पनि खीरले नै हामी चिनिएका छौँ ।’ खीरको प्रसिद्धि टिकाउन आफूहरूले यसको गुणस्तरमा ध्यान दिएको उनले सुनाए । पहिलेदेखि नै स्वाद र गुणस्तर एउटै कायम राखिएको उनले दाबी गरे । 

वर्षभरि नै खीरको माग आए पनि साउनमा साबिकभन्दा माग बढ्ने शर्माले बताए । उनले भने, ‘साउनमा खीर खानुपर्छ भन्ने मान्यताका कारण खाजामा खीर खानेहरू छन् । साथै, तीजअघि दरका लागि पनि खीरको माग आउने गरेको छ ।’ साउनको पहिलो सातादेखि नै तीजको दर खाने कार्यक्रमका लागि खीरको माग भइसकेको उनी सुनाउँछन् । साथै साउनमा मांसाहार बार्नेहरूले पनि खीर मगाउने गरेका छन् । 

बागमती स्विट्समा २० रुपैयाँदेखि ४० रुपैयाँ प्रतिकप मूल्यमा खीर पाइन्छ । ठूलो परिमाणमा खीर बेच्दा किलोग्रामको हिसाबमा बेच्ने गरेको सञ्चालक शर्माले जानकारी दिए । 

सामूहिक दर र भोजका लागि सुन्धारास्थित गुलाबले पनि खीर पकाउने गरेको छ । शालिमार हस्पिटालिटी ग्रुपले सञ्चालन गरेको गुलाब ब्रान्डको मिठाई बेच्ने गुलाबले अर्डरअनुसार खीरको परिकार बनाउने सुपरभाइजर नारायण अधिकारीले बताए । 

‘अर्डर गरेमा खीर बनाउँछौँ । तीजको दरका लागि भने एक दिनअघि नै कति चाहिने हो भनेर माग गर्नेका लागि खीर बनाउँछौँ,’ अधिकारीले भने । 

चार वर्षदेखि सञ्चालनमा रहेको गुलाबमा खीरबाहेक साउनमा साकाहारी बस्नेले खान सकिने खानाको मिनी थाली, सुगरफ्री काजु बर्फी, अनियन कचोरीजस्ता खानेकुरा छन् । 

‘खीर थोरै खाएर धेरै पोषण दिने परिकार हो ।’
मदन चापागाईं, खाद्य तथा पोषण अधिकृत
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो । व्रत बसेका बेला त खीर खाने हाम्रो चलन नै छ । साथै, लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । खीरसँगै फलफूल तथा सब्जी पनि खाइन्छ, जसले थप पोषणको आपूर्ति गर्छ । जसले गर्दा व्रत बसेका बेला वा शरीर कमजोर भएको अवस्थामा पनि लामो समय ताजगी दिन्छ । यो शक्तिवद्र्धक अनि मीठो पनि भएकाले पहिलेपहिले धनीले खाने खान्की भन्ने चलन थियो । 
‘साउनमा खीर खाने’ भन्ने समाजको मान्यता छ । यद्यपि खीरमा पाइनेजस्तो पोषणयुक्त परिकार हामीले हप्तामा खानामा समावेश गर्नुपर्ने हो । तर धेरैबेर पकाउँदा कतिपय पोषण नष्ट हुने र क्यालोरी मात्र उच्च हुने सम्भावना हुन्छ । त्यसैले कति बेर पकाउने, के के हाल्ने, कति खाने भन्ने कुरा ध्यान दिनुपर्छ ।

प्रकाशित: ९ श्रावण २०७४ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App