८ वैशाख २०८१ शनिबार
अर्थ

लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

महेन्द्रनगर – कञ्चनपुर जिल्ला भन्सार कार्यालय गड्डाचौकीले लक्ष्य भन्दा सात करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा भन्सारले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो ।

पछिल्ला तीन वर्षयता भन्सारले निरन्तर राजस्व संकलन लक्ष्य भन्दा बढी संकलन गर्दै आएको छ । तर गत आवमा विगतका तीन आव भन्दा बढी राजस्व संकलन भएको छ । भन्सार कार्यालयको तथ्याकं अनुसार गत आवमा १७ करोड तीन लाख ८९ हजार राजस्व संकलन गर्न लक्ष्य थियो । तर भन्सारले २४ करोड ४६ लाख ६९ हजार राजस्व संकलन गरेको छ  । यो लक्ष्य भन्दा सात करोड ४२ लाख ८० हजार बढी हो ।  

अघिल्लो आवको तुलनामा भन्सारले एक करोड ७८ लाख २१ हजार बढी राजस्व संकलन गरेको छ । भन्सारले आर्थिक वर्ष ०७२/०७३ मा १४ करोड ७७ लाख ९६ हजार लक्ष्य रहेको थियो । जसमा २२ करोड ६८ लाख ४८ हजार राजस्व संकलन गरेको थियो ।
त्यस्तै यस्तै आर्थिक वर्ष ०७१/०७२ मा १० करोड ३२ लाख ३५ हजार लक्ष्य रहेकोमा १३ करोड ५८ लाख १४ हजार राजस्व संकलन भएको तथ्याकंमा छ । 

यसैगरी आर्थिक वर्ष ०७०/०७१ मा छ करोड लक्ष्य राखेको भन्सारले नौ करोड नौ लाख ९४ हजार राजस्व संकलन गरेको थियो । 

गत आवभन्दा पछिल्ला तीन वर्षको राजस्व संकलन हेर्दा भन्सारले हरेक वर्ष राजस्व संकलनमा वृद्धि गर्दै आएको छ । गत आर्थिक वर्षको मंसिरमा सबैभन्दा बढी र असारमा सबैभन्दा कम राजस्व संकलन गरिएको छ । मंसिरमा ३१ लाख २३ हजार तीन सय राजस्व संकलन भएको थियो भने असारमा १२ लाख २३ हजार पाँच सय राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । मंसिरमा दुई सय ३० प्रतिशत र असारमा ७२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । 

गत आर्थिक वर्षमा भन्सार वापत १५ करोड ६२ लाख आठ हजार, मुल्य अभिवृद्धिकर वापत आठ करोड नौ लाख चार हजार १८ र अन्त शुल्क वापत एक करोड नौ लाख ४४ हजार र आयकर वापत एक लाख ७४ हजार राजस्व संकलन गरिएको छ ।

गड्डाचौकी नाकाबाट कुनै पनि बस्तु तथा सेवा समुद्रपार पैठारी भएको छैन् । निकासी भन्दा पैठारी राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार ११ करोड सात लाख आठ सय आठ बराबरको पैठारी र २५ लाख एक हजार बराबरको निकासी गरिएको छ ।  

भन्सार कार्यालयका प्रमुख मदन दाहालले भन्सारको राजस्व संकलनमा क्रमिक सुधार आउँदै गरेको बताए । चोरीतस्करी नियन्त्रण र भन्सारका कर्मचारी क्रियाशिलताका कारण भन्सार  राजस्व संकलन वृद्धि गर्न सफल भएको उनको भनाई छ । 

असारमा स्थानीय तहको निर्वाचन, जुलाईदेखि भारतमा वस्तु तथा सेवामा लगाइएको करका कारण मसान्त महिनामा राजस्व कम संकलन भएको अधिकृत दाहालको भनाइ छ ।

गड्डाचौकी नाकाबाट नेपालमा निर्मित हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र भारतबाट दैनिक उपभोग्य बस्तु तथा सेवा आयात हुने गरेको दाहालले बताए । 

भन्सार राजस्व वृद्धिकालागि महाकालीमा पक्की पुल आवश्यक रहेको यहाँका व्यवसायीको भनाई छ । महाकालीमा यथाशिघ्र पक्की पुल निर्माणकालागि कञ्चनपुर उद्योग वाणिज्य संघ लगायत यहाँका सरोकारवालाहरुले पटक पटक माग गर्दै आएका छन् । 

प्रकाशित: ९ श्रावण २०७४ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App